बोमलाल गिरी
नवलपुर, फागुन ९ गते । राधा क्यान्सर सचेतना फाउन्डेसनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । नवलपुरको कावासोती नगरपालिका–२ मा शनिबार आयोजित विशेष कार्यक्रममा उहाँलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि परिवार कल्याण महाशाखा, खोप शाखाका प्रमुख डा। अभियान गौतमले पुरस्कार वितरण गर्दै पछिल्लो समय नेपाल मात्र नभई विश्वमै क्यान्सरजस्ता नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो । उहाँले नसर्ने रोगका कारण मृत्यु दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै दैनिक करिब १० जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
समयमै पहिचान गरी उपचार गर्न सके क्यान्सर पूर्ण रूपमा निको हुन सक्ने भएकाले प्रारम्भिक जाँच र सचेतनामा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
पुरस्कार ग्रहण गर्दै पत्रकार ढुङ्गेलले उक्त सम्मानले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सरजस्ता नसर्ने रोगका विषयमा कलम चलाउन थप प्रेरणा मिलेको बताउनुभयो ।
वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गते स्तन क्यान्सरका कारण निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा पत्रकारिता गर्दै आउनुभएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग संघर्ष गर्नुपरेको उहाँका बुबा शुभराज शर्मा बस्यालले बताउनुभयो ।
आफूलाई क्यान्सर भएको थाहा पाएपछि राधाले महिला हिंसा र स्तन क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले राधा क्यान्सर सचेतना फाउन्डेसन स्थापना गरी गाउँ–गाउँमा तथा रेडियो मध्यविन्दु एफएममार्फत अभियान सञ्चालन गर्नुभएको थियो । उहाँको निधनपछि फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिँदै आउनुभएको छ ।