• ८ मंसिर २०८१, शनिबार

क्लासिक / सिनेमा

जीवनको नदी

blog

सन् १९२५ देखि १९६२ सम्म चलचित्र निर्देशनमा लागेका विश्व सिनेमा जगत्का ध्रुव तारा जँ रेन्वाले युग अनुरूप प्रविधिको उपयोग गर्दै विविध विषयका चलचित्र बनाए र इतिहास रचे । सन् १९४१ देखि १९५१ सम्म अमेरिका बसेर पनि चलचित्र बनाए ।

अमेरिका बसाइका क्रममा रुमेर गोडेनको पुस्तक ‘द रिभर’मार्फत भारतसँग परिचित हुने मौका पाएका रेन्वाले त्यसैलाई चलचित्रमा उतारे पनि ।

सन् १९५१ मा बनेको ‘द रिभर’ रेन्वाको अन्तिम र एक मात्र उत्कृष्ट अमेरिकी चलचित्र थियो । रेन्वाको पहिलो रङ्गीन चलचित्र पनि ‘द रिभर’ नै हो । श्याम श्वेत चलचित्रका जादुगर रेन्वाको ‘द रिभर’लाई संसारमा बनेका अत्यन्तै उत्कृष्ट रङ्गीन चलचित्रहरूमध्ये पहिलो नम्बरमा राख्दा फरक पर्दैन । उनकै तेस्रो रङ्गीन चलचित्र ‘फ्रेन्च कानकान’ हेर्ने हो भने लाग्छ कि यी निर्देशकका पिता (पिएर ओगुस्त रेन्वा) आएर चलचित्र निर्देशन गर्ने काम गरे । जँ रेन्वालाई चलचित्रका इम्प्रेसनिस्टभन्दा हुन्छ । क्यामेराको चित्रकारिता चाख्न रेन्वाका यी दुई चलचित्र हेर्नु अनिवार्य छ । उनका श्याम श्वेत चलचित्रहरूमा पनि पिताको चित्रकारिताको प्रभाव देख्न सकिन्छ, जस्तो ‘अ डे इन द कन्ट्री’ ।

सन् १९४० मा फ्रान्स हिटलरको पकडमा आएका कारण अमेरिका भागेका थिए रेन्वा । हलिउड कम्पनीको दबाब झेल्दै आफ्नो क्षमताको बलिदान दिँदै तनावका बीच पाँच चलचित्र बनाएका रेन्वाले ‘द रिभर’ भारतमै गएर खिच्न सफल भए । भारतलाई हलिउडले स्टुडियोबाट धेरै पटक देखाइसकेको र त्यस्तो औचित्यहीन कार्य दोहो¥याउने इच्छा उनमा नआउनु स्वाभाविकै हो । भारत देखाउने नाममा हात्ती, बाघ र जङ्गल नदेखाउने इच्छाका कारण रेन्वाले चलचित्र निर्देशनको जिम्मा लगभग गुमाइसकेका थिए तर अमेरिकी फूल व्यापारीले (जो भारतमाथि चलचित्र बनाउन चाहन्थे) उनलाई भारत भ्रमणमा जाने खर्च जुटाइदिएका कारण द रिभर तयार हुन सकेको कुरा चलचित्र इतिहासकार जेम्स लिहाइले उल्लेख गरेका छन् । चलचित्रमा देखाइने बजार, नदी र त्यहाँका माझीहरू, दुर्गा पूजा, नदी किनारका मानिसहरूको गतिविधि आदि दृश्य रेन्वाले खिचेका डकुमेन्टका फुटेज हुन् ।

चलचित्र ‘द रिभर’ सन् १९०७ को बेलायत शासित भारतमा जन्मिएर भारतमै हुर्किएकी अङ्ग्रेज लेखिका रुमेर गोडेनद्वारा लिखित द रिभरमा आधारित छ । रुडयार्ड किपलिङको जस्तै गोडेनका पुस्तकहरू पनि भारतमाथि आधारित छन् । द रिभरलाई अध्ययन गर्दा भारतलाई युरोपेली आँखाबाट रोमान्टिक तरिकाले हेर्ने प्रकृति किपलिङमा जस्तै गोडेनमा पनि देखिन्छ । यी दुवै लेखक भारतको सकारात्मक पाटो अथवा सुन्दरताको पाटोमा ध्यान दिन्छन् ।

‘फ्रेन्च पोएटिक रियलिजम’का महान हस्ती रेन्वाले ग्रान्ड इलुजन, द रुल्स अफ द गेम, ला चिएन (१९३१) जस्ता चलचित्रमार्फत मानव जीवनका कुरूपता देखाएका थिए भने ‘द रिभर’मा जीवनको सुन्दर पक्ष देखाएका छन् । यो सौन्दर्य रोमान्टिक मात्रै छैन तर दर्शनले पनि भरिएको छ र यो दर्शनलाई सकेसम्म भारतमा भिजेर दर्साउने कोसिस गरेका छन् रेन्वाले ।

युरोपेलीका लागि चलचित्रमा भारत उतार्नु ठूलै चुनौती हो तर चलचित्र हेर्दा यस्तो लाग्छ कि युरोपेली बजेटमा स्वतन्त्र तवरले चलचित्र बनाउन पाएको भए रेन्वाले अरू ज्यादा सौन्दर्य थप्ने थिए । हुन त द रिभर एक किशोरीमा केन्द्रित चलचित्र हो तर यो अलि व्यापक रूपमा फैलिएको छ ।

निर्देशक रेन्वाले द रिभरमा दुई प्रमुख पात्रहरू ह्यारियट र क्याप्टेन जनको भूमिकामा चलचित्र क्षेत्रमा कहिल्यै काम नगरेकी किशोरी (प्याट्रिसिया वाल्टर) र दुई तीनवटा फिल्ममा अनुहार मात्र देखाएका टमस इ. ब्रिनलाई अभिनय गराएका छन् ।

चलचित्र ‘द रिभर’मा बेलायती शासनकालीन भारतको पश्चिम बङ्गालमा बस्ने एक अङ्ग्रेज किशोरीको डायरीमा आधारित कथावस्तु छ । चलचित्रको सुरुदेखि अन्त्यसम्म ह्यारिएट नाम गरेकी किशोरी दर्शकहरूलाई आफ्नो कथा सुनाउँछे । किशोरीको कथा जीवनभरको होइन केवल एक वर्षको मात्रै छ । एक वर्षभित्रमा उसको मानसमा आएको उतारचढाव, कुनै पनि पुरुषप्रतिको उसको प्रथम आकर्षण आदि ऊ दर्शकहरूलाई सुनाउँछे र निर्देशकको क्यामेराले उसको कथा दृश्य स्वरूप देखाइदिने काम गर्दछ ।

क्याप्टेन जन यस चलचित्रको प्रमुख पुरुष पात्र हो । ऊ लडाइँबाट फर्किएको अपाङ्ग अमेरिकी भूपू सैनिक हो ।

चलचित्रमा महिला पात्रहरू धेरै र प्रमुख पात्रका रूपमा छन् । दुई तीन पुरुष पात्रहरू गौण रूपमा आएका छन् । प्रमुख पात्र ह्यारियटका पिता जुट मिल सञ्चालक हुन् । उनको परिवारमा एक श्रीमती, एक छोरा र चार छोरी छन् । जसमध्ये दुई छोरी जुम्ल्याहा छन् । सबैभन्दा ठूली ह्यारिएट हो । १५ वर्षकी । पूर्ण किशोरवय टेक्नुअघिको अवस्था उसको छ । ऊ आफूलाई कुरूप हाँसको चल्ला सम्झन्छे, जो सुन्दर रजहाँस बन्ने दिन कुरिरहेकी छे । ह्यारिएट ज्यादै संवेदनशील छे । ऊ कवितासमेत लेख्छे । उसकी छिमेकी भालेरीको विपरीत ऊ पुरुषहरूलाई पनि सुन्दर देख्छे ।

९, १० वर्षको उसको भाइ बोगी आफ्नै उमेरको भारतीय केटोसँग प्रकृितमा खेल्न रुचाउँछ । उसको एउटा डरलाग्दो रुचि छ, पीपलको फेदमुनि बस्ने कालो नागलाई कचौरामा दूध दिने र बजारमा देखेको सपेराको देखासिकी गर्दै बाँसुरी बजाएर नागलाई जिस्क्याउने । उसलाई पढाइमा रुचि छैन र पढ्न चाहँदैन । तीन बहिनीहरू आमासँगै हुन्छन् प्रायः । ह्यारिएटको परिवारमा एउटी सुसारे र एक पञ्जाबी सरदार पनि छन् । पूर्वसैनिक पञ्जाबी सरदार ह्यारिएटको घरमा चौकीदारी गर्छन् ।

गङ्गगा नदीको नजिक रहेका उनीहरूको घरपरिवार आनन्दमा देखिन्छ । सफा आकाश, खुला वातावरण । झगडा, दङ्गा र फसादरहित समाज । एकदम शान्त । घाम र बतासमा आनन्द मानिरहेको रुखझैँ नदी किनारमा ध्यान मुद्रामा बसिरहेको साधु । श्रम गरिरहेका गाउँलेहरू, नदी छेउको चउरमा चरिरहेका गाईहरू, अल्छीलाग्दो मध्याह्नमा हिलोमा लपेटिएका भैँसीहरू । बच्चाहरूको हल्ला । बिनारोकटोक बगिरहेको गङ्गाजस्तै जीवन बगेको देखिन्छ । चलचित्रको प्रत्येक दृश्य गङ्गाको पानीजस्तै शीतल प्रदान गर्नेखाले छ । रेन्वाको प्रौढता झल्कन्छ यस चलचित्रमा । रेन्वाले यस चलचित्रमा कतिपय दृश्यलाई दर्शक आफैँलाई बुझ्ने जिम्मा नलगाएर ह्यारियटलाई बोल्न लगाउँदै त्यो बुझाउन लगाएका छन् ।

जस्तो चलचित्रमा ह्यारिएटका पिता बजारबाट चङ्गा लिएर घर फर्कंदा बाटोमा केही महिलाहरू टाउकोमा माटाका घैला र टोकरी बोकेर हिँडिरहेको देखिन्छ र ती महिलाहरूभन्दा पछाडि सानी बालिका टाउकोमा लोटा राखेर आइरहेकी हुन्छे । यस दृश्यमा ह्यारिएट बोलिरहेकी हुन्छे, “नदीको छेउमा गाउँलेहरू श्रम गर्दै बाँचिरहेका थिए, आफ्नो परम्परामा सन्तुष्ट हुँदै, जुन हजारौँ वर्षदेखि परिवर्तन नभई निरन्तर चलिरहेको छ ।”

इतिहासमा मानव सभ्यता पृथ्वीभर नदी छेउहरूमा सुरु भएको र वर्तमानमा पनि निरन्तर चलिरहेको प्रमाणित भइसकेको छ । मानव सभ्यताको मात्र नभएर जीवनको आधार पनि नदी नै हो । अर्को कुरा मानिसले परम्परा ठूलाहरूको देखासिकी गर्दै अगाडि बढाइरहेका हुन्छन् अर्थात् अघिल्लो पुस्तालाई पछ्याउँदै मानिस अगाडि बढिरहेका हुन्छन् । माटाका घैला बोकेर हिँड्नेहरूको लस्कर यसरी ज्यादै महìवपूर्ण अर्थ बोकेर देखा पर्दछ ।

यस्तै गम्भीर दर्शन बोकेको अर्को दृश्य छ । दुर्गा पूजा गरिसकेको भोलिपल्ट गाउँलेहरूले नदीमा मूर्ति सेलाउन लैजान्छन् । यसमा पनि ह्यारिएटले दृश्यको वर्णन गर्छे । नदीको माटोबाट बनेको मूर्ति नदीमा फर्कन्छ । मिहिनेतका साथ रङ्ग, रूप र आकृति कुँदिएको मूर्ति पानीमा गएर रङ्गहीन, रूपहीन र आकृतिहीन अवस्थामा पुग्छ । माटो माटोमै फर्कन्छ । मानव जीवनको सटिक प्रतीक हो यो दृश्य र दृश्य वर्णन । हिन्दू धर्मका धेरै कर्महरूमा जीवन दर्शन मिसिएको छ । अमेरिकी र युरोपेलीका निम्ति लागि यस्ता दृश्यहरूको वर्णन आवश्यकता ठहर गरेर निर्देशकले ह्यारिएटलाई दृश्य वर्णन गर्न लगाएको अनुमान गर्न सकिन्छ ।

ह्यारियटको छिमेकी भालेरी उच्च वर्गको अङ्ग्रेज परिवारकी हुन्छिन् । उनका पिता मिल मालिक हुन्छन् । भालेरी बेलायतमा स्कुल शिक्षा सकाएर आएकी युवती हो । पूर्ण यौवनमा प्रवेश गरिसकेकी ऊ पुरुषलाई नारी नजरले हेर्छे । भालेरीबाहेक ह्यारिएटकी छिमेकी सङ्गी मेलानी पनि छे । मेलानी आमाविहीन युवती हो । उसको बुबा अङ्ग्रेज र आमा भारतीय महिला । मेलानी पनि भालेरीजस्तै स्कुल शिक्षा सकाएर घर आएकी हुन्छे ।

चलचित्रकी अर्की मूल पात्र मेलानी दुई अङ्ग्रेज केटीहरूभन्दा परिपक्व देखिन्छे । उसको व्यक्तित्वको परिचय निर्देशकले एउटा दृश्यमार्फत देखाएका छन् । ह्यारिएटसँग गफ गरिरहेको एउटा दृश्यमा सुन्तला छोडाउँछे मेलानी । ऊ त्यो खाँदिनँ । त्यो पाकेको सुन्तला मेलानीको प्रतीक जस्तो लाग्छ । ऊभित्रको आध्यात्मिक विकास, ऊभित्रको र बाहिरको महिलाजन्य शारीरिक तथा मानसिक विकास बिस्तारै हामीमाझ खुल्दै आउँछ । तीन केटीहरूमध्ये गङ्गा नदीजस्तो सबैभन्दा शान्त, सुस्त र मौन मेलानी देखिन्छे र सबैभन्दा प्रभावशाली चरित्र ऊ नै प्रमाणित हुन्छे । ऊ अध्यात्म भूमि भारतको प्रतीक हो ।

एउटा खुट्टा काम नलाग्ने भएकोमा सबलाङ्गहरू बीच एक्लो र नौलो अनुभूतिका साथै आक्रोश, दुःख र कुण्ठाले युक्त क्याप्टेन जनलाई पनि ऊ आफ्नो बुद्धिले राहत प्रदान गर्ने कोसिस गर्दछे । जन र मेलानी दुवै आफ्नो आस्तित्वप्रति क्षुब्ध भएका छन् ।

गम्भीर अनुभूतिले युक्त मेलानी आमा गोता गएकी देखिन्छे । उसको क्रियाकलापमा हामी भारतीय प्रकृति देख्छौँ । ऊ चोलो र सारी पहिरहन्छे, घैलामा बुट्टा काढ्छे । अनुशासन र लज्जा उसमा हाबी छ । पश्चिमा महिलाको प्रतिनिधित्व ह्यारिएट र भालेरीले गर्दछन् । मेलानीको बुबा पनि भारतबाट धेरै प्रभावित व्यक्ति हुन्छन् र भारतप्रति उनको झुकाव र लगाव बढी देखिन्छ । बाबु चाहिले छोरीको ठिमाहापनलाई लिएर दुःखी हुन्छन् । नजन्मिएको भए पनि हुने विचार व्यक्त गर्छन् र छोरीको अवस्थालाई लिएर अपराधबोध पनि गर्छन् । तर मेलानी निर्धक्क भन्छे म एक दिन थाहा पाउने छु कि म (पश्चिम या पूर्व) कुन संसारका लागि हुँ ।

भालेरीमा तीव्र आवेग छ । उसको नारित्व आगोले युक्त छ । उसमा अहं पनि कडा छ । भालेरी र ह्यारिएट दुवैको जनप्रति तीव्र आशक्ति छ । हुन त जन र मेलानीले वार्ता गरेको एक दृश्यमा दर्शकले ठोस निर्णय लिन नसकिने धर्मरता देखिन्छ । दुवैको आँखा र अनुहारको भाव अस्पष्ट भएर देखापर्दछ ।

चलचित्रमा सबैभन्दा कच्चा केटीका रूपमा ह्यारिएट देखापर्छे । बालबालिकाको बौद्धिक स्तर माथि प्रश्नचिह्न खडा गर्ने दृश्य चलचित्रमा देखापर्छ ह्यारिएटकी बहिनीमार्फत । खरायो खेलाइरहेकी बहिनीलाई ह्यारिएटले के गरिरहेकी भनेर सोध्दा ऊ भन्छे होपिटी मेरो बच्चा हो, ऊ भर्खरै जन्मिएको छ । ह्यारिएट फेरि भन्छे– तर यसलाई त तिमीले गत हप्ता जन्माइसकेकी हौ । बहिनी जवाफ दिन्छे कि बच्चाहरू फेरि फेरि जन्मन सक्छन्, सक्दैनन् र ?

खरायो जन्माउने बहिनी ह्यारिएटको भाइभन्दा सानी हो । ५ वर्षकी सायद । नारीहरूमा आमाजन्य प्रकृित जन्मजात हुने कुराको सङ्केत एकातर्फ छ भने जीवनको निरन्तरताको सङ्केत अर्कोतर्फ छ । ह्यारिएटको भाइ सर्पले डसेर मर्छ तर चलचित्रको अन्त्यमा ह्यारिएटकी आमाले फेरि एउटा छोरी जन्माउँछिन् । त्यो वसन्तको समय हुन्छ । बच्चाहरू निरन्तर जन्मन्छन्, नदी निरन्तर बगिरहन्छ र जीवन मृत्युको सिलसिला चलिरहन्छ नीलो आकाशमुनि । चलचित्रमा क्याप्टेन जनको उपस्थितिले ह्यारिएट र भालेरीबीच द्वन्द्व देखापर्छ । दुई पुरुषबीच एउटी महिला उपस्थित हुँदा जुन द्वन्द्वको अवस्था सिर्जना हुन्छ ठीक त्यही द्वन्द्व । ह्यारिएट कवितामार्फत क्याप्टेन जनलाई प्रभावित पार्न खोज्छे भने भालेरी आफ्नो यौवनमार्फत । एक पुरुषका कारण उत्पन्न भएको दुवै केटीहरूको नारीजन्य सुलभ निर्देशकले राम्रोसँग देखाएका छन् ।

एक ठाउँमा ह्यारिएट मेलानीसँग भन्छे– सयौँ पुरुषहरूले मलाई प्रेम गरून् भन्ने म चाहन्छु । मेलानीको जवाफ हुन्छ एक व्यक्तिको प्रेम एक व्यक्तिका लागि पर्याप्त हुन्छ ।

कुनै पनि हुर्कंदो केटीको किशोरजन्य यौन प्रकृति या प्रजनन् प्रकृतिको प्रदर्शनी हो ह्यारिएटको वक्तव्य । हुर्किसकेको नारी चेतना हो मेलानीको जवाफ । यो दुई स्वभाव पुरुषमा पनि हुन्छ ।

ह्यारिएटको किशोर मनमा दुईवटा गहिरो चोट लाग्न पुग्छ । एउटा भाइको मृत्युले अर्को भालेरीले प्राप्त गरेको जनको चुम्बनबाट । भाइको मृत्युको चोट बढी प्रभावकारी देखिन्छ र उसले आत्महत्या गर्न नदीमा हामफाल्छे तर माझीहरूले बचाउँछन् । दाजु बहिनी या दिदी भाइबीचको प्रेम बच्चा र आमाबीचको प्रेमजस्तै हुन्छ । यसको प्रमाण अल्फ्रेड हिचककले साबोटाज (१९३६) मार्फत देखाइसकेका छन् । साबोटाजमा लोग्नेले आफ्नो भाइलाई बम पड्काउन लगाएर मारेकाले नायिकाले आफ्नो लोग्नेलाई छुरी हानेर हत्या गर्छे । द रिभरकी ह्यारिएट भने आफ्नो गल्तीका कारण भाइको मृत्यु भएकाले अपराधबोधको दंश खप्न नसकेर आत्महत्याको बाटो रोज्छे ।

चलचित्र द रिभर महिलामय छ । यो मत्र्यलोक अर्थात् धर्ती अर्थात् नारी दर्शनले ओतप्रोत चलचित्र हो । जीवनको उत्पत्ति पानीबाट सुरु भएको कुरा हिन्दू धर्म र विज्ञान दुवैले बताउँछन् । यस अर्थमा नदी जननी हो जीवनको । जीवभित्र नदी छ । सारा जीवको शरीर ६० प्रतिशत पानी नै हो । प्रत्येक पल अनेक तरहका मनोवैज्ञानिक छाल र तरङ्गहरूसहित यो निरन्तर चलिरहेको छ ।

सौन्दर्य र चिन्तनले घनिभूत यस चलचित्रमा निर्देशक रेन्वाले भारतको पर्यायवाची बनेको सितार, भारतीय नाच, होली, दिवाली, तुलसी पूजा, नागको पूजालगायत कतिपय साना साना चिज देखाउन छुटाएका छैनन् । भारतसँगै चलचित्रमा पश्चिमको उपस्थिति पनि छ । चलचित्रलाई ‘इस्ट मिट्स वेस्ट’को संज्ञा दिँदै पश्चिम र पूर्वको आस्तित्विक अध्ययनको नमुना स्वरूप लिन सकिन्छ ।