• १० फागुन २०८२, आइतबार

मातृभाषा संरक्षण अभ्यास : जनचेतना अभिवृद्धिदेखि अध्यापनसम्म

blog

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लगायत । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन ९ गते । नेपालका आदिवासी जनजाति समुदायको मतृभाषा संरक्षण प्रयासमा सामान्य जनचेतना अभिवृद्धिदेखि विश्वविद्यालयसम्म अध्ययन, अध्यापनको अभ्यास भएको सरोकारवालाले बताएका छन् । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२६ को अवसरमा शनिबार नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित ‘मातृभाषा संरक्षणमा समुदायबाट भएका असल अभ्यासहरुको प्रस्तुती’ विषयक कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपालीले नेपालमा एक सय २४ भाषाभाषी रहेको भन्दै यसको संरक्षणका लागि शब्दकोश निर्माण, शैक्षिक व्याकारण लेखन लगायतका विभिन्न काम भएको जानकारी दिनुभयो । मातृभाषा संरक्षणका लागि थप पहल आवश्यक रहेको उहाँको भनाइ छ ।

याङ्छेन भोटेका अनुसार हालसम्म भोटे भाषाको कुनै पनि लिखित दस्तावेज निर्माण तथा सामग्री प्रकाशन भएको छैन । भाषा संरक्षणका लागि मौखिक रुपमा गीतसंगीतको माध्यमबाट र जनचेतनाको अभिवृद्धिमार्फत पहल हुँदै आएको उहाँको भनाइ छ । 

युनेस्कोमा आदिवासी विज्ञ एवम् कार्यक्रम अधिकृतका रुपमा कार्यरत वर्षा लेखीले सन् २०२२ देखि २०३२ लाई आदिवासी भाषा दशक घोषणा गरिएको तर दस्तावेजहरु कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । 

उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम लागु गर्न नेपाल सरकारको समर्थन प्राप्त गरेको हुनुपर्ने र यसका लागि आदिवासी सम्बद्ध सङ्घ, संस्था र सरोकारवालाले सरकारको ध्यानाकर्षण गराउन आवश्यक छ । 

डा. तारामणि राईले मातृभाषा जीवित राख्न यसलाई विद्यालय शिक्षामा जोड्न सक्नुपर्ने बताउनुभयो । 

दिपक तुलाधरका अनुसार नेवा भाषामा विद्यालय तहदेखि पिएचडी स्तरसम्म अध्ययन, अध्यापन हुँदै आएको छ । काठमाडौं महानगरपालिका स्थानीय तहमा कक्षा एकदेखि आठसम्म नेवा भाषामा शैक्षिक सामग्री अध्ययन, अध्यापन हुँदै आएको उहाँको भनाइ छ ।

प्रेम याक्तेनका अनुसार लिम्बु भाषामा कक्षा एकदेखि १० सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक सामग्री तयार गर्ने क्रममा रहेको छ । 

थारू कल्याणकारी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले थारु भाषा संरक्षणका लागि स्थानीय तहमा पत्रपत्रिका, व्याकरण, साहित्य प्रकाशन लगायतका कार्य भएको बताउनुभयो । 

कार्यक्रममा माझी, सुनुवार, थामी, तामाङ, दुरा, नेवार, ह्योल्मो, राई, लिम्बु, मगर, थारू, भोटे लगायतका भाषा संरक्षणमा भएका अभ्यासका बारेमा प्रस्तुत भएको थियो । 

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष जगत बराम भाषा आयोगका कामु सचिव लोक बहादुर लोप्चन लगायत जातीय संस्थाका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो ।