हृदय तलका, नाता माया, नझर्न दिनू रवि
अमर कृतिझैँ, बाँच्ला प्याला, यही सुखले कवि
असल मृदु होस्, हाँस्दा हाँस्दै, ललाट महान् कुनै
मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।१।।
समर पथका, टुक्रा पाना, म जोड्न सकूँ तब
सकल कविका, इच्छा प्यारा, म खोज्न सकूँ अब
लहलह फुलोस् मेरो यात्रा, नहोस् अधुरो कतै
मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।२।।
अविरल यही, छाती तिम्रो, छ नाम जहाँ पुगूँ
अविचल चलूँ, किल्ला वारी, म राष्ट्र गहना बनूँ
जय जय भजूँन्, साँचो बोली, नितान्त नयाँ सबै
मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।३।।
नविन सपना, बाल्दै ताप्दै, कसूँ सुखका तुना
नभ पथ पुगूँ, भाषा साहित्यका म कुना कुना
कति ऋतुहरू, आए होलान्, लता सम छन् अझै
मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।४।।
निशिदिन गरौँ, पूजा आराध्य जीवन अर्थ होस्
शरण गुरुका, आसिक् पाऊँ, नत्र त व्यर्थ होस्
अटल सिरमा होस् मेरो देश शान्त रहोस् निकै
मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।५।।
चकित युग होस्, यात्रामा होस्, विशारद ओखती
पलपल रहोस्, लक्ष्मी मोती र भानु जसै रति सपुत
कलमी, विद्वान् को हुन्छ जन्म नि ता कमै मरण
जब होस् यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।६।।
सुखद पल होस् जन्मूँ नेपालमै अझ जन्मिए
कृति पनि मिलोस् जन्मौँको कर्म कृष्ण जसै भए
हृदय नदुखोस् सेवा मात्रै गरुँ म पुरै पुरै
मरण जब होस् यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।७।।
घर जमिनमा, आफ्नो माटो, म गौरव गर्दछु
जलथलविषे मेरो आत्मा, प्रकाश नि छर्दछु
जग फरक छन् पेसाका सास आस रहोस् दुवै
मरण जब होस् यौटै सत्यमा, म बाँच्न सकूँ सधैँ ।।८।।
दधिकोट–२, भक्तपुर, हाल ः लिस्वन, पोर्चुगल