कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती ।
द्वापरे मुक्तिसोपाना कलौ नेपालिकापुरी ।।
हिमवत्खण्डमा भनिएको छ– प्राचीनकालदेखि नेपाल साधनाभूमि, तपोभूमि, देवोभूमि, पुण्यभूमिका नामले प्रसिद्ध छ । सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवनी, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल नामले यो भूमिलाई परिचित गराएको हो । नेपाल धर्मप्राण राष्ट्र हो । प्राचीन, मध्य र आधुनिककालसम्म राजनीतिक, धार्मिकलगायतका शरणार्थीले आश्रय पाएको विषय इतिहासले पुष्टि गरेको छ । नेपाली संस्कृतिमा उपासना प्रक्रिया, देवमन्दिर आदिमा रहेका कलाकौशल, रीतिरिवाज, पर्व, जात्रा आदिमा तन्त्रको प्रभाव छ । प्राचीनकालदेखि आजसम्म निरन्तर प्रवाहित भएर यसले जीवनलाई पवित्र र महान् बनाउन सहयोग पु¥याएको छ । यस जीवनमा भोग र मृत्युपछि मोक्ष प्रदान गर्ने मन्दाकिनीका रूपमा हामी आफ्नो तन्त्र परम्परालाई लिन सक्छौँ । तन्त्र के हो ? यसको आविर्भाव कसरी भयो भन्ने बुझ्न आगम र तन्त्रको विश्लेषण गर्नु पर्छ । भैरवी साधनाको तपोभूमि नेपालमा श्मशान साधनाको ऐतिहासिक एवं दार्शनिक पक्षसँगै काठमाडौँ उपत्यकाभित्रै रहेका १० साधनास्थलबारे यस आलेखमा विस्तृत वर्णन गरिएको छ ।
पौराणिक आधार र श्मशान अवस्थिति
नेपालमा श्मशान साधनाको प्रामाणिक ऐतिहासिक अध्ययन गोपाल वंशावलीसम्म पुग्छ । गोपाल वंशावलीमा भएको वर्णनानुसार द्वापरयुगमा द्वारकाबाट श्रीकृष्णको साथमा आएका गोपालवंशीमध्ये गोठालाका मुखिया वा नाइके भुक्तमानले विव्रmम संवत् सुरु हुनुअघि अर्थात् झन्डै दुई हजार आठ सय वर्षअघि पशुपतिको ज्योतिर्लिङ्ग पत्ता लगाएको ऐतिहासिक तथ्य र प्रमाण भेटिन्छ । श्मशान नै भगवान् शिवको प्रिय स्थल रहेको र पशुपति क्षेत्रको स्थापनासँगै भैरवी साधना र श्मशान साधना प्रारम्भ भएको तथ्यलाई ऐतिहासिक प्रमाणका आधारमा मान्न सकिन्छ । भैरवी साधकले करवीर श्मशानलाई सबैभन्दा सर्वोत्कृष्ट साधनास्थल मान्छन् । हुन त इसाको सातौँ/आठौँ शताब्दीसम्ममै लिच्छविकालीन युगमा उपत्यकाका भक्तपुर, पाटन, कीर्तिपुरसहितका क्षेत्रमा बस्ती विस्तार भएको पाइन्छ । त्यसबेला श्मशानघाट बस्तीभन्दा धेरै टाढा हुन्थे । सहरभन्दा पाँच किलोमिटर टाढा ‘वन दुर्ग’ का रूपमा रहेको पशुपति क्षेत्रका आर्यघाट र भस्मेश्वर घाट, भक्तपुर दरबार क्षेत्रभन्दा टाढा रहेका करवीर श्मशान, हनुमानघाट तथा शङ्खमूल, बालकुमारी र कालमोचन जस्ता स्थान लिच्छविकालमै वस्तीबाहिरका भैरवी साधनास्थल थिए । कीर्तिपुर डाँडामा बस्ती भएकाले त्यसको तल एकान्त स्थान भाजङ्गललाई श्मशान साधनाको उपयुक्त स्थल मानिन्छ ।
प्रमुखतः करवीर श्मशान, भक्तपुर, हनुमानघाट श्मशान भक्तपुर, पशुपति आर्यघाट, शङ्खमूल श्मशानघाट, बालकुमारी श्मशान, कालमोचन, नौकप्टेरे, भाजङ्गल श्मशानघाट, स्वयम्भू श्मशानघाट, दक्षिणकाली श्मशान र जलविनायक चोभार श्मशानघाट नै भैरवी साधनाका लागि परिचित स्थल हुन् । विशिष्ट ऐतिहासिक धरोहरका रूपमा रहेको स्वयम्भू श्मशानबारे पौराणिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । स्वयम्भूको श्मशान साधना वज्रयानमा आधारित र सम्बन्धित छ । १२ औँ शताब्दीतिर मुसलमानको आक्रमणका कारण नालन्दा र विक्रमशिला जस्ता महाविहार ध्वस्त भएपछि अभयाकर गुप्तसहितका आचार्य नेपाल आएर साधना अघि बढाएको उल्लेख छ । आचार्यहरूले स्वयम्भू विहारमा बसेर तन्त्र साधना र ग्रन्थ रचना, जस्तै– साधनामाला, निष्पन्नयोगावली कार्य अघि बढाएको मानिन्छ । स्वयम्भूमा प्रायः बौद्धमार्गी साधना गर्छन् । यसरी श्मशान साधना पुष्पित र पल्लवित हुँदै गएको हो ।
कीर्तिपुरको पुरानो बस्ती डाँडाको माथिल्लो भागमा थियो । खोल्साछेउमै रहेको तल्लो क्षेत्रको भाजङ्गलमा बस्तीलाई तर्काएर श्मशानस्थल बनाइएको थियो । भाजङ्गलमा पनि प्राचीनकालदेखि भैरवी साधना अभ्यास हुने गरेको विश्वास गरिन्छ । साधकहरूले कुनै प्रमाण नराखे पनि साधना गर्न एकान्त र उपयुक्त भएकाले भाजङ्गललाई भैरवी साधना गर्न सहज स्थलका रूपमा लिइएको हो । स्वयम्भू श्मशानभन्दा दक्षिणकाली श्मशान र जलविनायक श्मशान अलि फरक छन् । स्वयम्भू पुराणका अनुसार स्वयम्भूको उत्पत्ति, देवपत्तन र मञ्जुपत्तन सहर बसाउने कार्य आदिको थालनी त्रेतायुगमै भएको छ । स्वयम्भूको मसान वज्रयान बौद्ध धर्मसँग सम्बन्धित रहनु र वज्रयान इसाको चौथो शताब्दीतिर विकास भएको, मञ्जुश्रीमूलकल्प नामक ग्रन्थ रचना भएपछि मात्रै वज्रयान आरम्भ भएकाले स्वयम्भूको श्मशान साधना इसाको चौथो शताब्दीमा भएको मान्नु तर्कसङ्गत हुन्छ । भक्तपुरको करवीर श्मशान, दक्षिणकाली, जलविनायकसहितका अन्य श्मशान मानव बस्ती विस्तार, सभ्यता र संस्कृतिको विकासक्रमसँगै एकान्त ठाउँको खोजीमा पुगेका साधकले साधनाका लागि उपयुक्त स्थलका रूपमा पहिचान गरेका हुन् । तीन वटा कप्टेराबाट दाहसंस्कार सम्पन्न गर्न सकिने तीनकप्टेरे श्मशान पनि साधनाका लागि ज्यादै उपयुक्त मानिन्छ ।
तन्त्रमा शिवको महिमा
वैदिक ज्ञान कहिल्यै पुरानो र व्यर्थ हुँदैन । मानिसले निर्माण गरेका ज्ञान त समयानुकूल हुन्छ । परमात्मा वा देवीदेवताबाट सिर्जित ज्ञान अनुपयोगी हुने त प्रश्नै हुँदैन । हाम्रा ज्ञानविज्ञानका जन्मदाता देवीदेवता र ऋषिमुनि हुन् । उनीहरूबाटै शास्त्रको निर्माण र विस्तार भएको पाइन्छ । यसबाट तन्त्र पनि अछुतो छैन । तन्त्रको आविर्भाव शिवबाट भएको हो । शिव शब्दको अर्थ कल्याण हो । शिव शब्दमा ‘श’ कारको अर्थ नित्य सुख वा आनन्द, ‘इ’ कारको अर्थ पुरुष एवं ‘व’ कारको अर्थ अमृतस्वरूप हुन्छ । जसले सबैलाई नित्य सुख दिन्छ, त्यसलाई शिव भनिन्छ । यो सामथ्र्य परमात्मामा मात्रै हुन्छ । त्यसैले शिवतत्व अलौकिक र अवर्णनीय तत्व हो । शिवपुराणका अनुसार शिवका शर्व, भव, रुद्र, उग्र, भीम, पशुपति, ईशान र महादेव गरी आठ मूर्ति छन् । भूमि अर्थात् जमिनका सर्व, अग्नि (आगो) का भव, जल (पानी) का उग्र, पवन (वायु) का भीम, आकाशका पशुपति, सूर्यका ईशान, चन्द्रमाका महादेव एवं जीवात्माका आत्मा अधिष्ठाता देवता हुन् । अष्टमूर्तिको एकाकार रूप शिव भएकाले उहाँलाई परमात्मा भनिन्छ । भूत, भविष्यत र वर्तमानका सबै प्राणी शिवबाटै उत्पन्न हुन्छन् र वृद्धि हुँदै गएर अन्त्यमा उहाँमा नै लीन हुन्छन् । संसारमा जे छ सवै शिव हो र शिवमै सबै अडेका छन् । शिवलाई व्याख्या गरेर बुझ्न सकिँदैन । शिवतत्व त अध्ययन, चिन्तन, मनन र निदिध्यासनबाट अनुभूत गर्ने विषय हो । १८ पुराणमध्ये १० पुराणमा शिवको चरित्रामृत, स्तुति मात्र छ । चार पुराणमा ब्रह्माको, दुई पुराणमा देवीको र दुई पुराणमा विष्णुको वर्णन छ । शिवको यही गरिमा र महिमाले गर्दा नै पुराणमा उहाँको स्थान अतिविशिष्ट भएको हो । सातौँ शताब्दीका प्रसिद्ध विद्वान् बाण भट्टले संस्कृत भाषाको अमर ग्रन्थ कादम्बरीको मङ्गलाचरण श्लोकमा शिवको महिमा स्पष्ट रूपमा उल्लेख गरेका छन् ।

स्वयम्भूनाथघाट, काठमाडौंँ
अन्तर्राष्ट्रिय अभ्यासमा भैरवी साधना
पौराणिक अध्ययन अनुसार इसाकै १२ औँ शताब्दीमा काश्मीरी शैव सम्प्रदायका आचार्य अभिनव गुप्ताले तन्त्रको विकासमा योगदान गर्नुभएको हो । उहाँले तत्कालीन सामाजिक परम्परालाई समेटेर तन्त्र आलोकसहितका तन्त्रशास्त्र एवं ग्रन्थ रचनामार्फत तन्त्रविज्ञानको श्रीवृद्धि गर्ने कार्यमा अमूल्य योगदान गर्नुभयो । साथै कौलमार्गीको कुलार्णव तन्त्रसहित धेरै तन्त्रशास्त्रका ग्रन्थको रचना पनि त्यही बेला भएको प्राचीन ग्रन्थबाट प्रमाणित हुन्छ । वज्रयान बौद्ध धर्म एवं परम्परा अनुसार साधनामाला, निष्पन्नयोगावलीसहित कैयौँ तन्त्रग्रन्थ प्रकाशित भए । विक्रमशिला महाविहारका आचार्य अभयाकर गुप्ताको योगदानबाटै विक्रमशिला महाविहारमा तन्त्रशास्त्रको अध्ययन, अध्यापन एवं प्रयोगात्मक अभ्यास भएको हो । अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्दा तिब्बती बौद्ध धर्म नेपालको वज्रयानलाई बोन्पोमा मिश्रण गरी पद्मसम्भवले प्रचारप्रसारमा ल्याएको पाइन्छ । त्यसै आधारमा तिब्बती बौद्ध धर्ममा एकान्त ध्यानसाधनालाई प्राथमिकता दिइएको हो । इसाकै सातौँ शताब्दीताका तिब्बती बौद्ध धर्मावलम्बी नेपाल आएका र उपत्यकामा पनि तन्त्र साधनालाई निरन्तरता दिएको पाइन्छ ।
श्मशान एवं भैरवी साधनाको सैद्धान्तिक एवं वैचारिक पक्ष ऐतिहासिक छ । झन्डै १४ हजार वर्षअघिका फ्रान्स र स्पेनका गुफा चित्रले पनि श्मशान साधनाको अभ्यास प्राचीन युगमा भएको अध्ययनबाटै पुष्टि भएका छन् । उल्टो शिर भएका जनावर र नग्न मानिसका चित्रले पनि आदिमकालमा ‘झाँक्री परम्परा’ वा तन्त्र साधनाको अभ्यास भएको मान्न सकिन्छ । शैव, पाशुपत, कापालिक र कालामुख सम्प्रदायका योगी एवं साधकले नेपालमा भैरवी साधनाको अभ्यास गरेको पाइन्छ । इतिहासको अध्ययन अनुसार इसापूर्व १५० ताका भगवान् शिवको नकुलिनका शिष्य कुशिक, गर्ग, मैत्रेय र कौरुष्यले प्रतिपादनका धाराहरूबाटै तन्त्र साधनाले आकार ग्रहण गरेको तथ्यलाई शिवपुराणसहित ऐतिहासिक ग्रन्थले पुष्टि गर्छ ।
श्मशान पूजाका प्रकार र उद्देश्य
भैरवी साधना एवं तन्त्रशास्त्रमा श्मशान पूजालाई मुख्यतः तीन प्रयोजनका लागि गरिने भनिएको छ । पहिलो शान्तिक कर्म हुन्छ । शान्तिक कर्मको पूजा रोगव्याध र बाधा अवरोध हटाउन गरिन्छ । दोस्रो सिद्धिकर्म; जसको साधना कार्य सफलता र आत्मशक्ति वृद्धि गर्नका लागि हुन्छ । तेस्रो, अभिचार कर्म हो । यो कर्म मारण, मोहन र उच्चाटन जस्ता विनाशकारी शक्तिको समन वा प्रयोगका लागि गरिन्छ ।
श्मशान साधनाका लागि समय, तिथि र विशिष्ट मुहूर्त निर्धारण गरिएको हुन्छ । साधनाका लागि तिथिको छनोट उद्देश्य अनुसार फरक हुन्छ । पूजा पञ्चक तिथि पारेर गर्नु पर्छ । विशेष गरी पञ्चमी, पूर्णिमा र औँसीको पूजालाई मनोकामना र रोग निवारणका लागि उपयुक्त समय मानिन्छ । सूर्यग्रहण र चन्द्रग्रहण लागेका बेला आत्मसिद्धि र मन्त्रलाई चैतन्य बनाउन सबैभन्दा शक्तिशाली समय मानिन्छ । साधना सधैँ मध्यरातमा १२ देखि ३ बजेसम्म हुन्छ; जसलाई भूतप्रेतसमेत निदाउने समयका रूपमा लिइन्छ । पूजा पूर्णतः गोप्य हुन्छ र यो समयलाई निषिध काल भनिन्छ ।
साधनाका नियम र सामग्री
भैरवी साधना जति रहस्यमय छ, उत्तिकै कठिन पनि हुन्छ । तिथिको प्रकृति अनुसार वस्त्रको रङ फरक हुन्छ । साधकले साधना अवधिभर कालो कपडा वर्जित गर्ने र शुभ कार्य वा बिरामी भेट्न नजाने जस्ता नियम पालना गर्नु अनिवार्य हुन्छ । पूजाका सामग्री पनि विशिष्ट हुन्छन् । अनिवार्य वस्तुहरूमा सिद्रा अर्थात् सुकेका माछा, कालो भटमास, माछा, सस्र्युं, जौको पिठो, मास र हाँसको अन्डा पर्छन् । पूजा र साधना गर्न पवित्रतामा एकदमै महत्वपूर्ण हुन्छ । मिल एवं मेसिनमा कुटेको नभई हातैले छोडाएको चामल र प्राकृतिक फूल रातो र पहेँलो मात्र प्रयोग गरिन्छ । पूजा सामग्री पनि तिथि अनुसार फरक फरक हुन्छन् । औँसीमा पूजा गर्दा ५४ थरी सामग्री चाहिन्छ । पूर्णिमामा पूजा गर्दा २९ देखि ५४ वटासम्म सामग्री चाहिन्छ । पञ्चमीमा पूजा गर्दा १०९ थरीका परिकारबाट पूजा गरिन्छ । ग्रहण लागेका बेला भने पूजा गर्न २१ थरी परिकार अनिवार्य चाहिन्छ ।
औँसी, पूर्णिमा, पञ्चमी, सूर्यग्रहण, चन्द्रग्रहणका बेला पूजा गर्दा सात थरीका सामग्रीमा समानता हुन्छ । मोटामोटी रूपमा सिद्रा, कालो भटमास, माछा, नेवारीमा समयबजी भनिन्छ अर्थात् सिसा–भुसासहितका सामग्री अनिवार्य चाहिन्छ । ग्रहणबाहेकका पूजामा हाँसको अन्डा अनिवार्य प्रयोग हुन्छ । नौ थरी कपडा, कपुर, कपासकै बत्ती, माटाको पाला, माटोकै कलश, भद्र सिन्दूर, अबिर, केशरी, चामल, खड्गपात्र र नौमुखे करुवा चाहिन्छ । साथै भक्तपुरको करवीर श्मशान, भाजङ्गल, कालमोचन, पशुपतिनाथको आर्यघाट, शङ्खमूल श्मशानमा पूजा गर्ने विधि र प्रक्रिया फरक फरक हुन्छ । श्मशान पूजा एवं भैरवी साधना गर्दा एवं सबै तन्त्र पद्धतिका पूजा आफ्नो शिष्यभन्दा अरूलाई देखाइँदैन । श्मशान पूजा एकदम गुप्त पूजा हो । पूजा गरेको दिन कुनै पनि शुभ कार्यमा जानु हुँदैन । श्मशानको पूजा गरेको दिन कालो कपडा लगाउनु पनि हुँदैन । पूजामा वस्त्र धारण गर्ने विधि पनि फरक हुन्छ । तन्त्रसाधकले औँसी, पूर्णिमा, पञ्चमी र ग्रहण लागेको बेलामा लगाउने वस्त्र पनि छुट्टाछुट्टै हुन्छन् ।
सिद्धि प्राप्ति प्रक्रिया
भैरवी साधना कठोर साधनाको पराकाष्ठा हो । सिद्धि प्राप्त गर्न नौ देखि ३६५ दिनसम्मै लाग्न सक्छ । साधकले २१ दिने अनुष्ठान गरिरहेको भए त्यस अवधिमा निश्चित अन्तरालमा श्मशानमा दाहसंस्कार भएकै हुनु पर्छ । तोकिएको दिनभित्र शवको दाहसंस्कार नभए साधना भङ्ग हुन्छ । त्यसपछि पुनः शून्यबाटै आरम्भ गर्नु पर्छ ।
त्यसैले भैरवी साधना तन्त्रको अन्तिम र निपुण चरण हो । यसका लागि कम्तीमा २० वर्षको पूर्वतयारी र १०९ वटा जटिल विधिको पारङ्गत निपुणता आवश्यक पर्छ । गुरुको निर्देशन र मन्त्रको कम्पनयुक्त उच्चारणबिना भैरवी साधना असम्भव छ । सिद्धि प्राप्त गर्न ९० दिनको अवधि छुट्याउनु पर्छ तर ९० दिनमै सकिन्छ भन्ने हुँदैन । कुनै अवस्थामा एक वर्ष नै लाग्न सक्छ । पछिल्ला दशकमा भौतिक अतिक्रमण, बस्ती विस्तारसँगै श्मशानघाटमा पर्खाल लगाइएको छ । यसका कारण साधनामा कठिनाइ हुँदै आएको छ । श्मशाननजिकैको खाली जग्गा घर एवं बस्तीले भरिएका छन् । यति हुँदाहुँदै पनि तन्त्र साधनाको ओज र आवश्यकता अझै बढिरहेको छ । साथै तन्त्रसाधकले आफ्नो शक्तिलाई प्रदर्शन नगरी जनहितमा गुप्त राख्नु नै यस मार्गको महानता र वास्तविक सौन्दर्य हो ।
तन्त्र र समाज
तन्त्रसाधक सचेत हुन्छन् र हुनु पर्छ । आफूले आफूलाई शक्तिशाली देखाउँदैनन्, गुप्त राख्छन् । नभए तान्त्रिकले जे चाह्यो त्यही गर्न सक्छन् । भैरवी साधनालाई सदुपयोग नगर्दा नराम्रो घटना पनि हुन्छ । गुरुबिना तन्त्र अध्ययन असम्भव हुन्छ । गुरुको आदेशबिना, गुरुले नसिकाईकन कुनै पनि काम गर्न सकिँदैन । यसका विविध मन्त्र हुन्छन्, त्यो उच्चारण गर्ने पनि एउटा पद्धति हुन्छ । सही तरिकाले उच्चारण गर्दा प्रकृति नै कम्पन हुन सक्छ । गुरुबाटै तन्त्र र मन्त्रको ज्ञान प्राप्त हुन्छ । कसरी प्रयोग गर्ने भन्ने पनि गुरुबाटै सिक्नु पर्छ । तन्त्र साधना गर्दा १०९ वटा विधि पूरा गर्नु पर्छ । १०८ वटा विधि पूरा भएपछि मात्रै अन्ततः गुरुले भैरवी साधना सिकाउने प्रचलन छ । सामाजिक रूपान्तरण, सांस्कृतिक रूपमा वैश्विक प्रभावबिच भैरवी साधनाहरूले आफ्ना शक्तिलाई प्रदर्शन नगरी जनहित र समाजको उन्नतिका पक्षमा लगाउनु नै हितकर हुन्छ ।