जतिबेला मलाई ‘तिर्खा’ लाग्छ
त्यतिबेला बनिदिन्छौ तिमी ‘पानी’
भोक लाग्दा ‘अन्न’ वा ‘फलफूल’
अनि खोला तर्दा ‘लौरो’
थाहा छ मलाई–
‘खुशी’ हुँदा म
मभित्र उकासिने आनन्दको ‘झिलिमिली’
तिमी नै हुन्छौ
मेरो ग्लानिमा ‘गल्ने’
म धरमराउँदा ‘धरमरिने’
म दुख्दाको ‘उच्छवाश’
म थाक्दाको ‘सुस्केरा’
अनि मन हाँस्दाको सुसेली
बन्छौ तिमी नै
जब सबथोकमा मेरो
तिमी छौ—
शोकमा ‘शोक’ तिमी
भोकमा ‘भोक’ तिमी
‘तृष्णामा ‘तृप्ति’ तिमी
‘तमसमा ‘दीप्ति’ तिमी
त्यसैले
अब म आश्वस्त छु, निर्भय छु
थाहा पाइसकेँ मैले
मेरो ‘जन्म’ ‘जीवन’
‘जरा’ ‘मरण’ पनि त
तिमी नै हौ ‘पदार्थ’
तिमीलाई कसैले
पदार्थको साटो ‘ईश्वर’
भन्दा पनि
नभन्दा पनि
के पो फरक पर्छ र ‘तिमीलाई’ !