शरद ऋतु हाम्रा चाडवाड र पर्वको आल्हादकारी समय त हो नै, सँगसँगै पुरस्कारको मौसम पनि । मदन, पद्मश्रीजस्ता स्वदेशी पुरस्कार मात्र होइन, विश्वप्रसिद्ध नोबेल पुरस्कारका धारावाहिक चर्चाले विविध विधाका मान्छेहरू तरङ्गित भइरहे गत महिना । केही महिनाअघि अमेरिकामा सलमान रुस्दीमाथि भएको आक्रमणपछि यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उनले पाउने चर्चा चलिरहेको बेला विरलै पढिएकी फ्रान्सेली लेखक एनी एर्नोउले बाजी मारिन् । एकाएक उनका फुटकर लेख÷रचना सामाजिक सञ्जालमा छाउन थाले । उनका किताबबारे बहस हुनथाल्यो, पुराना लेख र समीक्षा उपलब्ध भइरहे । उनको लेखनमा पाइने ‘साहस र असंलग्न तीक्ष्णता’का निम्ति उनलाई यस वर्षको नोबेल दिइएको जनाइएको छ । नोबेल समिति थप खुलाउँछ, ‘यही तीक्ष्णताको बलमा वैयक्तिक स्मृतिका मूलस्रोत, विच्छेदन अनि सामूहिक संयमलाई सतहमा ल्याएकी छन् उनले ।’
निजात्मकता छताछुल्ल हुने गरी लेखिने साहित्यिक विधा हो– अटोफिक्सन अर्थात् आत्मवृत्तान्त र आख्यानको अन्तर्घुलन । आफ्नै जीवनका घटनावलीलाई आधार मानी लेखिने आख्यानको यो स्वरूपको नामकरण सन् १९७७ मा सर्ज डोब्रोस्कीले गरे । त्यसपछि ट्रुम्यान क्यापोटले ‘इन दी कोल्ड ब्लड’मार्फत यो लेखन विधालाई व्यापक बनाउन महìवपूर्ण भूमिका खेले । त्यसो त जेम्स वाल्डविन, जेम्स जोयस, हेनरी मिलर, कार्ल ओभ क्न्सगार्ड, फिलिप रोथ मात्र होइनन् जे एम कुयत्सी, सिला हेटी, तेजु कोल, ओसन भुङ्ग, आयाद अख्तर जस्ता पुराना तथा नयाँ पुस्ताका चर्चित लेखकहरूले यस विधालाई विभिन्न दशकमा घोषित अघोषित रूपबाट मलजल गराइरहेकै छन् । अनि यही लहरमा गर्विलो उपस्थिति छ एनीको पनि ।
एनीका अधिकांश आख्यान पातला छन्, लघु उपन्यास भन्न सकिन्छ । ‘क्ल्न्डि आउट’ (१९७४) बाट आफ्नो गर्भपतनको घटना खुलाएर अटोफिक्सनको खाता खोलेकी थिइन् उनले । ‘ए म्यान्स् प्लेस’ (१९८३) उनको बाबुको जीवनमा आधारित छ । उनकी आमाको स्मरण क्षमताको ह्रासले जन्मायो अर्को उपन्यास ‘ए उमन्स स्टोरी’ । यही अनुभवोन्यासको एक अंश ः ‘मेरी आमा दिनभर दूध र आलु बेच्थिन् ताकि मलाई भाषणकक्षमा बसेर दार्शनिक प्लेटोबारे जान्ने अवसर मिलोस् ।’ ‘ए फ्रोजन उमन’ (१९९४) मा उनको लैङ्गिक दृष्टिकोण अभिव्यक्त छ । आफू वयस्क महिलामा रूपान्तरण हुँदै गर्दा तेर्सेका सामाजिक तगारा र नियन्त्रण, वैवाहिक जीवन र सम्बन्ध विच्छेद आदि घटनाको आख्यानीकरण हो यो उपन्यास । बाल्यकाल रोमाञ्चकारी थिएन उनको । निम्न वर्गीय गरिब यो परिवार दुःखकष्ट खेपेर पनि एनीको पढाइका लागि आर्थिक स्रोत जुटाइरहेको थियो । विस्तारै उनका बाबुआमाले एउटा क्याफे चलाउन सुरु गरे । ‘आई रिमेन इन डार्कनेस’ (१९९७) उनकै आमाको सम्झनामा लेखिएको छ । ‘सेम’ (१९९७) मा उनका बाबुले आमालाई मार्न खोजेको भयानक घटना वर्णित छ । एक अंश ः ‘गृष्मयामको आइतबारको एक मध्यान्हको समय थियो । मेरा बाबुले मेरी आमालाई मार्न खोज्दैथे । ...अचानक टेबलबाट उठे । उनले आमालाई समातेको देखेँ, क्याफेबाट घिसार्दै लगे । उनी भुत्भुताइरहेका थिए, कर्कश थियो उनको बोली तर केही नबुझिने । म माथिल्लो तलातिर दौडिएँ, सिरानीमा अनुहार जोतेर आफ्नो खाटमा पल्टिरहेँ ।’
जटिल पारिवारिक वातावरणले तनाव र पीडा त थप्ने नै भयो तर पनि एनीले लेख्न छाडिनन् । पछि पछि त उनका लागि लेखनले थेरापीको काम गर्न थाल्यो । पीडा कम गर्न तिनै घटनालाई नयाँ आख्यानका अंश बनाउन थालिन् । उनकै गर्भपतनपछिका पीडा र अनुभवले भरिएको छ ‘ह्यापेनिङ’ (२०००) र असफल प्रेम सम्बन्ध र मानसिक आघातको उपक्रमले लेखायो ‘दी पोजेसन्स्’ (२००२) । तर फ्रान्सेली साहित्यमा आफ्नो प्रसिद्वि देख्न २१औँ शताब्दीसम्मै कुर्नुप¥यो उनले । २००८ मा लेखिएको उनको उपन्यास ‘दी इयर्स’ कोसेढुङ्गा बन्यो उनको लेखनजीवनमा । यसैबाट उनको चर्चा फ्रान्सभर फैलिन थाल्यो । अङ्ग्रेजीमा अनुवाद भएपछि अनुदित किताबलाई दिइने पुरस्कार अन्तर्राष्ट्रिय बुकर २०१९ को मनोनयनमा प¥यो यो उपन्यास । तर पनि बीसवटा उपन्यास लेखिसक्दासमेत बाहिरी जगतमा उनी परिचित थिइनन् । कमै पढिन्थ्यो उनलाई, अनि चर्चा पनि कमै गरिन्थ्यो । गत महिनाको नोबेल पुरस्कारपछि मात्र उनी विश्व जगतको नजरमा परेकी छन् । आठ दशकको नेटो काटिसक्दा आफूले पाएको सफलतामा नरमाउने कुरै भएन । तर सम्हालिँदै उनले सुनाइन्, ‘नोबेल पुरस्कार पाउनु भनेको मेरा लागि निरन्तर लेख्न जिम्मेवारी थपिनु हो । महिलाको हैसियतले बोल्नुपर्दा स्वतन्त्रता र शक्तिमा हामी पुरुषको बराबरी भएका छैनौँ ।’
बेलारुसी लेखक स्वेत्लाना एलेक्सेभिच खोज पत्रकारिताका लागि साहित्यतर्फको नोबेल पुरस्कारबाट पुरस्कृत भइन् सन् २०१५ मा । सोभियतकालीन रुसका गम्भीर घटनावलीमा आधारित छन् उनका किताबहरू । स्वेत्लानाको जुतै बाहिरी विश्वमा सोभियत संलग्नताको गाथा भेटिन्छन् एनीका केही उपन्यासमा पनि । दोस्रो विश्वयुद्धताका सोभियत कूटनीतिज्ञलाई उनले गरेको अथाह प्रेमको परिणामबाट नै जन्मेको थियो उनको उपन्यास ‘सिम्पल प्यासन’ । यही सघन प्रेम उपन्यास संवादमा यसरी प्रकट भएको छ ः
प्रेमी : म फर्की आउनेछु ।
प्रेमिका : त्यतिबेलासम्म म बूढी भइसक्नेछु ।
प्रेमी : तिमी मेरो नजरमा कैले पनि बूढी हुनेछैनौ ।
प्रेमिका : म बूढी नहुने कोसिस गर्नेछु ।
विगत र यसको स्मृति एनीका लेखनका कच्चा पदार्थ मानिन्छन् । यो स्मृति, उनको बुझाइमा, ‘कथाकहानीबाट मात्र एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदैन, यो त हिँड्ने, बस्ने, बोल्ने, हाँस्ने, खाने, कसैलाई बोलाउने, केही चिज समाउने आदि तौरतरीकाबाट पनि हस्तान्तरण हुन्छ ।’ नियमित डायरी लेख्ने बानीले उनलाई यो विधामा लेख्न सघाएको स्वीकार्छिन् उनी । यसैकारण घटनाहरूको सूक्ष्म वर्णन गर्न सजिलो भयो । वैयक्तिक विवरणलाई लेखनमार्फत सार्वजनिक गर्ने काममा सबैको साहस जुट्दैन । यस्तो साहसिक कार्यको अंशियार बनी फ्रान्सेली गौरवलाई उँचो बनाएकी छन् उनले । तर यसरी पारिवारिक र निजात्मक गतिविधिलाई लेखकीय आधार बनाउँदा सिर्जनाको दृष्टिबाट अधिकारको दुरुपयोग भएको आरोप पनि खेपेकी छन् उनले ।
यौनकर्मका उदात्त वर्णन पाइन्छन् एनीका उपन्यासमा । त्यसैले कतिले त उनलाई अश्लील साहित्य (पोर्नोग्राफी) लेखक भनेर उडाउँथे । तर उनका प्रशंसक भने विख्यात लेखक मार्सेल प्राउस्टबाट प्रभावित भएकीले उनका लेखाइमा यौनकेन्द्रित सन्दर्भ बाक्लै आउने तर त्यो पोर्नाग्राफी नभएको तर्क गर्छन् । भन्न सकिन्छ– प्रेम, सम्बन्धविच्छेद, धोका जस्ता निजात्मक र सामान्य विषयमा सीमित छ उनको लेखाइ । तर यिनै घटनाहरूको विस्तारित स्वरूप भेटिन्छ आम जिन्दगीमा । उनका लागि लेखन सामाजिक असमानतालाई उजागर गर्ने राजनीतिक हतियार हो । पूर्वराष्ट्रपति सार्कोजीका प्रेम प्रसङ्गले निम्त्याएको उनको राजनीतिक अवसान तथा अरू थुप्रै घटनाका भ्रूण भेटिन्छन् एनीका उपन्यासका प्लटभित्र । त्यस्तै गर्भपतनपछिका शारीरिक र मानसिक पीडामा आधारित उनका उपन्यास ‘क्लिन्ड आउट’ र ‘ह्यापेनिङ’ का केन्द्रीय ध्वनि अझै सान्दर्भिक छन् । विशेषगरी गत वर्ष अमेरिकी सरकारले गर्भपतनमा लगाएको कानुनी बन्देजपछि यस्ता साहित्यिक दस्तावेजको उपादेयता साहित्यमा मात्र सीमित रहेन । यस अर्थमा एनीका सिर्जनाहरू गथासा र रोदन मात्र होइनन्, सर्वकालिक आधारस्तम्भ हुन् उनी बाँचेको समाज र विश्वको तुलनात्मक चित्र नियाल्नका खातिर ।
सन् १९०१ बाट दिन थालिएको नोबेल पुरस्कार पाउने पहिलो साहित्यकार नै फ्रान्सेली बने । आजसम्म साहित्यतर्फको नोबेल पुरस्कार पाउने फ्रान्सेली लेखकको सङ्ख्या १६ पुगेको छ । अल्बेयर कामु, जँ पल सात्र्र जस्ता ख्यातनामा फ्रान्सेली लेखक समावेश छन् यो सूचीमा । तिनै सात्र्र र उनकी प्रेमिका सिमोन दी बिभ्वारबाट निकै प्रभावित रहिन् एनी । उनको बारे एउटा टिप्पणी सुनिन्छ– उनी निजी जीवनका वृत्तान्त यति सूक्ष्म ढङ्गले लेख्छिन् मानौँ अरूका घरपरिवारका झैझगडा, कुराकानी तथा अन्तरङ्ग गतिविधिहरू उनीहरूका भित्तामा कान लगाएरै सुनेर चाल पाएकी हुन् उनले । यहीँनेर उनी जोडिन्छिन् सन् २०१४ का नोबेल विजेता अर्का फ्रान्सेली लेखक प्याट्रिक मोदियानोसँग । मोदियानो भन्ने गर्छन्–‘अब्बल लेखनका लागि कच्चापदार्थ बटुल्न भीडमा अरूले थाहा नपाउने गरी मिसिनुपर्छ र उनीहरूका कथा, वार्ता सुनेर उनीहरूका आवाज, भोगाइलाई उतार्नुपर्छ ।’ एनीको डायरी लेखन मिहिन वर्णनको सबल आधार हो, जसले पछाडि गएर उनलाई आत्मपरक उपन्यास लेख्न सघाए । प्रस्तुत छ– उनको डायरीमा रहेका केही घटनाहरूलाई फ्रेन्चबाट एलिसन स्टे«एरद्वारा गरिएको अङ्ग्रेजी रूपान्तरमा आधारित रहेर नेपालीमा गरिएको भावानुवाद ।
डायरी, सन् १९८८
१९८९ को नोभेम्बर १६ गते । मैले प्यारिसस्थित सोभियत राजदूतावासमा फोन गरेँ र एस. नाम गरेको पुरुषसँग कुरा गर्न चाहेको बताएँ । अपरेटरले कुनै उत्तर दिएनन् । लामो मौनतालाई तोड्दै एउटा महिला आवाज गुन्जियो ः ‘एस त हिजै मस्को फर्कियो ।’ तुरुन्तै मैले फोन राखिदिएँ । यो आवाज फोनमार्फत यसअघि नै सुनेझैँ लाग्यो मलाई । शब्द त उही थिएनन् तर अर्थ एउटै थियो । त्रासदीको उही बोझ थियो ती शब्दमा । मैले विश्वास गर्नै सकिरहेको थिइनँ । त्यसको साढे तीन वर्षपछि मैले मेरी आमा मरेको खबर यसरी नै सुनेकी थिएँ । अस्पतालकी नर्सले भनेकी थिइन्–‘तिम्री आमा बितिन्, बिहानको नास्ता खाएपछि ।’
एक हप्ताअघि बर्लिनको पर्खाल ढलेको थियो । युरोपमा स्थापित सोभियत सत्ता पनि एकपछि अर्को ढल्दैथिए । भर्खरै मस्को फर्केका त्यी मान्छे सोभियत सङ्घको बफादार सेवक थिए, प्यारिसस्थित सोभियत दूत थिए उनी । अघिल्लो वर्ष मस्को, त्विलिसी र लेनिनग्राडमा सम्पन्न लेखकहरूको भ्रमणका क्रममा उनीसँग मेरो भेट भएको थियो । त्यस भ्रमणका क्रममा लेखकहरूलाई साथ दिन उनलाई खटाइएको रहेछ । हामी दुईले अघिल्लो रात लेनिनग्राडमा सँगै बितायौँ । फ्रान्स फर्केपछि पनि हाम्रो भेटघाट चलिरह्यो । उनको बारे जे जति सूचना÷जानकारी सङ्ग्रह गरेँ, त्यसबाट मैले थाहा पाएँं– उनी रुसी कर्मचारीतन्त्रका आदेशपालक थिए । तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका सदस्य थिए । क्युवामा पनि केही समय बिताएका रहेछन् । उनी राम्रो फ्रेन्च बोल्थे, अलि चर्को लवजमा । बाहिरी रूपमा उनी गोर्वाचोभ र पेरेस्त्रोइकाका पक्षधर थिए । तर रक्सीले मातेको बेला सही कुरा निस्कन्थ्यो–ब्रेज्नेभको समय सम्झेर भावुक बन्थे । अनि स्टालिनप्रतिको सम्मान नलुकाई प्रकट गर्थे । उनका गतिविधिबारे मलाई जानकारी थिएन । औपचारिक रूपबाट उनका कामहरू संस्कृतिसँग जोडिएका हुन्थे । अहिले सम्झिँदा अचम्म लाग्छ– मैले उनलाई कहिल्यै अतिरिक्त प्रश्न गरिनँ ।
किशोरी बेलादेखि नै मैले महत्वपूर्ण घटनाहरू डायरीमा टिप्न थालेकी हुँ । कहिलेकाहीँ यो क्रम टुट्थ्यो पनि । उनले फ्रान्स छोडेपछि मभित्र विकसित आवेगको सेराफेरोमा किताब लेख्न थालेँ । अनि सन् १९९२ मा ‘सिम्पल प्यासन’का रूपमा त्यो प्रकाशित भयो ।
सन् २००० को सुरुतिर मैले टिपेका घटनाहरू फेरि पढ्न थालेँ । एस. सँगको मेरो प्रेमसम्बन्धबाट यो क्रमको उठान भयो । मैले डायरी पढ्न थालेको पाँच वर्ष भएको थियो । (यहाँ खुलाउनुपर्ने कारण त केही छैन । मेरा ती लेखोट–सामग्रीहरू कतै थन्काएको थिएँ । तर पछि फेला परेनन् ।) ती पानाहरूमा एउटा यथार्थता लुकेको थियो जुन ‘सिम्पल प्यासन’सँग मेल खाँदैनथ्यो । त्यो कटु र गाढा थियो । मलाई लाग्यो, यसको पटाक्षेप हुनैपर्छ । टाइप गर्दै जाँदा मैले त्यसको न कुनै अंश बदलेँ, न त कुनै अंश हटाएँ । (तल उल्लेखित सामग्रीहरू मूलग्रन्थका अंश हुन्) । कापीमा उतारिएका ती शब्दहरू मेरा लागि समयजस्तै अपरिवर्तनीय छन् जसले विविध समयका सोचाइ र रोमाञ्चकतालाई ब्युँताउँछन् । ती आफैँ समय हुन् वास्तवमा ।
मङ्गलबार, सेप्टेम्बर २७, १९८८
तीनवटा दृश्यहरू स्पष्ट छुट्टिन्छन् । एस. को कोठा । आइतबारको त्यो साँझ । हामी सँगै बसेका थियौँ, एकअर्कालाई स्पर्श गर्दै । निःशब्द । के होला अब भन्ने उत्सुकता थियो दुवैमा । तर सबै ममाथि निर्भर थियो । उनी जब चुरोटको खरानी भुइँमा राखेको भाँडोमा टकटकाउँथे, हरेक चोटि उनको हात मेरा तिघ्रामा रगडिन्थ्यो । यो घटना सबैका उपस्थितिमा भइरहेको थियो । केही नभएझैँ गरी हामी बातचित गरिरह्यौँ । त्यसपछि अरूहरू निस्के त्यहाँबाट । तर एफ. भने बसिरहे । मलाई थाहा थियो– एस. को कोठाबाट यतिखेर निस्किगएँ भने फेरि फर्की आउने हिम्मत हुने छैन मेरो । एफ. कोठाबाहिर थिए, अनि कोठा खुलै थियो । एस. र म एकार्काको आलिङ्गनमा थियौँ । प्रवेश कोठामा थियौँ हामी । म भित्तामा अडेस लाएर बसेको थिएँ, बत्ती बाल्दै र निभाउँदै । विस्तारै मैले आफ्ना कपडा खोल्दै गएँ । अनि एस.ले बत्ती निभाए ।
दोस्रो पटक । सोमबारको मध्यान्ह । सुटकेसमा सामान मिलाएर निस्कने तयारी गर्दैछु म । उनी म बसेको कोठाको ढोकामा ढकढकाउँछन् । ढोकैमा उभिएर हामीले चुम्बन गर्छौं । उनी त्यो उपक्रम लम्ब्याउन चाहन्छन् । उनी मौन छन् ।
एकछिनमा रुसी लवजमा मेरो नाम पुकार्छन् । भित्तामा टाँसिएको छ मेरो ढाड । त्यसपछि अन्धकार छाउँछ । उनी चाहन्नन्–बत्ती बलिरहोस् ।
तेस्रो पटक । हामी रेलमा चढेर मस्को जाँदैछौँ । रेलको पछाडिको बग्गीमा हामी चुम्बनरत छौँ । लेनिनग्राडमा घटेको घटना हो यो ।
हिजो हवाईयात्राबाट घर फर्केदेखि नै घटनाहरू सम्झन खोज्दैछु म । तर मबाट टाढिँदैछन् ती सबै । शनिबार जागोर्सको एउटा गुम्बामा हामी दुईको भेट हुन्छ । हामी चप्पल लगाइरहेका छौँ । उनले मेरो कम्मरमा समाएर मलाई केहीबेर अँगाल्छन् । त्यतिखेरै उनीसँगै एकाकार हुन म तयार हुन खोज्छु । रेलबाटै हामी लेनिनग्राड फर्किन्छौँ । होटल युरोपमा खाना खान्छौँ हामी । उनकै छेउमा छु म । यात्राको थालनी भएदेखि पटक पटक यस्तै चलिरहेको छ हामीबीच ।
बिहीबार, सेप्टेम्बर २९
कहिलेकाहीँ म उनको अनुहार सम्झिन खोज्छु तर प्रष्ट आकृति आउँदैन । उनको आँखा, ओठको आकार, दाँत चाहिँ खण्ड खण्डमा सम्झना हुन्छ । तर सिङ्गो स्वरूप आउँदैन । उनको शरीर पहिचान गर्न सक्छु । तर हात कस्तो थियो, ख्याल हुँदैन । मलाई कामवासनाले पूरै छोप्छ घरी घरी अनि बरबर आँसु खस्छ । प्रेममा पूर्णताको चाहना छ मलाई । ‘ए उमन्स् स्टोरी’ लेख्दै गर्दा एक प्रकारको पूर्णता पाएँ मैले । समर्पणमा नै यो सब सम्भव हुने रहेछ ।
शुक्रबार, सेप्टेम्बर ३०
अहिलेसम्म उनको फोन आएको छैन । कतिखेर उनको जहाज उत्रिन्छ, केही थाहा छैन । यदि हामीबीचको सम्बन्ध यत्तिकै अन्त्य हुने हो भने आइतबार लेनिनग्राडमा भएको मीठो तर मौन सम्झौतालाई कसरी हेरौँ म ?
शनिबार, अक्टोबर १
पौने एक बज्दैथियो । उनको उडान तीन घण्टा ढिलो भइसकेको थियो । पीडामिश्रित खुसी थियो यो । म उनलाई फेरि भेट्ने लालसाले छटपटिएको थिएँ ।
(सन्दर्भस्रोतहरू : नोबेल पुरस्कार आर्काइभ, दी प्यारिस रिभ्यु, लिटचार्ट आदि ।)