• २८ भदौ २०८२, शनिबार

अछाममा हट्यो कर्फ्यु र निषेधाज्ञा

blog

जिल्ला प्रशासन कार्यालय अछाम ।

शिवराज ढुङ्गाना 

अछाम, भदौ २८ गते । हुलदङ्गा र असहज परिस्थिति नियन्त्रण गर्न अछाम जिल्लाभर जारी गरिएको कर्फ्यु र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्ला सुरक्षा समितिको आज शनिबार बिहान बसेको बैठकले निषेधाज्ञा र कर्फ्यु आदेश हटाउने निर्णय भएको हो । 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आनन्द सारुद्वारा जारी गरिएको सूचना अनुसार भदौ २८ गतेबाट लागु हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश पूर्णरूपमा हटाइएको हो । यसअघि देशव्यापी राजनीतिक आन्दोलनको प्रभाव स्वरूप असहज परिस्थिति सिर्जना हुनसक्ने आँकलन गर्दै सदरमुकाम मङ्गलसेनलगायत जिल्लाभर कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मीहरूको सतर्कता र विभिन्न पक्षहरूको सहयोगका कारण अहिले शान्ति, सुव्यवस्था सामान्य अवस्थामा रहेको निष्कर्ष निकालेको बताइएको छ । समितिले जारी गरेको सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सुरक्षाकर्मीलाई आवश्यक सहयोग पुग्ने सबै राजनीतिक दल, सङ्घ–संस्था, निकाय र आम नागरिकलाई अनुरोध गरिएको छ । 

कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्किन थालिएको छ । कर्फ्यु र निषेधाज्ञा स्थानीय नागरिकले सहज रूपमा आवत–जावत र दैनिक गतिविधि सञ्चालन गर्न पाउने भएका छन् ।