• ९ मंसिर २०८२, मङ्गलबार

त्यो मान्छे (कथा)

blog

“केटो हो कि केटी हो ?” म तल ओर्लिंदै गर्दा आमाले मसिनो स्वरमा सोध्नुभयो तर म उत्तर नदिई ओर्लें । थाप्लामाथि अपराह्नको घाम थापेर त्यो आँगनमा उभिएको थियो । त्यो अर्थात् त्यो मानव जाति । छेउ न टुप्पोबाट सुरु हुने आधुनिक कथाहरूले झैँ पाठकलाई अलमल्याउनुपर्ने केही छैन । यसलाई एकादेशमा भने झैँ गरी सुरु गर्दा पनि हुन्छ । हुन त यो सत्य घटना हो तर सत्य घटनाले पनि अन्त्यमा दिने एउटा विचार नै हो भने विचार कथाले पनि दिन सक्ने हुनाले यसलाई कथा मान्दा यस कथाले आपत्ति मान्नुपर्ने केही छैन । त्यसैले हे कथा तिमी विचार वा प्रश्न बोकेर आऊ !

उत्तर दिन खोज्दा तिमीले कति कति गाली खायौ, त्यो अब तिम्रो काम होइन, उत्तरका वैकल्पिक लामहरू बोकेर आउनु त बिचरा पाठकको नियति हो । 

 कथा आइपुग्यो ।

पुरानै अक्षर, शब्द र वाक्यहरू पनि जुगौँदेखि आफ्नो ठाउँको निश्चिति भइरहेकै कथासँगै आइपुगे ।

 देश, काल र वातावरण पनि थिए ।

अहिलेभन्दा ठिक १० वर्षअघि हाम्रो परिवार अमेरिकाको सियाटल भन्ने ठाउँमा बस्थ्यो र त्यस ठाउँमा प्रायः दिउँसै साँझ परे झैँ हुन्थ्यो – केही अँध्यारो, सधैँ तिर तिर पानी परिरहने तर त्यो बिरलै पाइने उज्यालो दिन थियो । त्यस ठाउँमा रहेको हाम्रो घरमा घटित त्यस दिनको घटना हो यो ।

 घटना वा दैनिकी ।

घरको कुरा गर्न थाल्यो कि चेखबको सम्झना हुन्छ–उनको छोटो नाटक सम्झिन्छ, ‘घर आपत् हो आपत् ।’

हाम्रो गाउँभरिको पानी आउने मूल पाइपमा कुनै समस्या थिएन, घर घरमा पानी बाँडी पठाउने मूल डिभिजनमा पनि कुनै समस्या थिएन । त्यसबाट घरभित्र हुलिएको पाइपमा कहाँनेर खराबी भयो थाहा भएन ।

घर बनाउँदा प्रयोग गरिएको प्लम्बर ५० औँ वर्षअघि मरिसकेको थियो किनभने घर नै सय वर्ष पुरानो थियो । प्लम्बरको तथाकथित सिर्जना मात्र बाँकी थियो– प्लम्बिङ । त्यस सिर्जनाले विगत दुई दिनदेखि हाम्रो घरभित्र काम गरिरहेको थिएन ।

यस्तो अवस्थामा आमाको झर्कोफर्को स्वाभाविक नै थियो ।

पिताजीको अवसानपछि आमाले कराउने झिज्याउने पात्रहरू हामी भएका थियौँ । घरभित्र एकपछि अर्को समस्या आइरहन्थे । यसो भनूँ, आमाका निम्ति चिन्ता गर्ने कराउने इस्युहरू पुगिरहन्थे ।

हो, त्यो मानव जाति थाप्लामा अपराह्नको घाम थापेर आँगनमा उभिइरहेको थियो– कथा यहाँ पुगेको थियो अघि ।

लामो चुल्ठो रबरले बाँधेको, अलि ठुलो ज्याकेट लगाएको, अनुहारमा अलिकति डन्डीफोर उमारेको, गोरो वर्णको, ठिक्कैको उचाइ भएको, एउटा अलि पुरानो झोला भिरेको हँसमुख नै थियो त्यो ।

“तपाईं नै हो ?” मैले सोधिसक्दा उसले मुसुक्क हाँसेर ‘हो’ भनी टाउको निहुरायो ।

“म अफिसबाटै खटाइएको हुँ,” त्यसले भन्यो । मैले खानेपानीको समस्या र सम्भावित कारणहरू भनेपछि ऊ हाम्रो घरको पश्चिममा जोडिएको हाम्रै बारीतिर लाग्यो जहाँबाट हाम्रो घरभित्र पाइप ल्याइएको थियो ।

ऊ बडो फुर्तीसँग नापजाँच गर्न लाग्यो ।

म एकछिन रोकिएर ५० पाइला जति पूर्व हिँडेँ । त्यतापट्टि हाम्रो घरसँग जोडिएको खाली जग्गामा रहेका पाइन, रेडवुड, डगलस फिर्स, हेमलाक आदि प्रजातिका अग्ला न अग्ला रुख थिए । ती वृक्ष मेरो खुसीका निःशुल्क उपहार थिए । हेरेर केहीबेर मैले आनन्द लिएँ–सयौँ वर्षदेखि आफैँ जन्मिने, आफैँ हुर्किने, बुढो हुने, नयाँ बिउ झारिदिने र आफू मर्ने तर जङ्गलाई झन् झन् बाक्लो बनाइदिने वृक्ष–लीलाको सत्ता देख्दा मनमा जिज्ञासा उब्जिनु स्वाभाविकै हो– यस प्रणालीको रचयिता को होला ? तर यो उत्तर नभएको अव्याकृत प्रश्नभन्दा पनि वृक्षको सृष्टि परम्परा पो हाम्रा लागि महìवपूर्ण छ भन्ने भावले म सन्तुष्ट भएँ ।

आमाको सम्बन्ध हामीसँग अभेद्य छ, सबैको हुन्छ होला । हो, आमा र हामी । पिताजीको तस्बिर पनि आमाका लागि प्रिय थियो, उहाँ हाम्रा आँखा छलेर तस्बिर छाम्नुहुन्थ्यो, आँसु चुहाउनुहुन्थ्यो– सम्भवत पिताजीको तस्बिरसँग आमाको सम्बन्ध निकै राम्रो थियो ।

हामी त प्रिय थियौँ । चाहे हाम्रो स्रष्टा जो होस्, हाम्रा निम्ति आमा नै स्रष्टा भनेर काम चलाइएकै थियो । समग्र ब्रह्माण्डका निम्ति आमा बच्चा जन्माउने पाइपलाइन मात्र हो, प्रविधि मात्र हो भन्ने विशाल शुष्क विज्ञान हाम्रा लागि अनावश्यक थियो ।

“जहाँबाट पानी घर घरका निम्ति वितरण गरिएको छ त्यहाँसम्म त केही समस्या छैन,” त्यसले भन्यो, “तपाईंको कम्पाउन्डभित्र अर्थात् बारीमा सुताइएको पाइपमा समस्या हुनु पर्छ । यो अति पुरानो पनि भयो । टोटल २० फिट छ तर घरभित्र आइपुग्दा दुई टुव्रmामा एल्बो प्रयोग भएको छ । जे होस् मेरो सल्लाह छ– त्यसलाई बदलौँ ।”

म त्यस प्लम्बरको काममा ध्यान दिन थालेँ । त्यो वास्तवमा आफ्नो काममा पर्फेक्सनिस्ट नै हो भन्ने लाग्यो मलाई । म आफू जस्तो हुँला तर मलाई पर्फेक्सनिस्टहरू बडो आकर्षक लाग्छन् । सम्भवतः त्यसै कारणले पनि मैले यो कथा लेख्ने इच्छा गरेँ । पानी, छाता आदि ल्याइदिएर बहिनी मलाई सघाइरहेकी थिई तर आमा चाहिँ घरको एक तलामाथिको झ्यालबाट आँखाहरू घरि चिम्सा र घरि ठुला बनाएर त्यस प्लम्बरलाई हेरिरहनुभएको थियो– सायद त्यसको कामलाई भन्दा पनि त्यसको अपरिचित लैङ्गिकतालाई ठम्याउन खोजिरहनुभएको थियो जस्तो मान्छु ।

त्यसको आवाज केटीहरूको भन्दा मसिनो लाग्थ्यो र केटाहरूको भन्दा खस्रो ।

“प्लम्बिङबाहेक के गर्नुहुन्छ तपाईं ?” बारीको कुनाबाट डेढ हात जति गहिरो खनेर पुरानो पाइप बाहिर निकाल्न लागिरहेको उसलाई मैले सोधेँ ।

“पढ्दैछु,” त्यसले भन्यो ।

“ए,” मलाई उसको उत्तर प्रिय लागेकोले अझै सोधेँ, “के पढ़नहुन्छ ? प्राविधिक धार होला कि ! प्लम्बिङ नै हो ?” “हैन सर, म साहित्य पढ्छु,” त्यसले भन्यो र म झन् खुसी भएँ ।

एउटा साहित्यिक प्लम्बर मेरो बारीबाट पाइप उधिनिरहेको थियो ।

“देख्यौ त ?” मैले बहिनीलाई कानमा भनेँ, “सक्कली मान्छे हो यो प्लम्बर ।”

“आमा चाहिँ झ्यालबाट हेरेरै नक्कली मान्छे जस्तो भन्दै हुनुहुन्छ,” बहिनीले पनि अलि अलि हाँसेर मेरो कानमै भनी । त्यो काम गरिरह्यो, म हेरिरहेँ । दिन वा सूर्य बिल्कुल आफ्नो गतिमा आफैँ हिँड्दै गएर पश्चिमको क्यास्केड पहाडमाथि टुप्लुक्क बस्यो । बिस्तारै पश्चिमी आकाशमा स्वर्णिम आभा फैलियो स्वचालित– पर्फेक्ट ।

पानी छिट्याउन थाल्यो । तर ऊ काम नसकी विश्राम नलिने गरी लागिरह्यो ।

घरभित्र पसेर खाजा खाने बेलामा त बत्ती बाल्नु परिहाल्यो खाजा खाँदै गर्दा त्यो मानव तीन जना अट्ने सोफामा मेरोछेउमा बसिरहेको थियो ।

“भोलि बिहानै क्लासमा पुग्नु पर्छ,” त्यसले भन्यो । सायद त्यो यसो भन्न चाहन्थ्यो, “अब खाजा खाएर तुरुन्तै हिँड्ने छु, यहाँहरूले माइन्ड नगर्नुहोला ।”

“के पढ्दै छौ क्लासमा ?” आमाले सोध्नुभयो । यो प्रश्न मायालु पनि हुन सक्थ्यो तर स्वरमा त्यस्तो कोमलताको भाव छैन भन्ने मलाई लाग्यो । आमा आफ्नो प्राध्यापकीय सत्ता प्रयोग गरेर सायद कुनै मनोवैज्ञानिक प्रतिव्रिmया जनाउँदै हुनुहुन्छ जस्तो लाग्थ्यो । कमसेकम मैले त्यस्तै अनुभव गरेँ ।

मेरो छेउमा बसेको बेला आमालाई त्यो मान्छे केटी नै हो भन्ने लागेको हुन सक्छ । चुल्ठो लामो, दाह्रीजुँगा नभएको कोमल–स्निग्ध अनुहार, कानमा मुन्द्रा, छाती (ठुलो ज्याकेटको कारणले त्यति प्रस्ट नभए पनि) उच्च, पृष्ठ भाग अलि ठुलो, कम्मर स्याप्य परेको त्यस प्राणीलाई आमाले केटी देख्नु जायज नै हुन्छ । स्वर पनि त केटाहरूको भन्दा मसिनो नै छ ।

“आजभोलि रोलॉ बार्थ चलिरहेछ– डेथ अफ अथर, लेखकको मृत्यु,” त्यस मानवले भन्यो ।

 आमाले विस्फारित नेत्रले हेर्नुभयो ।

 काम सकिएको थियो । घरका सबै धारामा पानी आइसकेको थियो । उसको काममा खोट लगाउने ठाउँ थिएन । साँझ गहिरो बाक्लो र शीतल थियो । मनमा कुनै अनावश्यक क्लेश नहुने हो भने समय शान्त र आनन्ददायी थियो । बर्खा सुरु भएकाले धरर गर्दै बलेँसी झरेको ध्वनि मधुर, शीतल र कोमल थियो ।

पानी पर्छ, जम्मा हुँदै छानाकै किनारसम्म आउँछ, बलेसी बनी आवाज गर्छ र हामीलाई आनन्दित पार्छ ।

कसले गर्छ यो सबै, थाहा छैन तर पनि जलचव्रmको आनन्द हामी भोग्दछौँ– मानौँ चव्रmले नै चव्रm घुमाउँछ ।

प्लम्बरको प्राज्ञिक व्यक्तित्व विरोधाभासपूर्ण जस्तो थियो । उसको कामसँग नमिले जस्तो अपत्यारिलो । आमाका निम्ति त आश्चर्यजनक पनि तर उहाँ प्रभावित नहुन खोजिरहनुभएको थियो ।

खाजाको पुछारमा एक कप कालो कफी ल्याएर दिएपछि बहिनी प्लम्बरको छेउमा बसी । आमाले आफ्नो कुर्सी यता घुमाउनुभयो र बहिनीलाई नमिठो मानेर हेर्नुभयो किनभने त्यो मानव जाति केटा पनि त हुन सक्थ्यो । एउटी नेपाली छोरी त्यो अपरिचितसँग ढेस्सिइहाल्नुपर्ने त थिएन । त्यसका दुईतिर हामी दाजु, बहिनी थियौँ र आमा बडो सकसमा हुनुहुन्थ्यो, हामी दुवैसँग आमाले एकैचोटि रिसाउनुपर्ने त कुनै कारण बन्न सक्दैनथ्यो । छोरासँग वा छोरीसँग, कोसँग रिसाउनुपर्ने हो भन्ने कुरा त त्यस मानव जातिको लिङ्ग निर्धारणमा भर पर्ने कुरा थियो जुन हुन सकिरहेको थिएन । 

बहिनी छोरी जात भएकाले पनि आमाका निम्ति त्यो प्लम्बर पुरुष नै देखिन थालेको थियो भन्ने अनुमान आमाको व्यग्र अनुहार हेरेर गर्न सकिन्छ । त्यस प्लम्बरको छातीको उचाइ स्त्रीत्वका कारणले नभएर जिम गरिरहेको केटो हुनाले पनि हुन सक्छ । चुल्ठो केटीहरूको भन्दा केटाको नै त्यस्तो गुजिल्टो हुने गर्छ । दाह्रीजुँगा त कतिपय जातिका हुँदैनन् र केही भएका यसले सेब गरेको पनि हुन सक्छ । स्वर यसको केटीहरूको जस्तो त पटक्कै छैन । यसले जुन खालको मुन्द्रा लगाइरहेको छ त्यस्तो प्रायः केटाहरूले नै लगाउँछन् र सबभन्दा महìवपूर्ण कुरा यो प्लम्बर हो र यस्तो काम संसारको जुनसकै ठाउँमा पनि प्रायः केटाले नै गर्छन् । त्यसैले यसको नजिकमा टाँसिएर बस्ने काम बहिनीले नगरेकै भए आमाका निम्ति सहज हुन्थ्यो भन्ने कुरा अनुमान गर्न सकिन्छ तर एक्ज्याक्ट्ली आमाले के सोच्नुभएको थियो । कुन भाषामा सोच्नुभएको थियो भन्ने कुरा त मलाई थाहा छैन ।

“के बुझ्यौ त, लेखकको मृत्यु ?” आमाले आफ्नो मनको आव्रmोश, उद्वेग र तज्जन्य अशान्तिको क्षतिपूर्ति माग गर्दै यो अप्ठ्यारो प्रश्न सोध्नुभयो त्यस मनुवालाई । मलाई त्यस्तो लाग्यो ।

“म्याडम, मैले लगभग चार घन्टा काम गरेर पाइप फिट गरिदिएँ,” उसले भन्यो, “तपाईंको घरमा पानी आयो, त्यसमा प्रयोग भएका क्याप, एल्बो, पाइप, टी, सकेट, युनियन आदि सबै जे जसरी जोडिनुपर्ने हो त्यसरी जोडिएकै छन्, जसले जोडे पनि त्यसरी नै जोड्नु पर्छ, अब जे काम गर्छन् तिनैले गर्छन्, तपाईंले हाम्रो अफिसमा फोन गर्दा म मान्छे चाहिएर गर्नुभएको होइन, काम चाहिएर फोन गर्नुभयो, म माध्यम बनेँ, तपाईंको माग प्लम्बिङ हो, म अर्थात् प्लम्बर होइन, अब तपाईंको पानीको सिस्टम छ, प्रणाली छ, पर्याप्त छ, म आवश्यक छैन, मानिलिनुस्, जसरी एक सय वर्षअघि यो घर बनाउँदा कुनै प्लम्बरले काम गरेको थियो, ऊ मरेर गयो तर काम त भइरहेकै थियो, त्यसै गरी तपाईंले काम पाउनुभयो आज मबाट, काम सकियो, यो सिस्टम रहन्छ काम गर्छ आफैँ, म चाहिन्नँ, यो काम गर्दा मैले के सोचेर गरेँ त्यो पनि चाहिन्नँ, मानिलिनुस्, म मरेँ, केही फरक पर्दैन, हो लेखकको मृत्युलाई मैले यसरी नै बुझेँ ।”

त्यो मान्छे बिस्तारै प्लम्बरबाट दार्शनिक बनेको देखियो । त्यसले भन्यो, “यो ब्रह्माण्डको आफ्नै प्रणाली छ, कर्ता किन चाहियो ?”

आमा पनि यस मान्छेको समझदारी र सन्त प्रकृतिबाट सायद परास्त हुँदै हुनुहुन्थ्यो । उहाँले सोध्नुभयो, “तिमी नआएको भए यो काम यसरी  हुन्थ्यो त ?”

“मैले भनेँ नि म्याडम, विकल्प त त्यसपछि पनि बग्रेल्ती हुन्छन्, पानी पश्चिमको सट्टा पूर्वबाट ल्याउन सक्छ कसैले, धाराहरू फरक ठाउँमा राख्न सक्छ, पाइप फरक ब्रान्डको ल्याउन सक्छ,” त्यसले आमालाई सिधै हेरेर भन्यो, “फेरि भन्छु, प्लम्बिङमा पनि सबै कुराको आफ्नो प्रणाली छ, विकल्प पनि प्रणालीभित्रै छन्, म नभए त्यसमा अर्को जोडिन्छ । तपाईंको यो घरमा धेरै प्रणाली छन्– प्लम्बिङ, हिटिङ, भेन्टिलेसन, झ्याल, ढोका, आदि सबै प्रणाली । यिनको महìव कसले जोडे होला भन्ने कुरामा निर्भर गर्दैन, यिनको आफ्नै कार्यपद्धति र महìव छ– तपाईंलाई चाहिने पनि काम हो, कर्ता होइन, जोड्नेहरूले जोडे, गए, मरे वा मरेनन् तर मरेतुल्य त भए, तिनीहरू जीवित रहिरहनु वा मर्नुले तपाईं उपभोक्ताको जीवनमा केही फरक पर्दैन, पर्छ ? कुनै पनि एउटाले सुरु गरेको प्रणालीभित्र अर्को आएर पनि काम गर्न सक्छ– काम महìवपूर्ण हुन्छ, कर्ता हुँदैन । यही बुझेको छ म्याडम मैले । अथर इज डेड– लेखकको मृत्यु ।”

आमा एउटी प्रतिष्ठित प्राध्यापकको सामु एउटा कलिलो मान्छेको प्राज्ञिक वक्तव्यले आमालाई उत्तेजित तुल्याइरहेको छ भन्ने मलाई लाग्यो ।

“तिमी केटा हो कि केटी ?” आमाले अन्तिम र निर्मम प्रहार गर्नुभयो त्यसको थाप्लामाथि ।

तर, ऊ त हाँस्यो, एकछिन चुप रह्यो र एकछिनपछि भन्यो, “म प्लम्बर हो, तपाईंलाई प्लम्बर चाहिएको थियो, प्लम्बर मात्र, म आएँ, चाहिने कुरा यत्ति थियो, नचाहिने कुरामा किन टाउको दुखाउनुहुन्छ ? सबै कुरामा लिङ्ग आवश्यक पनि त छैन, एक सय वर्षअघि तपाईंको घर बनाउने मान्छे स्त्रीलिङ्गी वा पुलिङ्गी के थियो ? तर मान्छे नै थियो, तपाईंलाई काम चाहिएको थियो, मैले दिएको कामको कुनै लिङ्ग छैन, उसै पनि स्त्री वा पुरुष दुवैको उत्पत्ति बाबुआमाबाटै अनि दुरुस्त एउटै प्रविधिबाट हुने हुनाले स्त्री वा पुरुष दुवैमा दुवै तìव हुन्छन् नै । पुरुष मात्र र स्त्री मात्र त को हुन्छ र !”

ऊ बाहिर निस्कन खुट्टामा जुत्ता उनिरहेको थियो ।

उसलाई बाहिर पठाएर गेट बन्द गर्न जाँदै गर्दा उसले अलिकति हाँसेर मसँग भन्यो, “अनावश्यक ठाउँमा लिङ्ग सोध्नु पनि त लिङ्गभेदी कुरा जस्तो हुन्छ नि ।”