• ८ मंसिर २०८१, शनिबार

भूगोलपार्कको बच्चा (कथा)

blog

‘डल्लीले बच्चा त पाउने नै भई तर त्यो बच्चाको बाबुको टुङ्गो चाहिँ जन्मिनुभन्दा पहिले नै लगाइसक्नुपर्छ है । हो कि होइन त केटा हो ?’ 

म त भन्छु– ‘डल्लीले जन्माउने बच्चाको बाबु म नै हुँ । तिमीहरू बेकारमा मेरो–मेरो भनिरहेका छौ, तिमेरु फुच्चेहरूको त हुनै सक्दैन । डल्लीले तोकेरै भनिदिए हुन्थ्यो, तैँ होस् मेरो पेटको बच्चाको बाबु भनेर । ऊ पनि खै को हो, को हो पो भन्छे !’

भूगोलपार्कमा नियमितजस्तै देखिने उरन्ठेउला केटाहरूबीच आज गम्भीर छलफल चलिरहेको रहेछ । उनीहरूका हात–हातमा एकोटा प्लास्टिकका पोका थिए । पोकाभित्र मुखले फुक्दै–सुँघ्दै गरिरहेका थिए ।

उनीहरूलाई हेयका पात्र बनाउनेहरूका तर्फबाट एउटा सामूहिक नाम दिइएको थियो ‘खाते’ भन्ने । तर यसलाई समयको परिवर्तन र एनजीओकर्मीहरूको चाहनाअनुसार पछिल्लो समयमा आएर नयाँ नामकरण गरिएको छ ‘सडक बालबालिका’ भनेर । 

यी सडक बालबालिकाको पनि आआफ्नो समूह हुन्छ । समूहमा एउटा नाइके बनेको हुन्छ । उसले भनेको सबैले मान्नुपर्ने नियम उही नाइकेले नै बनाएको हुन्छ र मान्न बाध्य पार्छ । यो समूहमा फट्याङ्ग्रेले नायकी सम्हालेको छ ।

भूगोलपार्क वरिपरिको सात–आठ जनाको समूहमा दुइटी केटी पनि प्रायः देखिन्थे । आज भने डल्ली देखिएकी थिइन । ऊ नभएकै बेला भइरहेको यो घनीभूत छलफल भने डल्लीकै पेटको बच्चाको विषयलाई लिएर थियो । 

छलफलबाट निष्कर्ष निस्किनेवाला पनि थिएन । समूहको नाइके बनेको फट्याङ्ग्रे चाहिँ बाबु आफू नै हुनुपर्ने र डल्लीले उसैलाई आफ्नो पेटको बच्चाको बाबु मानिदिएर खुसी दिओस् भन्ने चाहिरहेको थियो ।

डल्ली भने आफैँ अलमलमा परिरहेकी थिई । 

यसरी सडकमा आएर एउटा समूह बनिसकेपछि उनीहरू विगतका सबै कुरा बिर्सिन चाहन्छन् । उनीहरू पनि त्यसै गर्न चाहिरहेका थिए । आमाबुबा, घरपरिवार, अहँ सबै त्यागेर हिँडिसकेपछि किन सम्झिने त्यो संसार !

एक किसिमले त हो पनि । आफन्त गुमाएर एक्लिएकाहरू, भरपेट खान नपाएकाहरू, अनेक हन्डर, दुःख, सौतेनी आमाको ताडना, छोराछोरीसहित पोइला आएकी आमाको लोग्नेले गर्ने झड्केलो व्यवहार र अनेक यस्तै सास्तीबाट मुक्ति पाउने बाटो खोज्दै जाँदा सडकमा आइपुगेर सडककै संसारमा रमाउन थालेपछि उनीहरू विगतलाई कोट्याएर दुःखी हुनै चाहँदैनन् । कसैगरी खोजी गर्दै आफन्त वा बाबुआमा नै आइपुगेर आफूसँग लान प्रयत्न गर्दा पनि उनीहरू जान मान्दैनन् ।

केही दिनअघि यस्तै एउटा दृश्य देखिएथ्यो । त्यही समूहको एउटा केटोलाई एक जनाले बलजफ्ती घिस्याइरहेको थियो । केटो भने म जाँदै जान्नँ भन्दै दुःख भाँडिम गरेर रोइरहेको थियो ।

‘तैँले कोठामा लगेर कुट्छस्, मलाई मार्छस्, म जाँदै जान्नँ । म यहीँ बस्छु । लौन मलाई यो राक्षसबाट खोस, ए साथी हो !’

उसको रुवाइले बटुवाको ध्यान खिचिएको थियो । घिसार्ने लोग्नेमान्छे केटोलाई बेलाबेलामा थप्पड पनि हानिरहेको थियो । 

धेरैले चासो देखाएर सोधीखोजी गर्न थालेका थिए । यसरी नकुट्न भन्दै पनि थिए । यत्तिकैमा केटोले लौन साथी हो, मलाई यो राक्षसबाट खोस भनेपछि नौ÷दस जनाको ग्याङ एक्कासि जाइलाग्यो । उनीहरूले त्यो घिसार्ने मान्छेलाई लात्तीमुड्की बर्साए, आफ्नो साथीलाई खोसे र सडकमा दौडिए । एकैछिनमा उनीहरू अलप भए ।

त्यो मान्छे भन्दै थियो– ‘यो बजिया मेरो छोरो हो । घरबाट भागेर हिँडेको । एक पटक त फिर्ता लगिसकेको हुँ तर फेरि भागिहाल्यो । उता घरमा आमा रोएर बसेकी छे । यता बाँदरहरूको कुटाइ खानुप¥यो आफूले ।’

डल्ली पनि यसरी नै कतैबाट सडकमा आइपुगेकी हो । ऊ यो समूहकै सबैभन्दा प्यारी छे । उसले कुनै कुरा भनी भने अरूले नाइँनास्ती गर्दै गर्दैनन् । सडकमा आउँदा त्यस्तै नौ÷दस वर्षकी थिई होली । हेर्दाहेर्दै हलक्क बढी । उसलाई पनि डेल्ड्राइट सुँघ्ने नशा बेलैदेखि लागिसकेकै थियो । नशाले झुम्म पारेपछि सबै कुरा बिर्सिने, रमाइलो लाग्ने ! समूहमा नाइके बनेकाले माया गरेर कताकताबाट मीठोमसिनो खानेकुरा ल्याएर खान पनि दिन्थ्यो । नयाँ लुगा पनि किनिदिन्थ्यो । माया गर्नेलाई यसै पनि माया गरौँगरौँ लाग्ने । डल्ली पनि फट्याङ्ग्रेलाई नै बढी माया गर्न थालेकी थिई ।

यही मायाकै सेरोफेरोमा रमाउँदा रमाउँदै र बोराभित्र पसेर चिसो रातलाई न्यानो बनाउने प्रयत्न गर्दागर्दै बाह्र वर्ष मात्रै पुगेकी डल्लीसँग फट्याङ्ग्रेले धेरै कुरा गर्न थालिसकेको थियो । 

फट्याङ्ग्रे बेलाबेलामा हराउँथ्यो । कुनै रात त ऊ अहिले आउला, एकछिनमा आउला भन्दाभन्दै उज्यालो हुन्थ्यो । त्यसरी रातै हराएर भोलिपल्ट आउँदा समूहलाई नै पुग्नेगरी पाउरोटी, दुनोट, मम र कहिलेकाहीँ चिकेनरोस्ट पनि लिएर आउँथ्यो । खान पाएपछि सबै दङ्ग पर्थे र उसको जय जयकार गर्थे । 

डल्लीलाई त झनै छुट्टै भाग दिन्थ्यो । ऊ फुरुक्क हुन्थी । फट्याङ्ग्रेले पाकेट मारेर ल्याएको होस् कि पसलको चोरेर, उनीहरूको सरोकारको विषय थिएन । खानुसँग सरोकार थियो, रमाउँदै खान्थे ।

फट्याङ्ग्रे हराएको रात डल्लीलाई बोराभित्र एक्लै सुत्न डर लाग्थ्यो । त्यसो त अरू पनि त्यहीँ वरिपरि नै हुन्थे र पनि ऊ कुनैलाई बोलाउँथी । डल्लीसँग सुत्दा जाडै हुँदैन भनेर फट्याङ्ग्रेले भनेको सुनेका केटाहरू फट्याङ्ग्रे नहुँदा डल्लीसँग सुत्न तँछाडमछाड नै गर्थे । अलिक उमेर पुगेकाले डल्लीसँग फट्याङ्ग्रेले केके गर्छ भन्ने थाहा पाइसकेका पनि थिए । उनीहरू पनि डल्लीलाई निकै माया गर्न थालिसकेका थिए तर फट्याङ्ग्रेकै मायाले डल्लीलाई बाँधिरहेको थियो । 

त्यसो त फिस्टी पनि सबैकी प्यारी नै थिई तर पनि डल्लीले जति उसले समूहको माया पाउन सकेकी थिइन । 

एक रात फट्याङ्ग्रे मात्रै हराएन, डल्ली पनि ऊसँगै हराई । समूहबाट नाइके त कहिलेकाहीँ हराउने गरेकै थियो तर डल्ली यसरी कहिल्यै हराएकी थिइन । सबैले उसको चिन्ता गरे । चिन्तैबीच रात त कटिहाल्थ्यो, कट्यो । बिहान भएपछि नाइके र डल्लीसँगै आइपुगे । आउँदा डल्लीले उज्याला नयाँ लुगा लगाएकी 

थिई । कपाल पनि नुहाएर कोरेको सपक्क थियो । यद्यपि, उसको अनुहार भने उज्यालिएको थिएन । उसको अनुहार निबुवा निचोरेको जस्तो अख्रक्क परेको थियो । ओठ कँलेटी परेका थिए । शरीर थकितझैँ देखिएको थियो । 

नयाँ लुगा लगाउन पाउँदा अघिपछि कम्ती रमाउँदिनथी डल्ली तर आज किन यसरी अँध्यारिएकी छे ? टिप्पणी मात्रै गरेनन्, सबै छक्क परे । 

कहाँ गएकी थिइस् ? आहा, कति राम्रो लुगा लगाएकी ! दाइले किनिदेको हो ? हाम्रो दाइले कति धेरै पैसा कमाउँछ है डल्ली ? सानेले डल्लीप्रति माया देखाउँदै धेरै कुरा सोधेपछि डल्लीलाई बोल्न करै लाग्यो । उसले भनी– ‘दाइसँगै ठमेल घुम्न गएकी थेँ । उतै रात प¥यो र होटलमा सुत्यौँ ।’

साने त सानै थियो, चित्त बुझायो । तर फट्याङ्ग्रे र डल्लीको ठमेलतिर जानेक्रम भने झनै बढ्न थाल्यो । फट्याङ्ग्रेलाई उसको मुख्यान्जी कसैले पनि नाम काढेर बोलाउन सक्दैनथे । उसलाई नाइकेदाइ नै भन्नुपथ्र्यो सबैले । उसले डल्लीलाई कहाँ लिएर जान्छ, कहाँ बस्छन् र केके गर्छन् भन्ने कसैलाई पत्तो नभए पनि उनीहरूले पक्कै पनि मीठो खाए, अघाउँजी खाए र राम्रो ठाउँमा न्यानोगरी सुते भन्ने चाहिँ अनुमान गर्थे । उनीहरू फर्किंदा अनेकथरी खानेकुरा ल्याएको भरमा पनि यस्तो अनुमान गर्न सजिलो थियो ।

फट्याङ्ग्रे पनि सुरुमा आफैँ एक्लै ठमेल पुगेको भने थिएन । उसलाई पनि उसको पहिलेको समूहको नाइके घैँटेले पु¥याएको थियो । सुरुसुरुमा त फट्याङ्ग्रेलाई ठमेल गएर होटलमा विदेशीले भने अनुसारको काम गर्दा भागौँ जस्तै, मरौँ जस्तै लागेथ्यो । तर घैँटेले न त भाग्नै दिन्थ्यो, न त मर्नै दिन्थ्यो । बानी पर्दै गएपछि र हातमा पैसा, मीठो खाना र राम्रो नाना पाउन थालेपछि उसलाई बानी नै परिसकेको थियो ।

घैँटेले आफू नाइके भएर अरू केटाहरूलाई काममा लगाउन थालेपछि उसको हैसियत भने एकाएक बढेको थियो । आफ्नो हैसियत बढेपछि नै हो फट्याङ्ग्रेलाई उसले ठमेल पु¥याएको । विदेशीले केटाहरूले दिएको सर्भिसले मात्रै चित्त नबुझाएर केटीको सर्भिस पनि खोजेपछि फट्याङ्ग्रेले आफ्नो मुठीकी डल्लीलाई फकाएर ठमेल पु¥याएको थियो ।

त्यतिबेलासम्म फट्याङ्ग्रे र एकाध केटाबाहेक अरूसँगको अनुभव नलिएकी डल्लीलाई ठमेलमा विदेशीसँगको पहिलो रात अहिल्यै मरेँ कि एकछिनमा मर्छु भएथ्यो । उसले फट्याङ्ग्रेसँग निकै गुहार मागी पनि । आफू मर्न लागेकीले बचाउन निकै अनुनय विनय गरी तर फट्याङ्ग्रे वियरले लठ्ठ भएको थियो । उसले सुनेको नसुनेकै जस्तो गरिरह्यो । डल्लीले आफूले देख्नै नपाएकी आफ्नी आमालाई पनि पुकारी । डल्ली एक किसिमले मरेरै बाँचेकी थिई । कति रोइकराई गरी, चिच्याई, केही सीप नलागेपछि मल्र्यान्त भएर लडिरही ।

बिहान भएपछि डल्ली उठेर हिँड्न खोजी, अहँ राम्रोसँग उभिन पनि सकिनँ । उसलाई भनन्न रिँगटा लाग्यो । कोठा, कोठामा भएको फट्याङ्ग्रे र त्यो विदेशीलाई फनफनी घुमेको देखी । 

फट्याङ्ग्रेले नयाँ लुगा उसको हातमा दियो र पनि डल्लीले राम्ररी समाउन सकिनँ । 

टेबुलमा अनेकथरी खानेकुरा आइसकेका थिए र पनि उसलाई खानै मन लागेन । 

हातमा पैसा थमाइदिएको थियो र पनि उसलाई पैसा समाउनै मन लागेको थिएन ।

 सबै कुरा फट्याङ्ग्रेले नै सम्हाल्यो र डल्लीलाई सम्झाइबुझाइ ग¥यो । 

आफूले धेरै माया गर्ने, कहिल्यै एक्लै नछोड्ने वचन दियो । 

उसैले बाथरुमभित्र छिराएर नुहाउन लगायो र नयाँ लुगा फेर्न दियो । डल्लीले केही खानै मानिन । भएको खानेकुरा सबै पोको पारेर फट्याङ्ग्रेले नै बोक्यो र उनीहरू भूगोलपार्क फर्किए । 

यसपछिका थुप्रै रात फट्याङ्ग्रे र डल्ली ठमेलतिरै बास बसेका थिए र बिहान उसरी नै खानेकुरा लिएर फर्किएका थिए । डल्ली पनि अब भने पहिलेको जस्तो नराम्रो मान्न छोडिसकेकी थिई । भाउँतो त त्यतिबेलादेखि भयो जब चौध वर्ष मात्रै पुगेकी डल्लीको पेट क्रमशः उकासिन थालेको थियो । सुरुमा त मोटाएर उकासिएको हो भन्ने थियो तर किन हुन्थ्यो ! उसको गर्भ रहेको थियो र अब महिना पुग्न पनि लागिसकेको थियो । 

हो, डल्लीले बच्चा जन्माउन लागेकी थिई र उसले जन्माउने बच्चाको बाबुको टुङ्गो जन्मिनुभन्दा पहिले नै लागिसकोस् भन्नेमा उनीहरू थिए । तर डल्लीले न त फट्याङ्ग्रेलाई ‘तँ मेरो लोग्ने’ भनेर स्पष्ट भन्न सकेकी थिई, न त ठमेलको होटलको विदेशीलाई नै बच्चाको बाबु भन्न सकी ! अरू एकाध केटालाई त झन् के भनोस् ! ऊ चुपो नै लागिरही ।

जे हुनु थियो, नियमित नै हुँदै थियो । डल्लीले भूगोलपार्कमै बच्चा जन्माउने भई । फट्याङ्ग्रे, फिस्टी र अरू केटाहरू नै सामूहिक सुँडेनी बने । 

फेरि अर्को पटक मरेर बाँची डल्ली । 

उसले बच्चा जन्माउँदा समूहमा खुसीयाली छायो । फट्याङ्ग्रेले त त्यो दिन रामेश्वरम्का मिठाई नै बाँड्यो । डल्लीलाई सकेसम्मको स्याहार ग¥यो । आगो बालेर ततायो । डल्ली र उसको बच्चाका लागि भनेर आर्यघाटसम्म पुगेर डसना र कम्बल पनि उठाएर ल्यायो । उसले गर्नसक्ने जति स्याहार ग¥यो डल्लीलाई । फिस्टीले पनि दिदी भन्दै फुरुकफुरुक गरी ।

भर्खर चौध वर्षमा हिँड्दै गरेकी डल्लीले बच्चालाई दूध चुसाउनु मात्रै भयो, थोपो चुहिएन । बच्चा जतिबेला पनि रोएको रोएकै हुन्थ्यो । फट्याङ्ग्रेले आफैँले प्याकेटको दूध ल्याएर डल्लीको बच्चालाई खुवाउने प्रयत्न ग¥यो । न त बच्चालाई यसरी खुवाउनुपर्छ भन्ने कसैलाई थाहा थियो, न त यस्तो मात्रै खुवाउनुपर्छ भन्ने नै ज्ञान थियो । जसोतसो बच्चाको सास अडिएको थियो ।

डल्लीले जन्माएको बच्चा समूहका सबैको हातहातमा हुन्थ्यो । खोसाखोस गरेर बोकेर कुदाउँथे । एउटाले भन्थ्यो– मेरो बच्चा, अर्कोले भन्थ्यो– मेरो बच्चा, मेरो छोरो, मेरो भाइ, मेरी छोरी, मेरी बहिनी ! म बोक्छु, म खुवाउँछु, म माया गर्छु ! 

अरूले जति नै माया गरेको जस्तो देखाए पनि डल्लीलाई भने आफूले बच्चा जन्माएकोमा कति पनि खुसी लागेको थिएन । उदास थिई ऊ । बच्चा रुँदा पनि झर्को मान्थी, दूध चुसाउन पनि जाँगर देखाउँदिनथी । थोपो नचुहिने दूध चुसाएर पनि के गरोस् । समूहमा छोडिदिएर छिनछिनमा कताकता हराउँथी । टोलाएर बसिरहन्थी । फट्याङ्ग्रेले माया देखाउँदा पनि ऊ पहिलेको जस्तो मायालु हुन सकिरहेकी थिइन ।

बच्चा जन्मिएको महिना दिन भएको थियो, एकाएक डल्ली हराई । ऊ हराउँदा बच्चालाई त्यहीँ छोडेरै हराई । आज हराई, भोलि नि आइन, पर्सि नि आइन । हप्तादिन भइसक्यो र पनि ऊ आइन । 

यसपालि ऊ एक्लै हराएकी थिई । फट्याङ्ग्रे समूहमै थियो र नायकी देखाइरहेको थियो । उसले पहिले जाने गरेका ठाउँहरूमा खोज्यो । सम्भावित सबै ठाउँहरूमा खोज्यो तर डल्लीलाई कतै पनि फेलापार्न सकेन । समूहमै ठूलै तनाव उत्पन्न भैदियो डल्ली हराएको कारण ।

अब त फट्याङ्ग्रेले डल्लीको बच्चालाई मेरो बच्चा भन्न पनि छोडिसकेको थियो । बच्चाले केही पनि निल्न सकिरहेको थिएन र जतिबेला पनि रोइरहेकै हुन्थ्यो । बच्चाको रुवाइ झर्कोलाग्दो हुँदै आएको थियो । उनीहरूमा डेन्ड्राइटको नशालाई समेत बच्चाको रुवाइले फिका पारिदिएको थियो । कतै डल्ली आइपुगी पो हाल्छे कि भनेर बच्चालाई सम्हाल्ने प्रयत्न भने गरिहेकै थिए ।

अहँ, पन्ध्र दिन भयो डल्लीको कुनै अत्तोपत्तो भएन । फट्याङ्ग्रे पनि धेरैजसो ठमेलतिरै रमाउन थालेको थियो । डल्लीको बच्चा उनीहरूका लागि के गरौँ र कसो गरौँ हुन थालेको थियो । रोएर चिर्को बालेपछि उनीहरूले बच्चालाई सुताउने उपायको खोजी गर्दा आफूहरूले सँुघ्ने गरेको डेन्ड्राइडलाई नै उपयोग गर्न थाले । त्यसपछि बच्चो साँच्चिकै निदायो । त्यस रात उनीहरूले पनि आनन्दले सुत्न पाए । 

भोलिपल्ट फट्याङ्ग्रे फुत्त आइपुग्यो । आफूहरूको नाइके आइपुगेकोमा सबै खुसी भए । साथमा ल्याएको खानेकुरा समूहमा बाँडेर खानलाई छोडिदियो र डल्लीको बच्चाको बारेमा आफूले गर्न लागेको निर्णय सुनायो । उसको निर्णयमा अरू कसैको विमति रहने कुरै थिएन । डल्ली नभएपछि उनीहरू पनि हैरान भइसकेका थिए । 

मध्यरात भइसकेको थियो । बच्चा निदाइरहेको थियो । डल्लीले बाबु घोषणा नगरिदेकोमा दुःख लागेको भए पनि बच्चालाई बोकेर वसन्तपुर दरबार स्क्वायरबाट विष्णुमतीतिर ओरालो लाग्यो फट्याङ्ग्रे । जे निर्णय गरेर गएको थियो, सुरक्षित तरिकाले त्यही गरेर फट्याङ्ग्रे फर्कियो ।

विष्णुमतीवारि परोपकार संस्थाको गेटअगाडि बिहान निकै ठूलो भीड लागेको थियो । पुलिसले भीडको व्यवस्थापन गरिरहेको थियो । भीड छिचोलेर फर्किएकाहरू भन्दै थिए– हेर त, मरेको बच्चा रहेछ ! दुई महिना पुगिसकेको जस्तै छ । एउटी बहुलाई जस्ती केटीले मरेको बच्चालाई ‘मेरो बच्चा’ भन्दै काखमा लिएर रोइरहेकी रहिछे । पुलिसले हकारपकार पारेर खोसेका छन् । ऊ चाहिँ मरेको बच्चालाई आफ्नै बच्चा भन्दै लिनलाई झम्टिरहेकी थिई । त्यस्ती फुची केटीले केको बच्चा जन्माउनु नि ! यति सानो उमेरमै बिचरी के पीरले बौलाइछे कुन्नि ? 

भीडमा अनेक अड्कलबाजी भैरहेथे– परोपकार संस्थाकै अगाडि छोड्नुले कतै जीवितै ल्याएर छोडेको थियो र जाडोले कक्रिएर मरेको पो हो कि ? कसरी फ्याँक्न सकेको होला आफूले जन्म दिएको बच्चालाई ! कति निष्ठुरी हुँदै गएको हो यो समाज ! स्याहार्न, पालनपोषण गर्न नसक्नेले बरु गर्भपतन नै गराएको भए हुन्थ्यो नि !

भीडभन्दा अलिकपर सडकमा लडिबुडी गर्दै एउटी बहुलाई भनिएकी केटी रोइरहेकी थिई र बेलाबेलामा भन्दै थिई– मेरो बच्चा, मेरो बच्चा ! á