साहारा लिम्बू
फुङलिङ, भदौ २८ गते । चौरीगाई (याक) लाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेशगरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न सकिन्छ । करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको आसपासमा कालीखोला, सुरुमखिम र मेहेलेका कृषकहरूले याक पालन गरेका छन् ।
पछिल्लो समय याक पालक कृषकहरू पलायनको अवस्था हुँदा सिरिजङ्घा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाले याक प्रवर्धनका लागि अनुदानको कार्यक्रम अघि सारेका छन्।
कोरोनापछि चीनसँगको नाका बन्दका कारणले गर्दा याकको मूल्यमा भने धेरै गिरावट आएको सुरुमखिमका टार्जन खुदाङ बताउनुहुन्छ । उहाँका अनुसार यसअघि नाका खुला हुँदा एक लाखदेखि एक लाख ५० हजार सम्ममा बिक्री भएको याक अहिले ६० देखि ७० हजारसम्ममा पनि बिक्री हुन सकेको छैन ।
यदि चीनसँगको नाका खुला हुने हो भने यहाँका कृषकहरूको आर्थिक अवस्थामा धेरै सुधार आउने लिम्बूको भनाइ छ ।