• ११ मंसिर २०८२, बिहिबार

रुख र म (निबन्ध)

blog

म सपनाको संसारमा भुलेर हावामा तैरिरहेछु । यसैमा अपार आनन्दको अनुभूति गरिरहेछु । यत्तिकैमा मलाई एक्कासि एउटा तर्कना आउँछ । तर्कना त्यतिखेर आउँछ, जतिखेर मेरा आँखा सामुन्ने मध्याह्नको टन्टलापुर घाममा एउटा विशाल वृक्ष मतिर हेरे जस्तै गरी सुस्ताइरहेको हुन्छ । मलाई पर्खे जस्तै गरी नियालिरहेको हुन्छ । उसले हेर्न त कता हेरिरहेछ ? मलाई यकिन छैन तर मेरो बुझाइमा उसले मलाई नै हेरिरहेछ । 

उसले मलाई सोधे जस्तो लाग्छ– कता हिँडेको छस् यस्तो टन्टलापुर घाममा ? आइज, मेरा काखमा बस् एकछिन । म आपूmले दुःख सहेर पनि अरूलाई क्षणभरकै लागि भए पनि सकेको सुख दिन्छु । केही आराम दिन्छु । केही राहत दिन्छु । आइज, बस् एकछिन । आफ्नो व्यक्तिगत कामकारबाही र दौडाइलाई केही क्षण रोकेर शरीरका लागि पनि केही आराम दिन सिक् । आइज, मेरा काखमा बस् । शरीर स्वस्थ राख्न आवश्यकतानुसार केही आराम पनि चाहिन्छ । मानिसका लागि स्वास्थ्य ठुलो हो, कामभन्दा पनि । बुझिस् ?

म सोच्छु, अहो ! बिनाचिनजानको बटुवालाई पनि यतिविधि पे्रमपूर्ण हार्दिकता ? मैले अनौठो अनुभूति गरेँ र सोच्न थालेँ । यो कस्तो रुख हो ? कारण खोज्नतिर म लाग्दिनँ । ‘किन ?’ को उत्तर खोज्नतिर पनि म लाग्दिनँ । बरु यसको बदलामा, सर्वप्रथम मैले उसको यस पे्रमपूर्ण हार्दिकताप्रति उसलाई साधुवाद भन्छु, मनमनै । ऊ सकिनसकी टाउको हल्लाउँछ । उसको टाउको हल्लाइ मेरो साधुवादप्रतिको स्वीकारोक्ति हो, वा हावाको झोँक्काको परिणाम, म बुझिरहेको छैन । तैपनि कसैसँग सोध्ने अवस्था छैन । न त्यहाँ रुख र मबिच भाषा सहजकर्ता अनुवादक नै कोही छन्, न के ? तर सकारात्मक रूपमा हेर्दा उसको टाउको हल्लाइ मेरो साधुवादप्रतिको प्रत्युत्तर नै हो भन्ने सुखद अनुभूति म गरिरहेछु ।

उसको आग्रहलाई स्वीकार गर्दै म बिनाबोलचाल र दोहोरो कुराकानीबिना नै उसको पाउ छोएर उसैका काखमा लुटपुटिन्छु एकछिन । पसिनाको छाँगो केही मत्थर हुन्छ । थोपा थोपामा खुम्चिन्छ । थकाइमा केही अल्पविराम लाग्छ । शीतलताको प्राप्ति र थकाइमा केही राहत अनुभव गरेपछि मेरा मनमा एक किसिमको छुट्टै सोच पलाउँछ । मेरो सोचले मलाई सोध्दै छ– तँ र यस रुखमा केही भिन्नता छ ? वा, कुनै समानता ? 

मलाई मेरो मनको आग्रह नौलो लाग्छ । रमाइलो लाग्छ । उसको आग्रहलाई स्वीकार गर्दै म सोचमग्न हुन्छु । चारैतिर कताकता ? टाढा टाढासम्म आँखा नियाल्छु । मुन्टो ठड्याएर रुखको माथिल्लो भागतिर चियाउँछु । वैशाख महिना । समय दिनको १२ बजेको छ । वसन्तकालीन पूर्ण यौवनावस्थाको दिन । बोलीचालीको भाषामा दिनको मध्याह्न । सुनसान छ वातावरण । हावाको हल्का सुसाइबाहेक त्यत्तिकै सुनसान छ वरपरको परिवेश पनि । 

मेरो मनले मलाई किन यसो भन्दै छ ? विभिन्न तर्कना गर्छु । सडकछेउमा उभिइरहेको त्यो रुख र मेरा विविध गतिविधिको विश्लेषण गर्छु । मैले शरण लिइरहेको रुखबाट फुत्त एउटा पात झर्छ, मेरै अगाडि । त्यो त्यसै रुखको पात । अर्काे पात खस्छ । फेरि अर्को पात खस्छ । म बस्दाबस्दै थुप्रै पात खसिसके । पात खसाइमा रुखको बिलौना केही छ कि ? भन्दै फेरि पनि चियाउँछु, रुखको माथिल्लो भागतिर । कुनै बिलौना छैन उसको । कुनै गुनासो छैन । न कुनै चिन्ता र निराशाको भाव नै देखिन्छ उसमा । तैपनि म अबुझका मनमा अनेकौँ कुतूहल जारी छ । 

मेरो कुतूहल बुझेर उसले मलाई भन्दै गरे भैmँ लाग्छ– मेरो अङ्गको पात खसेकोमा तैँले अनौठो 

मानिस् ? त्यस्तो अनौठो नमान् । यो स्वाभाविक हो । सृष्टिको नियम हो । सृष्टिको चव्रm हो । यसमा आत्तिनुपर्ने र अनौठो मान्नुपर्ने कुनै कारण छैन । तँ मभन्दा धेरै केटाकेटी छस् । तँ मभन्दा धेरै आलोकाँचो छस् । अनुभवको सँगालो छैन तँमा । त्यही भएर कुनै परिपक्वता छैन तँमा । त्यसैले तँलाई मेरा अङ्गबाट यी पात झर्ने काम अनौठो लागिरहेछ । हो कि होइन ?

उसको जिज्ञासाले म अचम्ममा परेँ । किनकि म उसले भने जस्तै सोचिरहेथेँ । अनि मलाई लाग्यो– मेरो मनको भाव यसले कसरी बुझ्यो ? कस्तो अचम्मको रुख हो यो ? फेरि पनि अनौठो लाग्छ मलाई । कसरी बुझ्यो ? यसले मेरो मनको कुरा । कसरी थाहा पायो ? यसले मेरो अन्तरहृदय । कहाँ कुन कुनाको यो ? कहाँ कुन कुनाको म ? नितान्त अपरिचित एक आपसमा । तैपनि मेरो अन्तरदिल पहिल्याउन सक्ने हैसियत ! मानेँ, मैले यस रुखको क्षमता र सदाशयतालाई ।

चराहरूको समावेशी स्वर गुञ्जिँदै छ, रुखको माथिल्लो भागतिर । नियाल्छु, चराहरूको बैठक रहेछ । विषयवस्तु के छ ? थाहा छैन । प्रायः हाँगैपिच्छे चरा । कतै कुन ? कतै कुन ? चराको मिश्रित स्वर । अनौठो लाग्छ मलाई । गीतमा सङ्गीत भरे जस्तो । अनुपम सम्मिश्रण । एकछिन आनन्द लिन्छु, त्यसैमा । त्यसै त्यसै लोलाए भैmँ हुन्छु । चरासँग भाषा र बोली मिल्ने भए म पनि उनीहरूका बैठकमा भाग लिन्थेँ । कुराकानीमा साथ दिन्थेँ तर त्यो क्षमता मसँग छैन । रुखकै संरक्षणमा रमाइरहेका ती चराले पनि एक्लै बसिरहेको मतिर चियाएर सायद यस्तै अभिमत जाहेर गरिरहेका होलान् । यस्तै सोचिरहेका होलान् । यदि यस्तो नसोचेको भए यिनले उनीहरूको बैठकको चियोचर्चो गर्न आएको कुनै गुप्तचर संस्थाको सदस्य सम्झिरहेका होलान् मलाई । यदि यसो पनि होइन भने यो मेरो नितान्त भ्रम र सङ्कीर्ण सोचको उपज पनि हुन सक्छ । जे होस्, त्यो मेरो अनुमान । मोटामोटी आकलन । यो, वा त्यो, यथार्थ जे पनि हुन सक्छ । 

मैले क्षणभरका लागि आश्रम लिइरहेको यो वृक्ष विशाल छ । उसका छायाले विशाल भूभाग ओगटेको छ । मभन्दा अलिक पर एक जोडी गाईका माउ बाच्छा अघिदेखि नै यहीँ उभिएर आनन्दले उग्राइरहेका छन् । प्रचण्ड गर्मीका रापबाट केही राहतको अनुभूति तिनले गरिरहेका देखिन्छन् । यस्तो अनुभूति यस रुखमा रहेका बसेका तर मेरो दृष्टिमा नपरेका अन्य कतिपय जीवले पनि गरिरहेका होलान् । किनकि यो रुख सृष्टिको साझा सम्पत्ति हो । 

म यतिखेर कविशिरोमणि लेखनाथ पौड्यालले 

उनको ख्यातिप्राप्त नव्यकाव्य तरुण–तपसीमा उल्लेख गरेभैmँ यस रुखलाई एउटा अविचलित तपस्वी सम्झिरहेछु । सबैलाई आश्रय, सबैलाई समान व्यवहार, सृष्टिका सबैलाई प्रचण्ड गर्मीबाट बचाउने एउटा श्रद्धेय शालीन सहारा । कसैप्रति कुनै पक्षपात छैन । विभेद छैन । कति महान् छ रुख ? कति उदार छ रुख ? कति ठुलो छ ? यसको योगदान । उसको योगदानको वर्णन जति गरे पनि सकिन्नँ । सायद, ऊ यसमा गर्व पनि गर्छ होला ? 

म फेरि आफ्नै मनतिर फर्किन्छु । यतिखेरको यस गर्मीको रापमा यहाँ बसेर यहाँका सबै गतिविधि नियालिरहँदा मलाई कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचना गरिएको त्यही तरुण–तपसीका केही काव्यांशको याद आउँछ –

कडा राँको जस्ता रवि–किरणको ताप फिँजिँदा

कठै ! बाटो–घाटो रिपु–मुलुक भैmँ दुर्गम हुँदा ।

उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति

थियो बेग्ला–बेग्लै सकल तिनको अद्भुत गति ।।

जटाका लट्टामा चपल चिडियाको चहचह

उता त्यो चौकीमा विविध बटुवाको तह–बह ।

दगुर्थे लोखर्के–प्रभृत्ति बिचरा बिचबिचमा

थियो मानू मेला मधुर उस बेला नगिचमा ।।

म अभैm रुखको फेदमा कल्पनामै डुबिरहेछु । म र रुख दुवै उस्तै उस्तै । म चलायमान रुख, ऊ थिर रुख । दुवै रुख । जीवनकालमा आएका अनेकौँ समस्यालाई उसले पनि बेहोर्नु पर्छ, मैले पनि बेहोर्नु पर्छ । हावापानी, राप, ताप, उसले पनि सहनु पर्छ, मैले पनि सहनु पर्छ । दृश्य वा अदृश्य रूपमा उसलाई पनि बाँच्नका लागि खाना चाहिन्छ, मलाई पनि चाहिन्छ । सूर्यले उसलाई जसरी पोल्छ, मलाई पनि उसै गरी पोल्छ । पोल्दापोल्दै पनि सूर्य दुवैका मित्र । किनकि सूर्य नभई ऊ पनि फस्टाउन सक्दैन, म पनि फस्टाउन सक्दिनँ । त्यसैले कहिलेकाहीँ ऊ पनि सूर्यको नजिक हुन्छ, म पनि हुन्छु । हामी दुवै कहिले टाढिन्छौँ, कहिले नजिकिन्छौँ सूर्यसँग । पानीले हामी दुवैलाई भिजाउँछ, हामी दुवै भिज्छौँ । उसका शत्रु मानिस, मेरा शत्रु पनि मानिस । खोज्दै जाने हो भने रुख र ममा यस्ता समानता कति छन् कति ? गनीसाध्य छैन ।

तर, म र रुख उस्तै उस्तै होइनौँ । फेरि अर्को कल्पना गर्छु । ऊ जति महान् छ, म छैन । ऊ स्थिर छ, म अस्थिर छु । ऊ बसेकै ठाउँबाट अरूलाई स्वागत गर्छ, म उसले स्वागत गरेका ठाउँमा दौडेर, हिँडेर वा घसे्रर जसरी पनि जान सक्छु । म उसलाई अँगालो हाल्न सक्छु, ऊ मलाई मैले जसरी अँगालो हाल्न सक्दैन । ऊ रातदिन एकै ठाउँमा उभिइरहन सक्छ, म सक्दिनँ । उसले जे अगाडि आउँछ त्यो खान्छ, म यो र त्यो भन्दै पुगेसम्म रोजीछाडी गरेर खान्छु । सास लिने प्रव्रिmया पनि उसको र मेरो फरक छ । म खुलेर उसको प्रशंसा गर्न सक्छु, ऊ त्यसो गर्न सक्दैन । ऊ आपूmलाई काटे पनि कराउन सक्दैन, चुपचाप सहन्छ तर म अरू केही गर्न नसके पनि कराउनसम्म सक्छु, आपूmप्रतिको अरूको अर्घेल्याइँमा । 

म र रुख फरक फरक हौँ । ऊ कहिल्यै स्वार्थका पछि लाग्दैन, म हरदम स्वार्थका पछि दौडिरहेको हुन्छु । स्वार्थ मेरो पहिलो पहिचान, निःस्वार्थता उसको पहिलो विशेषता । म, अर्थात् मानिस । म मात्र होइन, मेरो स्वरूपका सबै मानिस स्वार्थी । कपटी । भेउ पाइनसक्नाका । स्वार्थ र कपटको स्वरूप नितान्त फरक । म विशाल दरबार सिर्जना गरेर त्यसमा लेट्न चाहन्छु, सकेको मोजमस्ती गर्न चाहन्छु, अकुत सम्पत्ति आर्जन गर्न चाहन्छु तर सार्वजनिक ठाउँमा उभिएको ऊ आफ्नू फेदमा मात्र नभएर प्रत्येक हाँगामा बिनासर्त अरूलाई बास दिन्छ । ससम्मान आश्रय दिन्छ । ऊ अरूका लागि समर्पित भएको प्रस्टै देखिन्छ, म कदापि त्यसो गर्न सक्दिनँ । म, अर्थात् मानिस । यदि कुनै न कुनै कुरामा म समर्पित भइहालेँ भने पनि म आफ्नै लागि समर्पित हुन्छु, अरूका लागि होइन । ऊ रुख, रुखमै आफ्नो पहिचान दिइरहन्छ, बनाइरहन्छ, यताउति गर्दैन तर म कहिलेकाहीँ मान्छेभन्दा अलिक फरक हुन्छु र अवसर हेरेर यताउति गरिरहन्छु । अनेकौँ लोभलालचमा फसिरहन्छु । स्थिरता छैन ममा । ऊ सत्यको प्रतीक हो, र सदैव सत्यकै वकालत गर्छ तर म असत्यको प्रतीक हुँ र हरदम असत्यकै वकालत गरिरहन्छु । आफ्नो स्वार्थका लागि झुटको खेती गरिरहन्छु । र त हामी दुई फरक फरक हौँ । फरक फरक छौँ ।

म फेरि पनि कल्पनामा डुबिरहन्छु । कल्पनालाई निरन्तरता दिइरहन्छु, र फेरि सोच्न थाल्छु ।

रुख समानताको प्रतीक हो, म असमानताको । रुख शिष्टताको प्रतिमूर्ति हो, म अशिष्टताको । रुख धैर्यको स्तम्भ हो, म अधैर्यको । म अर्थात् मानिस । म कदापि रुख जस्तो छैन र चाहेर रुख जस्तो हुन पनि सक्दिनँ । रुख आपूm मरेर पनि अरूको उपयोगमा आउँछ, म खरानी भएर उड्छु । र अचम्मको कुरो मलाई खरानी बनाउन त्यही रुखले सघाउँछ । रुखको यो सहयोग मेरो हितमा हुन्छ, विरुद्धमा हुन्न । सकारात्मक रूपमा म त्यही ठान्छु । किनकि रुखले यति सहयोग नगर्ने हो भने जीवितावस्थाको त कुरै छाडौँ, मृत्युपछि पनि मैले दुर्गन्धित भएर समाजलाई सताइरहन बाध्य हुनु पर्छ । 

म सोच्छु, कतिपय समानता देखिए पनि रुख र मेरो कहिल्यै तुलना हुन सक्दैन । रुख कहिले आपूm चन्दन बनेर अरूमा सुगन्ध छर्छ र प्राकृतिक मिठास पस्किन्छ । कहिले पूmल दिन्छ, कहिले फल । कहिले दाउरा दिन्छ, कहिले पात पतिङ्गर । कहिले पलङ बनेर मानव सेवामा उत्रिन्छ, कहिले घरका झ्यालढोका । कहिले घाँस बनेर पशुसेवामा आफूलाई समर्पित गर्छ, कहिले लौरो बनेर वृद्धवृद्धाको सहयोगी बन्छ । ऊ कहिले औषधी बनेर मान्छेलाई बचाउँछ, कहिले अन्यायका विरुद्ध विष बनेर ढलाउँछ पनि । जीवितावस्थामा पनि ऊ घाम, पानी र अन्य कठिनावस्थाबाट कतिलाई जोगाउँछ, जोगाउँछ । उसका यस्ता गुन वर्णन गरिसाध्य छैन । 

रुख कुनै हालतमा मानिस हुन चाहन्न, किनकि उसमा एउटा स्वत्व छ । सद्गुण छ, आफ्नोपन छ । रुखको चरित्र देखेर डाहा लाग्छ मलाई । त्यसैले म सडकछेउ, पाखा पखेरा, एकान्त जङ्गल र जस्तोसुकै पहरोमा एक्लै ठडिएर बेलाबखत असिना पानी, हावाहुरी र प्रचण्ड घामको प्रताडना सहनु परे पनि रुख हुन चाहन्छु । किनकि रुख म अर्थात् मानिसभन्दा मात्र होइन, संसारका अरू कतिपय सिर्जनाभन्दा पनि कति महान्् छ, कति ? जो अवर्णनीय छ, वर्णन गरेर कहिल्यै सकिन्न ।