सोलुखुम्बुमा जन्मेर काठमाडौँ बसोबास गर्ने वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको इमान, शालीनता र उच्च बौद्धिकताको पारखी धेरै छन् । ‘मुकुट’, ‘सिउँडी’ हुँदै गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेत भएका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाहरूको सम्पादन गर्नुभयो । राजनीति सँगसँगै बस्नेतको साहित्यिक व्यक्तित्व पनि उत्तिकै चम्किलो छ । उहाँ कथा, कविता, निबन्ध र संस्मरणहरूमा अब्बल कलम चलाउनु हुन्छ । साहित्यमा मात्र नभएर राजनीति, पत्रकारिता र समाज सेवामा पनि उहाँको विशेष रुचि छ । उहाँले राजनीति केन्द्रित पुस्तकहरू पनि लेख्नुभएको छ । नेपाली काङ्ग्रेसको इतिहासका दुई भागमा लेखिएको बृहद आकारको ग्रन्थ सबैले पढ्नै पर्ने कृतिका रूपमा हेर्छु म । यो इतिहास मात्र होइन यसको प्रस्तुति र शैली पनि आकर्षक छ । धेरै मिहिनेत गर्नुभएको छ यसमा उहाँले ।
खुसी साट्न होस् या दुःख बाँड्न मित्र नै चाहिन्छ । यस्तो मित्र जसले विनास्वार्थ हार्दिकतापूर्वक खुसीमा सँगै उत्सव मनाउँछ र दुःखमा आँसु झार्छ । मेरा त्यस्तै मित्र हुनुहुन्छ पुरुषोत्तम बस्नेत । उहाँ सेन्ट्रल होस्टेल लालदरबारमा बस्दा मेरो भेट भयो । जीवनमा आउनेजानेहरू धेरै हुन्छन् । आउने तर मनबाट नजाने मित्र उहाँ हुनुभयो । समयसँगै हाम्रो मित्रता अझ गहिरो भयो । बस्नेतजीको सहयोगीपन, मिलनसारिता र साहित्यप्रतिको मोह देखेर म नजिक हुन पुगेँ । बस्नेतको लेखन, साहसीपन, निर्भीकता र शालीन स्वभाव मलाई असाध्यै मनपर्छ ।
राम्रोसँग हाम्रो परिचय भएको ‘अमलेख समूह’बाट हो । अमलेखले झन् सम्बन्ध प्रगाढ बनायो । भूपि शेरचन, पुरुषोत्तम बस्नेत र म लगायत बाह्र पन्ध्र जना यसमा आबद्ध थियौँ । ‘अमलेख’ कुनै वाद बोकेर हिँडेको संस्था होइन । स्वतन्त्र समूह थियो । अमलेखमा प्रायः विद्रोही लेखकहरू थिए । अझ भनौँ अलग खाले लेख्ने लेखकहरू थिए । पुरुषोत्तम बस्नेतजी अमलेखको सक्रिय सदस्य हुनुहुन्थ्यो । यसमा आबद्ध हुँदासम्म हामी निकै घनिष्ठ भइसकेका थियौँ ।
उहाँ मेरो साहित्यिक मित्र हुनुहुन्छ । बस्नेतजी राजनीतिकर्मी पनि हो । तर उहाँ साहित्यकार नभएको भए उहाँसँग मेरो घनिष्ठ सम्बन्ध सायद हुँदैन थियो । उहाँले मलाई लेखककै रूपमा चिन्नुभयो । मैले पनि उहाँलाई सर्जककै रूपमा चिनँे । उहाँको राजनीतिक योगदान उच्च छ । मेरो आत्मीयता भएको चाहिँ उहाँ लेखक भएरै हो ।
उहाँँका कथाहरू गजबका छन् । मलाई उहाँको निबन्ध र संस्मरणहरू पनि उतिकै राम्रो लाग्छ । नेपाली साहित्यमा स्थापित पाठकले रुचाएका लेखक बस्नेत मेरा साथी मात्र नभएर मनपर्ने लेखक हुनुहुन्छ । नेपाली साहित्यमा उहाँको स्थान ठ्याक्कै कहाँ छ त्यो म तोक्न त सक्दिनँ । मलाई आफ्नै स्थान त थाहा छैन । तर यत्ति भन्नसक्छु कि मेरा प्यारा मित्र बस्नेत मेरा समकालीन हुनुहुन्छ । उहाँको लेखनी उत्कृष्ट छ ।
मेरो राजनीतिक तर साहित्यिक साथी भन्नुपर्दा सबैभन्दा पुरानो साथी पुरुषोत्तम बस्नेतजी हो । हामी विद्यार्थी जीवनदेखि अहिलेसम्म पनि सम्पर्कमा छौँ । एकअर्काको खुसीमा आजसम्म पनि रमाउँछौँ । कहिले म फोन गर्छु । कहिले उहाँ गर्नुहुन्छ । बेला बेला भेट पनि हुन्छ । उहाँका जिम्मेवारी धेरैतिर भएको कारण डिस्टर्ब नगरौँ कि भन्ने पनि लाग्छ । जब साँझ पर्छ, फुर्सद हुनुभयो होला ठानेर कल गरिहाल्छु । उहाँ पनि मलाई सम्झिरहनुहुन्छ । उहाँले मलाई बुझ्नुहुन्छ । म उहाँलाई बुझ्छु । बडो भलाद्मी स्वभावको हुनुहुन्छ । उहाँको शरीर र स्वभावमा कहिल्यै परिवर्तन देख्दिनँ ।
ज्ञानगुन र इमानले भरिएका व्यक्ति बस्नेतको रहनसहन सादा थियो । सादा नै छ । उहाँले सम्पादन गर्नुभएको ‘मुकुट’ साहित्यिक पत्रिकामा मेरा कथाहरू पनि छापिएका थिए । उहाँकै देन हो ‘मुकुट’ । ‘सिउँडी’ पत्रिकाको पनि उहाँ सम्पादक हुनुहुन्थ्यो । त्यतिबेला साहित्यिक पत्रिका चलाउन गाह्रो थियो । गाह्रोलाई सजिलो बनाउने साहस बस्नेतमा थियो ।
साहित्यकार, सम्पादक, समाजसेवी एवं राजनीतिकर्मी बस्नेत बहुआयामिक व्यक्तित्व भएको मान्छे हो । उहाँ गोरखापत्र संस्थानको अध्यक्ष हुँदा मेरो ‘अरेबियन नाइट’ धारावाहिक छापियो । पाठकहरूको राम्रो प्रतिक्रिया आइरहेको थियो । धारावाहिक बन्द गर्ने तìवहरू त्यतिबेला पनि थिए होलान् । उहाँको संरक्षणका कारण सकेनन् । पछि अरू आएपछि धारावाहिक बन्द गरिदिए ।
उहाँको पुरानो घर अहिले छैन । म उहाँको घरमा गइरहन्थेँ । उहाँको सद्भाव र प्रेममा रमाउँथेँ । उहाँ पनि आनन्द मान्नुहुन्थ्यो । उहाँको घरमा गाईहरू पालेका थिए । म गएपछि सधैँ दही, दूध, मोही खाएर आउँथेँ ।
बस्नेतजी शान्त स्वभावको मान्छे हो । उहाँ कहिल्यै कसैसँग रिसाएको मलाई थाहा छैन । उहाँको शान्त स्वभाव मलाई असाध्यै मनपर्छ । देख्दा शान्त भए पनि उहाँको लेखन भने विद्रोही हुन्थ्यो । प्रभावशाली लेखक हो उहाँ ।
गोप्य कुरा पनि पुरुषोत्तमजीले मलाई बताउनुहुन्छ । हामी एकअर्कामा आन्तरिक कुरा सेयर गर्छौं । साहित्यिक गफ गर्छौं । राम्रो सम्बन्धको डाहा गर्नेहरू पनि हुन्छन् । मेरो र पुरुषोत्तमजीको मित्रतालाई भत्काउन खोज्नेहरू पनि थिए । एक जनाले आएर पुरुषोत्तमजी सङ्गत गर्ने खालका छन् जस्तो त लाग्दैन भने । त्यसपछि ती व्यक्तिसँग मेरो कहिल्यै कुरा भएन ।
अन्याय सहन नसक्ने उहाँको स्वभाव थियो । अन्यायका विरुद्ध बोलिरहनुहुन्थ्यो । लेखिरहनु हुन्थ्यो । उहाँ पटक पटक जेल पर्नुभयो । मुलुकको हित सोच्ने र निरङ्कुशताको ठाडो विरोध गर्ने बस्नेतजी धेरैको आँखाको तारो बन्नुभयो । विभिन्न समयमा उहाँले ९ वर्ष जेल जीवन बिताइसक्नु भएको छ । वि.सं. २०२४ सालमा उहाँ जेलमा बस्दा म भेट्न गएको थिएँ । समय ठीक थिएन । त्यतिबेला भेट्न जानेलाई पनि शङ्काको घेरामा राखिन्थ्यो । म जोखिम मोलेरै जान्थेँ ।
आफ्नो साथीलाई पनि भेट्न नपाउने भन्ने मेरो मनमा हुन्थ्यो । म जान्थेँ । बाहिरिया मान्छेले किन गइस् भन्ने आँट पनि गरेनन् ।
जेलभित्र र बाहिर अलि परैबाट कुरा गर्नुपर्ने हुन्थ्यो । अरूले पनि कुरा सुन्थे । यसरी उहाँलाई जेलमा भेट्न जाँदा साहित्यिक कुरा हुन्थे । एउटा अचम्मको कुरा के भने उहाँ कहिल्यै हतोत्साही नहुने मान्छे । सुखमा पनि दुःखमा पनि सधैँ एकनासको । जेलबाहिर हुँदा मैले उहाँलाई जुन रूपमा पाएँ जेलमा हुँदा पनि उहाँमा केही परिवर्तन थिएन । सदाबहार शान्त अनि निडर ।
हामी सँगै बाहिर एड्भेन्चर गर्न पनि गएका थियौँ । धेरै कार्यक्रमहरूमा सँगै गयौँ । उहाँसँग घुम्दा मलाई रमाइलो लाग्छ । अहिले पनि हामी एकअर्कालाई सम्पर्क गरिरहन्छौँ । कहिले उहाँ फोन गर्नुहुन्छ । कहिले म गर्छु । हामीमा एकअर्कालाई दिनका लागि प्रेम, स्नेह, सहयोग र सद्भाव मात्र रह्यो । रिस, राग र मनमुटावको झिल्कासम्मले पनि कहिल्यै स्थान पाएन । उहाँसँगको सम्बन्ध कहिल्यै उतारचढाव नभएको सम्बन्धमध्ये एउटा सम्बन्ध थियो । हाम्रो मित्रता सधैँ एकनासको रह्यो ।
देश मुस्कुराएको हेर्ने रहर धेरैलाई हुन्छ । माटोको सुगन्ध धेरैको मुटुमा हुन्छ । विकास र भविष्य सबैको आँखामा हुन्छ । मेरा आँखामा पनि छन् । तर मलाई राजनीतिको कुनै चस्का छैन । साहित्यबाहेक मेरो अरू परिचय पनि छैन । बस्नेतको राजनीतिमा पनि ठूलो योगदान छ । नेपाली कथा, कविता, संस्मरण र निबन्धमा स्थापित बस्नेतको राजनीतिक पुस्तक पनि उत्तिकै उपयोगी र महत्त्वपूर्ण छन् ।
साहित्य मात्र नभएर इतिहास पनि लेख्नुभएको छ । नेपाली काङ्ग्रेसको इतिहास भाग एक र भाग दुई उहाँका महत्त्वपूर्ण ऐतिहासिक कृति हुन् । यस्ता दुर्लभ पुस्तकका लेखक बस्नेतले धेरैको जीवनमा उज्यालो ल्याउनुभएको छ । संविधान सभा समानुपातिकतर्फ नेपाली काङ्ग्रेसबाट सभासद् पनि हुनुभयो । लामो समयसम्म बस्नेतले नेपाली काङ्ग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन पनि गर्नुभएको थियो । उहाँ यति सक्रिय मान्छे कि उहाँको कर्मको चर्चा गरेर सकिँदैन ।
(साहित्यकार अमृता स्मृतिसँगको कुराकानीमा आधारित ।)