• ८ मंसिर २०८१, शनिबार

ओइलाएको गुलाफ

blog

शरद्को शीतल बिहान । छ किलो फलामझैँ गह्रौँ मन बोकेर उठेँ म । तलतिर त्रिवेणी बगिरहेछ । ढुङ्गाका कापकाप फोडेर बगेको नदीको कलकल सुसेली मलाई नमीठो लागिरहेछ । मानौँ, आफ्नै मुटुका कापकाप फोड्दै निस्केको आफ्नै बिरही बिलौना हो त्यो सुसाहट ।

शरीर चिसोचिसो भएको छ । मन झन् चिसिएको छ । फाँटैभरि लहलह फलेको धानका पातहरूमा शीतका चिसा थोपा टल्किएका छन् । मलाई आफ्नै जिन्दगी धानको पातको तिखो टुप्पामा अड्किएको शीतको थोपोजस्तो लाग्दैछ ।

रातभरि चिसिएको पेटले छ्वाल्छ्वाल्ती अमिलो पानी ओकल्यो । मानौँ त्यसले एउटा विद्रोह ओकल्यो । शरीरको हालतले भनिरहेछ– ज्वरो आएको छ । गिलासमा तातो पानी छ । र, छन् चार प्रकारका ट्याबलेट । उफ् ! कति निल्नु यी जिन्दगीका शिलाजस्ता ट्याब्लेट पनि !

हिजोको फुर्तिलो साँझ कहाँ हरायो ? जुन साँझमा म उनको घरभित्र छिरेको थिएँ उत्साह बोकेर । आँखाभरि फिल्मझैँ सपना नचाउँदै । मुटुभरि ढुकढुकीको सङ्गीत बजाउँदै । यस बिहानमा उभिएर म त्यही साँझले निम्त्याएको रातका घटनाहरूतिर स्मृति दौडाइरहेछु ।

उनले मलाई पथिकका रूपमा स्वागत गरिन् या प्रेमीको रूपमा ? अथवा इष्टमित्र पाहुनाको रूपमा ? जे होस् मैले उनको मुस्कानी स्वागत पाएथेँ । मायाको थालमा पस्केर दिएको प्रेमको रोटी र विश्वासको साग मीठो स्वाद लिई खाएथेँ ।

खाँदै गर्दा सोचिरहेथेँ, आज यहाँ धेरै कुरा हुनेछन् । मनहरू छताछुल्ल पोखिनेछन् । प्रेमका प्याला उम्लिएर डगमग हुनेछन् । जे हुनेछ, चमत्कार हुनेछ, नौलो तरिकाले हुनेछ । जिन्दगीका सुवास र आनन्द आजैका दिनदेखि प्रस्फुटित हुनेछन् । निराशाका गन्धेझारहरू आशाको घामले ओइलाएर झर्नेछन् । म भित्रभित्रै रोमान्चित बनिरहेथेँ ।

मेरो मन एकाएक सेलायो । उनले मसँगै खाना खाइनन्, एक कुरा । अर्को कुरा, उनी खाना खाइसकेर मझेरीतिर पो लागिन् । मेरा लागि बुँइगलमा परालको ओछ्यान लाइदिएर उनी तल ओर्लिइन् । मलाई सुतौँ कि नसुतौँ भयो । ओछ्यानभरि अपमानका कीराहरू सल्बलाइरहेझैँ लाग्यो । मनभरि हजार कुराका पन्तुरा बोकेर आएथेँ । ती सौगातजस्ता पन्तुरा उनकै आँचलमा खोल्ने रहर थियो । आँखा चिम्लेर एकछिन् पल्टिएँ । मन छटपटाइरह्यो ।

रातभरि उनीसँग कुरा गर्न चाहन्थेँ । सोचेको थिएँ, मैनबत्तीझैँ उँघेर पनि एक रात त जागै बिताउन सकिहालिन्छ । लुसुक्क उनको ओछ्यानछेउमा गएर बसेँ । उनी निदाएझैँ लागिन् तर होइन रहेछ । उनलाई झकझकाउँदै मनका पन्तुराहरू खोल्न थालेँ । उनले त पिलो परेको मनलाई झन् गाँठो पारेर पो बस्न चाहिन् । सोधेका कुराको जवाफै नदिने मुडमा रहिन् । मैले घुर्की लगाएँ, “ठीक छ, तिमी आफ्नै मनको राजासँग कुरा गर्नू ! म आज कसरी झुक्किएर आएछु यहाँ । जे गर्नु छ गर, म अहिल्यै हिँड्छु ।”

सुइरोरूपी वचनले उनको मनको पिलोमा घोचेछ क्यारे ! आँखाबाट आँसुको भेल खसाउँदै मेरो काखमा घोप्टो परिन् । अनि पीडाका पिलाहरू फुटाउन थालिन् ।

–“मनले त केके न सोचेकी हुन्छु । आफूले पनि पढे–लेखेर असल मान्छे बन्न सके हुन्थ्यो, केही राम्रो काम गर्न सके हुन्थ्यो भन्ने लाग्छ । राम्रो गर्ने, राम्रो बन्ने रहर कसलाई हँुदैन होला र ? तर चेलीको जिन्दगी जन्मैदेखि संस्कारको साङ्लोमा जेलिएको हुने रहेछ । असाक्षर बाआमाले मेरो मनको भावना बुझ्नुभएन । दाइले त विदेशबाटै भनेका थिए– तिम्रो इच्छाले जहाँ पढे पनि पढ, खर्च म दिइरहन्छु । म पनि हजुरजस्तै शहर गएर राम्ररी पढ्न चाहन्थेँ, धेरै कुरा सिकेर गाउँमा फर्कन चाहन्थेँ... ।”

सोचमग्न भएँ । सुकुमारीको कोमल मनका भावना, आकाङ्क्षा र सपनाका थुँगाहरू कति रहरिला हुँदा हुन् । ती समस्त आकाङ्क्षा र सपनामाथि बाआमाबाटै तुषारो बर्सिंदा त्यो मनमा कति पीडा हुँदो हो ! छोरीका लागि न्याय–समानता र स्वतन्त्रताको भजन गाउन थालेको पनि धेरै भइसक्यो । तर खोइ हाम्रो समाजमा ती भजनहरू र विधानहरू व्यवहारमा लागू भएका ?

मैले उनलाई धेरै पटक मायाको मसीले चिठी लेखेको थिएँ । कतिपय महान् भनी कहलिएका व्यक्तिका उदाहरण उनका सामु पेस गरेको थिएँ तापनि मैले उनको जीवनलाई एउटा मोड दिन सकिरहेको थिइनँ । सायद, उनलाई नै घुम्तीमा पुगेपछि मोडिनुपर्छ भन्ने मान्यता गलत लागेछ क्यारे !

तर जसै मैले बुझ्दै गएँ, यसमा दोष उनको थिएन । तुलनात्मक रूपले उनको भन्दा बढी समाज, संस्कार र परिवेशको थियो । तैपनि म उनलाई परम्परागत संस्कारको अर्थहीन जालोबाट मुक्त गराउन चाहन्थेँ ।

+++

उनका बा सोह्र वर्षको हुँदा नहुँदै घ्यूका टिन बोकेर झुलाघाटसम्म पुग्थे अरे ! ठाउँठाउँ पहिरो फुटेका उबडखाबड बाटाहरू हिँड्नुपथ्र्यो । रिँगाउने खालका भीर, जुका लाग्ने जङ्गल, बाढीपहिरोको बुई चढेर भयङ्कर आवाजसाथ उर्लेका खहरेखोला पार गर्दै तीन दिनमा झुलाघाट पुगिन्थ्यो । घ्यू बेचेर खद्दरका लुगा, नुनका भारी, तेलका जर्किनहरू बोकेर फर्किनुपथ्र्यो । फर्कंदा झुलाघाट पुलमा बन्दुकका कुन्दा बजाउँदै पुलिसहरू झड्किन्थे र झोला खोतलखातल पारेर हेर्थे । जाँदा–आउँदा बाटैमा रात पथ्र्यो । आगो बालेर ओडारभित्र रात काट्नुपथ्र्यो । साथमा दुई–चार जना छिमेकी दाजुभाइ हुन्थे ।

उसबेला उनकी आमा साह्रैकी फुच्ची देखिन्थिन् । घाँसका भारी बोकेर साँझपख फर्कंदा घ्यू बेचेर लोग्नेले ल्याइदिएको घाँसजस्तै हरियो लुङ्गी, रगतजस्तै रातो ब्लाउज पाएर खुब फुर्किन्थिन् अरे ! कालो र लामो डोरी कपालमा लाउन पाउँदा उनकी आमा आफूलाई भाग्यमानी ठान्थिन् ।

उसबेला उनकी हजुरआमाको कपाल पुसको बिहानै देखिने तुषारो परेको खरको छानोजस्तै देखिन्थ्यो । हजुरआमाबाट जन्मेका सबै सन्तानले सानैमा खोलाको बास लिन्थे अरे ! अन्तिमका दुई सन्तानले पृथ्वीमा अस्तित्ववरण गरे । जसलाई उनले बाबा र अङ्कल भनेर चिनिन् धेरैपछि । छोरो घ्यू बेच्ने भएर आफ्ना लागि रगतको रङ, घाँसको रङ, पसिनाको रङ, हाडको रङ, बादलको रङ, आदि रङ मिसिएर छिरेबिरे बनेका घाँघर ल्याइदिँदा उनकी हजुरआमा औधी खुसी हुन्थिन् ! सुखका दिन आएको कल्पना गर्दै बुहारीसँग मिलेर तिलाकुटी बनाउँथिन् र आफ्ना प्यारा छोरालाई खुवाउँथिन् ।

आफ्ना दुई दाजुपछि उनको जन्मिने पालो आयो । जताजतै झिमझिम बाजा बजाउँदै असारको पानी बर्सिरहेका बेला । मानिसहरू रोपाइँ गरेर राति अबेर फर्किरहेका थिए । निष्पट्ट अँध्यारोमा उनकी आमा पेट च्यापेर मझेरीमा छट्पटाउन थालेकी थिइन् । रोपाइँ गरेको हिलोमैलोझैँ फोहोर पानी थियो आमाको पेटभित्र । त्यहीँबाट चल्मलाउँदै बटारिँदै उनी बाहिर आएकी थिइन् । पेटभित्रको साँघुरो संसारबाट पृथ्वीको फराकिलो संसारमा पहिलो पटक आउँदा उनी खुसीले च्याहाँ... गर्दै रोएकी थिइन् अरे ! जन्मेको एघारौँ दिनमा उनको नाम राखिएछ– चमेली ।

चमेलीका हजुरबा धेरै अघि स्वर्ग गइसकेका थिए । हैजा लागेर एकै दिनमा उनी परमधाम पुगेका थिए अरे ! चमेली जन्मिएको छ वर्षपछि उनकी हजुरआमा पनि हजुरबा भएकै ठाउँतिर बसाइँ सरिन् । पछिसम्म चमेली स्वर्गतिर बादल हेरेर आफ्ना हजुरबा, हजुरआमालाई खोज्थिन् । बादलमा मान्छेजस्ता आकृति देखेपछि उनी खुसी हुन्थिन् ।

चमेलीका बाले पढ्न पाएका थिएनन् । उनका अङ्कल चाहिँ पढेर सानोतिनो जागिर खाने भएका थिए । तैपनि बाले छोराछोरीलाई दुःख गरेर भए पनि पढाए । उनका जेठा दाजुले पाँच कक्षापछि पढ्न मन गरेनन् । उनी स्कुल छोडेर सहरतिर गए । गाडीमा खलासीको काम गरे । पछि ड्राइभर पनि भए । अनि पछि अरबको मरुभूमिमा पैसा फलाउन गए ।

चमेलीका कान्छा दाजु आठ कक्षा पढ्दापढ्दै जङ्गल पसे । पसे के भन्नु, विद्रोहीहरूले करबलले लगेका थिए । देशमा गुराँसको रङ निचोरिएझैँ रगत बग्थ्यो । गोली लागेर मान्छेका जिन्दगी पट्ट फुट्थे । चमेलीकी आमाको मन चस्किरहन्थ्यो । आफ्नो मायालाग्दो कान्छो छोरोको उज्यालो भविष्य खोसेर जङ्गलीहरूले आफूसँगै लगेका थिए । यही चिन्ताको आगोमा उनी पिरोलिन्थिन् ।

नभन्दै एक दिन उनकी आमाको मुटुमा छुरीजस्तो धारिलो खबर आएर बिझ्यो । यस धारिलो र विषाक्त खबरले चमेलीको मुटु छियाछिया पा¥यो । उनका बाको हृदय पनि नराम्ररी चि¥यो । त्यो धारिलो खबरले अरबसम्मै पुगेर जेठा दाजुको मन पनि चिथो¥यो । उनकी बैनी सानै थिई, उसको कलिलो मन पनि रोयो । आँसुसँगै बगेका मनका बिलौनाहरू घरभरि मडारिए । त्यसपछि शोक र सन्नाटाको लामो कालो छाया आएर उनीहरूलाई तर्साइरहन्थ्यो ।

चमेलीले सुनेकी थिइन्, उनका कान्छा दाजु खोड्पे ब्यारेकभन्दा केही मात्रको दूरीमा रहेको गुँरासको जङ्गलमै भिडन्तमा मरेका थिए । सेनाको धारिलो गोलीले उनको प्राण उधिनेर लगेको थियो । ‘क. बादल’को नामले मरेका उनका दाइलाई विद्रोही नेताले ‘शहीद’को दर्जा दिएर सम्मान गरेका थिए । अब क. बादल पनि बादलको संसारमा गएका थिए, जहाँ चमेलीका हजुरबाहरू थिए ।

उनका जेठा दाजुको उज्यालो भविष्य अरबको घामले ओइलाएर कालो भएको थियो । उनका कान्छा दाजुको उज्यालो भविष्य र रङ्गीन सपना गोलीको आगोले निलिसकेको थियो ।

+++

गत वर्ष चमेलीले एक औसत छात्राका रूपमा एसएलसी पास गरिन् । घाँसदाउरा र चुलौचौकीमै उनको ज्यादा जोवन लपेटिएको छ । घरमा बाआमालाई सरसहयोग गर्नैपर्ने, भाउजूको सङ्गसाथ पनि जानैपर्ने । खेतीपातीदेखि कुटानी–पिसानीसम्म उनको बैँसको रस घुलेको छ । घरायसी बाध्यता हुँदाहुँदै पनि स्कुल जान छाडेकी छैनन् । उनको पछिपछि चञ्चलता बोकेर बैनी पनि स्कुल जान्छे । चुनौतीका बीचबाटै प्रवेशिका परीक्षा पास गरेर प्लसटु पढिरहेकोमा उनको भन्दा बढ्दा खुसी मलाई पो लाग्योे ।

उनले मसँगै राजधानी सहरमा पढ्न पाएको मन पराउँथेँ । सबै प्रकारका सहयोग गर्ने वाचा दिएको थिएँ मैले । उनी असाध्यै उत्साहित थिइन् । तर बीचमा बाधाको पर्खाल बनेर उभिए उनका बाआमा, काकाकाकी । त्योभन्दा झन् ठूलो पर्खाल थियो संस्कारको । जसले हृदयवान् बाआमा भएर पनि उनीहरूका आँखामा अझै कालो पट्टी लगाइरहेको थियो ।

चमेली भर्खर अठारकी भइन् । हावाले छुँदैमा पनि काउकुती लाग्ने उमेर । उनको जिउडाल टम्म मिलेको छ । अङ्गहरू सब बैँसका रसले भरिपूर्ण छन् ।

उनका अधिकांश साथीसङ्गीले बिहे गरिसकेका रहेछन् । कोहीले भागेर, कोहीले मागेर । हिजो मात्रै भेटेको थिएँ, उनकी साथीलाई । जसले मलाई केही वर्षअघि त्रिवेणी मेलामा पेडा दिएकी थिइन् । सङ्कोच मान्दै मैले पेडा खाएको थिएँ । त्यही पेडा दिने चञ्चले केटीको कलिलो काखले छोराछोरी खेलाइरहेको देख्दा मलाई अचम्म लाग्यो, उदेक पनि लाग्यो ।

–‘चमेली !’ म बोलाउँछु । उनी बोल्दिनन् । पुलुक्क मुखमा हेर्छिन् । उदास मन बोकेर लज्जावती झारझैँ ओछ्यानमा पल्टिरहेकी छिन् ।

म यहाँ आएको उनलाई नमीठो त लागेको छैन होला । तर उनको मुटु सङ्कोचले अँठ्याइरहे जस्तो लाग्छ । सुस्तरी हात समातेर उठाउन खोज्छु, झन् लाजले खुम्चिएर डल्लो पर्छिन् । निकैबेर उनलाई हेरेर टोलाउँदै बसिरहेँ ।

–मैले गर्दा बाआमाको शरीर आधा जिउ भएको छ । बाआमाले मलाई कति साह्रो सताउनुभएको छ । जहिल्यै भन्नुहुन्छ, “तेरो पछाडि तँभन्दा ठूली बैनी पनि भैसकी । खुट्टा धोइदिएर यौटा धर्म गरौँ भनेर कति सोच्या थ्यौँ, तैँले हाम्लाई झन् पिरोल्ने भा’की छेस् । यत्रो बाह्र–पन्ध्र बरौने आइसके, सबलाई तैँले फर्काइस् । अझै तँ कस्तो मनपर्ने केटो खोजेर बसिरा’की छेस् ?’.... !’ उनको कण्ठ रोकियो बीचैमा । मन भक्कानो फुटेर आयो ।

निकैबेरको करबलले बोलेकी थिइन् । मेरो मन झनै आन्दोलित भयो । म छक्क परेँ । सुन्दै थिएँ, बाह्र–पन्ध्र केटाहरू उनलाई माग्न भनी आएर रित्तो हात फर्किसके । मलाई पत्यारै लागेन । धैर्यसाथ सोधेँ– “के यतिका केटाहरू तिमीलाई नै माग्न भनी आएका थिए र ?”

‘हो’ को भावमा निर्दोष बालिकाले झैँ टाउको हल्लाइन् । मानौँ यो भनिरहँदा उनलाई हर्ष–विस्मात, ग्लानि–क्षोभ, लज्जा–सङ्कोच, डर–धक एकसाथ लागिरहेछ ।

–“किन फर्कायौ त त्यतिका केटाहरूलाई रित्तो हात ?”

– “मन नपरेर ।”

–“उनीहरूका हातमा केही पनि नदिई फर्कायौ, हैन ?”

– “हिँहिँहिँ... ।” बल्ल उनको हाँस्यो फुत्कियो । यो लजालु हाँसो हेरेर म रोमाञ्चित भएँ ।

– “अनि तिम्रो मनपर्ने केटा को छ त ?” मैतिर उनले सङ्केत गर्लिन् भन्ने सोचेको थिएँ ।

–“जो आफ्नो फुटेको भाग्यमा छ !” नसोचेको जवाफ आयो ।

एकछिन शब्दहरूको नदी सुक्यो । मौनता कोठाभरि बग्यो ।

–“आजसम्म हजुरकै लागि बसिरहेकी थिएँ । त्यतिका केटाहरूमा एउटा न एउटा खोट देखाएर पन्छाएकी थिएँ । नत्र मैले एसएलसी पनि पास गर्न नपाईकनै जानुपथ्र्यो, कहिल्यै नदेखेको पराई पुरुषको हात समाउँदै । नचिनेका मान्छेको चरणमा सुम्पिनुपथ्र्यो । अब चाहिँ बाआमासँग धेरै जिद्दी गर्न नसक्ने अवस्थामा पुगेकी छु । कसरी बाआमाले दुःखसाथ हुर्काएर यहाँ ल्याइपु¥याए र आज मैले उनको हृदयलाई रुवाउने गरी कसरी आफ्नै मनपरी गर्न सक्छु ? पछि मैलाई दुःख आइलाग्यो भने के भन्लान् ? वरिपरिका मान्छेले केके न कुरा काटेर बाआमाको घाउमा कति धेरै नुनचुक छर्किदेलान् !” उनी एक हिसाबले सही थिइन् । कमसेकम समाजलाई चिनेकी त रहिछन् ।

म केही बोल्न सकिनँ । उनी मनको पिँधबाट निष्ठुर शब्दहरू ओबाउन थालिन्– “म आफैँ बुझ्न सकिरहेकी छैन । यो प्रेम भन्ने चिज के रैछ, समाज के रैछ ? संस्कार केका लागि बन्दो रैछ ? जिन्दगी किन सपना सँगालेझैँ रङ्गीन हुन नसक्ने रैछ ! मान्छेले त फूलैफूल रोज्थ्यो होला, प्रेमैप्रेम चाहन्थ्यो होला । तर उसले समाजमा जताबाट पनि काँडा र अपहेलनाको घोचाइ खानुपर्ने रैछ । अब म बाआमाको मन कति दुखाइरहूँ ? हजुरको आजै बिहे योजना छैन होला । तर बाआमाले यही मङ्सिरमा मलाई कन्यादान गरिदिने भनेका छन् । यसमा मेरो केही दोष छैन, म माफी चाहन्छु । हजुर अन्तै राम्री केटी खोजेर जहिले मन लाग्छ बिहे गर्नू... !’

म झसङ्ग भएँ, यसपछि केही सुनेको सम्झन सकिनँ । मुटु हल्लिन थाल्यो । अज्ञात झट्काले मेरो तनमन झुनुन्न पारिदियो । उनलाई धोकेबाज भन्न मन लाग्यो– “मैले त तिमीलाई हरक्षण आफ्नी ठानेको थिएँ । तर तिम्रो मनमा चाल्नोझैँ छिद्र परेको मायाको धाँधली रहेछ !”

केही महिनाअघि उनले चिठीमा लेखेकी थिइन्– “...मैले त राम्रै सोचेकी थिएँ । हजुरलाई बाहेक कसैलाई दिलमा सजाएकी थिइनँ । म कल्पनाको यानमा फनफन्ती घुम्थेँ । फिल्मकी नायिकाझैँ हजुरको अँगालोमा बेरिएको सपना देख्दै निदाउँथँे । हजुरको विचार र स्वभाव कति प्रिय लाग्थ्यो ! तर के गर्नु, मलाई हजुरले बाहेक अरू कसैले बुझिदिएन । यो जिन्दगीमा सोचेजस्तो केही नहुने रहेछ । सपना सजाएको पनि केही नलाग्ने रहेछ । चिन्ताको आगोमा पटकपटक जल्नुभन्दा एकैचोटि जलेर खरानी बन्न मन लागेको छ... ।”

मेरो मथिङ्गल विचारका भुँवरीमा रिँग्न थाल्यो । आमाबुवाका लागि कन्या (छोरी) एउटा भेटीसिवाय केही हुन सक्तैन ! जुन भगवान्को सट्टा पराईको चरणमा चढाइन्छ । हाम्रो संस्कारले बाआमामाथि यस्तो थेग्नै नसक्ने धर्मान्धताको भारी बिसाइदिएको छ । अर्काको नासो गलाको पासो रे छोरी ! केही दिनअघि उनकै उमेरकी एउटी विवाहिता साथीको डायरीमा पढेको गीत सम्झिएँ–

‘अख्काकी चेलीको शिरमाइ सिन्दूर क्याइ पैरी है

स्वाइनी पाल्ल नसक्देले ब्या क्याइकी गरी है !’

यो गीतांश पढेर म भावुक बनेथेँ । लगत्तै हाँस्दै भनेथेँ– “सिन्दूर त जहिले पनि अर्काकै छोरीको सिँउदोमा हालिन्छ न कि आफ्नी छोरीको !” आज म झनै भावुक बनेको छु । यी कुराहरूलाई हाँसोमा उडाइदिने मेरो क्षमता पानीपानी बनेको छ । म सोच्न थाल्छु– छोरी जन्माउनु अर्काकै लागि रहेछ । यो एउटा ध्रुवसत्य हो । तर छोरी आफ्ना लागि र छोरा अर्काका लागि पनि त जन्माउन सकिँदो हो ! किन यसतर्फ कसैले सोच्दैन ?

गाउँकै हाई स्कुलमा प्लस टु पढ्दै भविष्य बनाइरहेकी एउटी किशोरी । जसले रातोदिन बाआमालाई ठूलो सहारा पनि दिइरहेकी छिन् । घरको काममा । खेतीपातीको काममा । घरायसी लेनदेन र हिसाबमा । तर तिनै बाआमालाई छोरीको कन्यादान गरेर पुण्य कमाउने हतारो छ । संस्कार त विवेकहीन हुँदो रहेछ नै । त्यस्तो संस्कारले मान्छेलाई लाचार, निष्ठुर र विवेकहीन हुन मद्दत पु¥याइरहेको हुँदोरहेछ ।

हामीहरू भ्रम पालेर बाँचिरहेका रहेछौँ । नारी पुरुषमाथि आश्रित छे भनेर । तर मलाई लाग्यो– पुरुष नारीमाथि पूर्णतः आश्रित छ । सोच्दासोच्दै भन्न मन लाग्छ– “चमेली, हामी चराको संसारमा जन्मेका भए ! कति उमङ्गसाथ पखेटा फिँजाउँदै सपनाको संसार चहाथ्र्याैं ! मानव समाजमा जन्मनु नै हाम्रो गल्ती थियो कि ! तिमी त बन्धनभित्रकी फूल हौ, जसलाई मुटुमा छुरी घोपेर बाँच्न सिकाइएको छ ।”

–“चमेली, फक्रिँदो हाम्रो प्रेमरूपी फूलमाथि संस्कारको स्वर्गबाट तुषारो वैरिएको के तिमी सहन सक्छ्यौ ? भन त, फूलको छातीमा म कसरी बुट बज्रेको सहन सक्छु ?”

उनी त कतिखेरदेखि आँसु बगाइरहेकी रहिछिन् ।

–“सुन त, बिहे तिम्रो हुँदैछ भने त्यो तिम्रो इच्छानुसार हुनुपर्छ । कसैको करबलले गरिएको बिहेलाई कसरी बिहे भन्न सकिएला ? तिमी किन आँट गर्न सक्दिनौ ?” उनको ओइलाएको मनमा पानी हाल्नु त थियो ।

–“आँट गरेर मात्रै हुन्छ र ? अब मलाई धेरै दिन यो घरमा यस्तै अवस्थामा राख्दैनन् क्यारे । भोलि मैले हजुरसँग हिँडेँ भने पनि मान्छेले कति कुरा काट्लान् ? समाजले भन्ला– मात्तिएकी मोरी ! आमाबुवाले भन्लान्– असत्ती, कसरी रडाको मचाउन सकेकी ! यो स्वार्थी र छुच्चो समाजमा हजुरलाई पनि अफ्ठेरो पर्ला । आजै पनि हामी कुरा गरिरहेको थाहा पाएपछि आमाबुवाले के भन्लान् ? वरिपरिकाले के ठान्लान् ?”

रात शून्य समयमा पुगेर गाढा भयो । हाम्रो माया गाढा हुँदैछ कि फिक्का ? ठम्याउन सकिरहेको छैन । उनी जुरुक्क उठिन् र पुगिन् चुलो भएको ठाउँ । मायाको मसला हालेर चिया पकाउनतिर पो लागिन् ! म फेरि सोचमग्न भएँ । माया भन्ने चिजै यस्तो हुँदो रहेछ । जसको लेपन मुटुमा बसिसकेपछि कुनै पनि अम्लले माझ्न नसक्दो रहेछ ।

बाध्यात्मक संस्कारभित्र जिन्दगी थियो लाचार । मेरो मनमा दुईथरी भाव पलाए । एक मनले भन्यो– जाऊ प्यारी, हाँसीखुसी आफ्ना पुर्खाको डोरी समातेर एउटा कर्मठ जिन्दगी बाँच ! तिम्रो मनको कोमल त्यान्द्रोलाई म जबरजस्ती चुँडालेर अन्तै मोड्न सक्दिनँ । अर्को मन बोल्यो– धत् लाटी ! तिमीले त अझै कति ठूलो सङ्घर्ष गर्न बाँकी छ । चेतनाका राँकाहरू ओकलेर एउटा सङ्घर्षशील जिन्दगी बाँच्नु पो पर्छ त !

+++

चमेलीको ओछ्यानमा घडीले बिहानको एक बजाइसकेछ । उनले त बेलुका चाँडै निदाएर मिर्मिरे नहुँदै धान काट्न पुग्नुपर्ने रहेछ पारि खेतमा । मैले बारम्बार उनको निद्रा बिथोलेर बात मारेँ । उनी कतिपल्ट मेरै काखमा पल्टिइन् । कतिपटक मलाई सुत्न जाऊ भनेर झकझकाइन् । म निकैबेर तपस्वीजस्तो बसिरहेथेँ । मौनचिन्तन या भावनामा डुबेर हो कि उनकै मायाले लट्ठिएर । उनले पटक पटक दिक्क मानिन् । कति बेला त आऊ यही सुत भनेर आफ्नो सलभित्र मलाई छोप्न खोजिन् । अँह, मलाई चल्मलाउनै मन भएन । मानौँ, म प्रेमको महाव्रतमा बसेर आफँैलाई समेत बिर्सिरहेछु ।

उनको ओछ्यानमा एउटा भिखारीजस्तो निरीह प्राणी बनेर उपस्थित थिएँ । थाहा छैन, म केको भीख मागिरहेथेँ ! एकाएक झल्याँस्स भएँ । तनमन सब चिसो लाग्यो । उनको हात पनि चिसो लाग्यो । रात झन् चिसो लाग्यो । तब म जुरुक्क उठेर बुइँगलमा पुगेँ । उनैले लगाइदिएको परालको चिसो ओछ्यान मलाई कुरिरहेको थियो । आँखा चिम्म गरेर पल्टिएँ ।

मलाई निद्रादेवीले समेत माया मारेजस्तो लाग्यो । जत्ति गुटुमुटु परेर सुत्दा पनि निदै्र लागेन । मानौँ, म पहिलो पल्ट रजस्वाला भएर छाउपडी गोठमा बसेकी किशोरी हुँ र छटपटीमा मुछिएका भयावह रातका प्रहर काटिरहेछु ।

मथिङ्गलभरि रङ्ग–विरङ्गका भावहरू तरङ्गिए । अनेकथरि विचारहरूको एउटा जुलुस निस्किएझैँ लाग्यो । उनको र मेरो प्रेमको डोरी चँुडिने चिन्ताले मन चिमोट्यो । उनको कलकलाउँदो जिन्दगी अब कुन मोडतिर कसरी घिस्रिँदै बग्ला ? म त पर्सि नै उनीसँग छुट्टिएर काठमाडौँ जाँदैछु । आफ्नो मनको प्रिय चिज आफूबाट छुट्टिएर टाढा हुँदा अवश्य मुटु दुख्छ । सायद छोडिजानेलाई भन्दा छुट्नेलाई ज्यादा दुख्दो होला ।

अन्तिम प्रहरका अन्तिम घडीहरूमा चालै नदिई आइछिन्, निद्रादेवी । र, काखमा लिई नुनु–नुनु गरिछिन् । म त्यो काखमा निदाएछु । सपना पनि कस्तो नचिताएको भइदिएछ ! म चमेलीको जन्तीमा पाहुना लागेको थिएँ । उनी रगत मुछिएको जस्तो रातो घुम्टोभित्रबाट रुँदै बिलौना गर्दै थिइन् । त्यो रुवाइको तिखो सुरले मेरो मुटु चसक्क घोच्यो । वातावरण नै उराँठ लाग्यो ।

मेरो मनको रातो गुलाव चुँडिएको थियो । त्यो ओइलाएको थियो । ओइलाएको गुलाफमा चमेलीको जिन्दगी प्रतिविम्बित भइरहेको देखेँ । á

चतउयभतण्टढ२नmबष्।िअयm