• ७ मंसिर २०८१, शुक्रबार

सैनिक पुनर्मिलन

blog

आफू बसेको स्थानमा आएर सञ्चोविसन्चो, परिवार र आफन्तबारे जिज्ञासा राख्दै प्रधान सेनापति प्रभुराम शर्माले भलाकुसारी गरी दोसल्ला ओडाएर कदर पत्रसहित सम्मान गर्दा ९९ वर्षीय ज्ञानकुमारी उपाध्याय र ९७ वर्षीय अवकाशप्राप्त प्रमुख सुबेदार बेलबहादुर गुरुङ भावविह्वल हुनुभयो । अवकाशप्राप्त अमल्दार १०० वर्षीय खिमबहादुर बोहोरा क्षेत्री स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न र सैनिक परिवारको शताब्दी पुरुषका रूपमा सम्मान गर्न उपत्यका पृतना मुख्यालयको नेतृत्वसहितको उच्च सैनिक टोली बोहोरा निवासमै पुगेर अभिनन्दन ग¥यो । 

नेपाली सेनाले काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा यही चैत ४ गते आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन–२०८० मा देखिएका यी केही प्रेरणादायी प्रतिनिधिमूलक दृश्य हुन् । नेपाली सेनाले अवकाशप्राप्त सैनिक, सैनिक परिवारका एकल महिला तथा भूतपूर्व सैनिकका आश्रित परिवारसँग पुनर्मिलन गरी सुखदुःख साटासाट गरी सैनिक परिवारका पिरमर्का सुन्ने अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष भूतपूर्व सैनिक सम्मेलन आयोजना गर्दै आएको छ । 

प्रधान सेनापतिसँग अवकाशप्राप्त सैनिक र तिनका परिवारले प्रत्यक्ष भेटघाट गरी आफ्ना कुरा निर्धक्क राख्न पाउने यो मौलिक परम्परा सेनामा दशकौँदेखि कायम  छ । फौजी सेवासँगै रहेका हितैषीहरू अवकाशपछि लाखापाखा भई बिरानो बन्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सम्मेलनमार्फत भूतपूर्व सैनिक, एकल महिला आश्रित परिवारबिच पुनर्मिलन हुँदै आएको छ ।  लामो समय सेनाको ब्यारेकमा रहेर सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको राष्ट्रिय सुरक्षार्थ खटिएका सैनिकहरू अवकाशपछि समाजमा घुलमिल हुन र आमनागरिकका रूपमा रूपान्तरण भई अब के गर्ने भन्ने अन्योल नहोस् भनी सरल, सहज र समाजको आदर्श व्यक्तिका रूपमा पूर्वसैनिकलाई रूपान्तरण गर्न नेपाली सेनाले विभिन्न कार्यक्रममार्फत उनीहरूलाई जोड्दै लगेको छ । घरायसी व्यवहार तथा व्यावसायिक अनुभवबाट लामो समय टाढा रहेका पूर्वसैनिकलाई अवकाशपछि यस्तो अन्योल नहोस् भन्ने उद्देश्यले नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड गठन गरी पूर्वसैनिकको पुनर्उत्थान सुरु गरेको थियो साथै काल्याणकारी कोषमा बचत रहेको रकम झन्डै १० लाख हिताधिकारीलाई चार ‘स’ अवधारणा अन्तर्गत शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सेवासुविधासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । यसलाई अझ व्यापक तथा बहुआयामिक बनाउने लक्ष्य सेनाले लिएको छ ।

बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास सेनाले गरेको छ ।

पुनर्मिलन गर्न सेनापति स्वयम् सैनिक परिवार बसेको स्थानको पायक पर्ने स्थानमा पुग्ने, त्यस क्रममा आवतजावत लगाएर औषधी उपचारको निःशुल्क प्रबन्ध मिलाइनुले बहालवाला र अवकाशप्राप्त सैनिकबिचको सम्बन्धलाई अझ विशिष्ट र मजबुत बनाउन सहयोग पुगेको उपस्थित भूतपूर्व सैनिकको अनुभव छ । अवकाशप्राप्त सैनिकबिच एकआपसमा अनुभवहरू साट्ने, बहालवाला र अवकाशप्राप्त सैनिकहरूबिच सामीप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रमहरूको जानकारी गराई प्राप्त राय सुझावबाट समयानुकूल सुधार गर्दै लैजाने उद्देश्यले नेपाली सेनाले प्रत्येक वर्ष भूतपूर्व सैनिक सम्मेलनको आयोजना गर्दै आएको हो ।

राष्ट्रकै लागि समर्पण

प्रधान सेनापति शर्माले नेपाली विदेशी सेनामा भर्ना हुनु अनुचित र दुर्भाग्य रहेको बताउँदै आउनुभएको छ । नेपाली सेना तथा अन्य सुरक्षा निकायबाट अवकाशपछि वैदेशिक रोजगारीको सिलसिलामा विदेशी सेनामा भर्ना हुने क्रम पछिल्लो समय बढ्दो छ । धन कमाउने लोभले विदेशी सेनामा भर्ना भएर आफ्नो ज्यान जोखिममा राख्नु गलत रहेको बताउँदै आउनुभएका सेनापति शर्माले अवकाशपछि पनि आफूले सिकेको अनुभव र सिप फेरि पनि मुलुक र राष्ट्रका लागि उपयोग गर्न भूतपूर्व सैनिकलाई आग्रह गर्दै आउनुभएको छ । एक पटकको सैनिक सधैँको सैनिक हुने भन्दै प्रधान सेनापति शर्मा अवकाशप्राप्त सैनिकहरू राष्ट्रका सम्पत्ति भएकाले आवश्यक परे पुनः मुलुक र राष्ट्रका लागि योगदान गर्न तयार हुनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । नेपाली सेनाले सेनामा रहँदा सिकेको सिप र तालिम अवकाशपछि आफू बसेको समाज र समग्र मुलुकका लागि उपयोग गर्न भूतपूर्व सैनिकका लागि लक्षित गरी सैनिक कल्याणकारी बोर्डमार्फत विभिन्न सेवामूलक काम गर्दै आएको छ । अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारका लागि सैनिक कल्याणकारी कोषमार्फत शिक्षा, स्वास्थ्य, स्वरोजगार र सिप विकासमा सेनाले वार्षिक अर्बौं रकम खर्च गर्ने गरेको छ । जसका माध्यमबाट भूतपूर्व तथा उनका आश्रित परिवारलाई कोषमा जम्मा भएको रकमबाट निःशुल्क शिक्षा, स्वास्थ्य, स्वरोजगारमूलक सिप विकास तथा सहुलियत रूपमा व्यावसायिक कर्जा वितरण गर्दै आएको छ । 

कोषमा ८२ अर्ब बचत 

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा गत पुस मसान्तसम्म ८२ अर्ब ६६ करोड १२ लाख रुपियाँ बचत रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वान द्वन्द्वग्रस्त मुलुकको शान्ति सुरक्षा कायम गर्न खटिने सैनिकबाट जम्मा गरिएको सो रकमबाट सेनाले अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सिप विकास अर्थात् चार ‘स’ को अवधारणा अन्तर्गत खर्च गर्दै आएको छ । 

सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा पूर्वरथी गौरव तण्डुल बहालवाला तथा अवकाशप्राप्त सैनिकहरू शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सेवा बताउनुहुन्छ । नेपाली सेनामा हाल भूतपूर्व र तिनका आश्रित र एकल महिला गरी १० लाख आश्रित परिवार छन् । महिलालक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत २३ हजार ५८ बहालवाला तथा नौ हजार ९८५ आश्रित परिवार गरी जम्मा ३३ हजार ४३ जनालाई सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार रुपियाँ सहुलियत तथा सुलभ कर्जा उपलब्ध गराइएको छ ।

कल्याणकारी कोषमार्फत हालसम्म १८ हजार ८९८ जना हिताधिकारीलाई उद्यमशीलता तथा व्यावसायिक सिप विकास तालिमबाट स्वरोजगार बनाइएको छ । कोषको रकमबाट ज्येष्ठ, वृद्ध तथा अशक्त भूतपूर्व सैनिकलाई ह्विल चेयर उपलब्ध गराउँदै आएको छ । नेपाली सेनामा रहँदा रगत र पसिनाबाट आर्जित रकम कल्याणकारी कोषको मूल स्रोत हो । बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास सेनाले गरेको छ । सेनाका हिताधिकारीहरू जिम्मेवार, जागरुक, लगनशील र उद्यमशील रहेकाले सेवाकालमा आर्जित ज्ञान, सिप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाउने प्रयास सेनाले गर्दै आएको छ । 

१० लाख जनासँग पुनर्मिलन 

प्रधान सेनापति शर्माले नेपाली सेनाको तत्कालीन पश्चिम कमान्ड अन्तर्गत दिपायलको पाँच नम्बर बाहिनी अड्डा अन्तर्गतको राजपुर ब्यारेकबाट २०७८ चैत ९ गते सुरु गर्नुभएको पुनर्मिलन २०८० चैत ४ गते काठमाडौँको टुँडिखेलमा आइपुग्दा भूतपूर्व सैनिक, एकल महिला र आश्रित परिवार गरी झन्डै १० लाख जनासँग पुनर्मिलन गर्नुभयो । विभिन्न कार्यक्रममार्फत अवकाशप्राप्त सैनिकसँगको पुनर्मिलन गर्ने नेपाली सेनाको मौलिक चलन मुलुकमा जारी द्वन्द्वका बेला विसं २०५५ देखि २०७० सम्म रोकिएको थियो । 

विशेषज्ञसहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवा घरदैलोनजिकै पाउँदा दूरदराजका पूर्वसैनिक परिवार आफ्नो पूर्वसंस्थासँग थप नजिक रहेको अनुभूति गरिरहेका थिए । 

पूर्वसैनिकलाई बोलीले हैन, कार्यक्रमले नै सम्बोधन गर्ने उद्देश्यसहित सेनापति शर्माले ‘वेलफेयर भिजन–२०३०’ कार्ययोजना अघि बढाउनुभएको थियो । अवकाशप्राप्त तथा आश्रित परिवारका असीमित चाहनाको सम्बोधन गर्ने लक्ष्य कार्ययोजनाले बोकेको छ । सैनिक कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने तथा यस कार्यक्रममार्फत स्रोतसाधन र क्षमताले भ्याएसम्म सेवासुविधा थप गर्दै लगिने पनि कार्यक्रम रहेको छ । पूर्वसैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान उँचो बनाउनेलगायतका बुँदा कार्ययोजनामा समेटिएका छन् ।

अवकाशपछिको अवसर 

सैनिक कल्याणकारी बोर्ड पूर्वसैनिकको अभिभावक जस्तै हो । भूपू र आश्रित परिवारलाई कसरी समुन्नत बनाउने भन्नेबारे विभिन्न अध्ययन तथा कार्ययोजना बोर्डमार्फत तयार हुँदै आएको छ । फौजी सेवासँगै रहेका हितैषीहरू अवकाशपछि लाखापाखा भई बिरानो बन्ने अवस्थाको अन्त्य गर्ने उद्देश्य सेनाको छ । नेपाली सेनाका निमित्त प्रवक्ता सहायक रथी नवराज गुरुङले सैनिक कल्याणकारी बोर्ड र सैनिक कल्याणकारी महानिर्देशनालयको सम्पन्न सम्मेलनमा भूतपूर्व सैनिक तथा आश्रित परिवारका पिरमर्का बुझी अनुभव आदानप्रदान गर्न महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बहालवाला, भूपू र आश्रित गरी झन्डै १० लाख हिताधिकारीलाई चार ‘स’ अर्थात् शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सेवासुविधासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

हिताधिकारीहरूको उत्साहपूर्ण सहभागिताबाट कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई अझ व्यापक तथा बहुआयामिक बनाउने लक्ष्य सेनाले लिएको छ । कार्यक्रममा फरक क्षमता तथा अशक्त पूर्वसैनिक परिवारलाई ह्विल चेयर, बैसाखी पनि वितरण गरिँदै आएको छ । लामो समय सेनामा काम गरेर बाहिरिनेबित्तिकै अब के गर्ने भन्ने अन्योल आमपूर्वसैनिकमा हुनु स्वाभाविकै हो । घरायसी व्यवहार तथा र व्यावसायिक अनुभवबाट लामो समय टाढा रहेका पूर्वसैनिकलाई अवकाशपछि यस्तो अन्योल नहोस् भन्ने उद्देश्यले नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड गठन गरी पूर्वसैनिकको पुनर्उत्थान गर्ने लक्ष्य राखेको छ ।

सेनाले भूपू सैनिक र तिनका परिवारलाई समेत स्वावलम्बी तथा स्वरोजगार बनाउने उद्देश्यले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साना तथा मझौला व्यवसाय सञ्चालन गर्न बैङ्कहरूको सहकार्यमा बोर्डले हालसम्म १० हजारभन्दा धेरै पूर्वसैनिक र आश्रित परिवारलाई झन्डै आठ अर्ब रुपियाँ सहुलियत दरमा ऋणसमेत उपलब्ध गराइसकेको छ । ऋण लिएर सफल व्यवसायी बनेका सर्वोत्कृष्ट उद्यमीलाई बोर्डले पुरस्कार तथा सम्मान प्रदान गरी थप उत्प्रेरित गरिरहेको छ । 

फौजी समयमा रमाइलो गरी छुटेका साथी एक्कासि भेट हुँदा व्यक्त हुने खुसीको दृश्य सम्मेलनको आकर्षण बनेको छ । सम्मेलनमा वृद्धा भूपू सैनिकले गर्ने मार्चपास, स्थानविशेषको झाँकी, संस्कृति झल्किने नाच, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी मास तथा सैनिक ब्यान्डको प्रस्तुति अर्को आकर्षणको केन्द्र थियो । दूरदराजमा रहेका भूपू सैनिक र तिनका परिवारलाई प्रदान गरिने विशेषज्ञसहितको स्वास्थ्य शिविरमा शल्यक्रिया, स्त्रीरोग, बालचिकित्सा, आँखा, नाक, कान, घाँटी, दाँत, एक्स–रे, फार्मेसी, प्याथोलोजी, हाडजोर्नीलगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिँदै आएको छ ।