• ९ फागुन २०८२, शनिबार

टीकापुर नगरपालिकाको कार्यवाहक प्रमुखमा नगार्जी चयन

blog

टीकापुर नगरपालिकाका कार्यवहाक प्रमुख रनाबहादुर नगार्जी ।

एकिन्द्र तिमिल्सेना
टीकापुर, फागुन ९ गते ।
टीकापुर नगरपालिकाको कार्यवाहक नगरप्रमुखमा रामलाल नगार्जी चयन हुनभएको छ । शनिबार बसेको कार्यपालिका बैठकका बहुमत सदस्यले नगार्जीलाई कार्यवाहक प्रमुख चयन गरेको हो ।

नगर प्रमुख रामलाल डगौरा थारु पदबाट राजीनामा दिई नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार भएपछि नगर प्रमुखको पद रिक्त भएको छ । २०७९ को निर्वाचनमा उपप्रमुख निर्वाचित खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटालामा संलग्न भनी अख्तियारले मुद्दा चलाइपछि निलम्वनमा हुनुहुन्छ । नगरप्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि कार्यपालिका सदस्यहरुको निवेदनका आधारमा कार्यपालिका बैठक बोलाइएको र बैठकले कार्यवहाक नगरप्रमुख चयन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी  दिनुभयो ।

नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य निर्वाचित हुनुभएका नगार्जीलाई कार्यपालिकाको ज्येष्ठ सदस्यका आधारमा कार्यवहाक प्रमुख चयन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११७ अनुसार नगार्जी चयन हुनु भएको नगरपालिका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

टीकापुर नगर कार्यपालिकामा रहेका १७ सदस्य मध्ये नौ जना सदस्यले नगार्जीलाई साथ दिएका छन् । यसमा पाँचजना नेपाली कांग्रेस दुई जना नागरिक उन्मुक्ति पार्टी एकजना तत्कालीन नेकपा माओवादी केन्द्र र एकजना एमालेका सदस्यले साथ दिएका छन् ।

सदस्य निर्वाचित हुँदा दुईजना नागरिक उन्मुक्ति पार्टी र एकजना माओवादी केन्द्रका सदस्य भएपनि कार्यवहाक नगर प्रमुख चयन गर्दा उनीहरूले नेपाली कांग्रेसलाई साथ दिएका छन् । तत्कालीन नागरिक उन्मुक्ति पार्टी र केन्द्र अहिले नेपाली कम्युनिष्ट पार्टी भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका कार्यपालिका सदस्यहरु भने बैठकमा उपस्थित हुनुभएको छैन् । ‘‘चुनावमा होमिएका बेला निर्णय गर्न नहुने थियो,’’ वडा नम्बर ४ का वडाध्यक्ष लालबीर चौधरीले भन्नुभयो, ‘‘प्रपञ्च रचेर हाम्रै साथीहरुले पनि साथ दिएर बहुमत पुर्‍याए छन् ।’’ चौधरीले बहुमत सदस्यले निर्णय गरेर लादेको प्रतिक्रिया दिनुभयो ।