राममणि दाहाल
मकवानपुर, चैत २१ गते । मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।
मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती गाउँपालिका–८ स्थित न्युरेनीमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय कृष्ण बहादुर विकको शुक्रबार मृत्यु भएको हो। फापरबारीबाट हात्तीसूदा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले विकलाई ठक्कर दिँदा गम्भीर घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर कुमालको नेतृत्वमा टोली पुग्नु अघि आफन्तले विकलाई हेटौँडा अस्पताल पठाएका थिए। अस्पतालमा चिकित्सकको जाँचपछि मृत्यु पुष्टि भएको थियो। मोटरसाइकलका स–साना टुक्रा दुर्घटनास्थलमा फेला परेकोले फरार चालकको खोजतलास जारी छ।
यस्तै, त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–१२ स्थित टिष्टुङ सडक खण्डमा शनिबार बिहान काठमाडौँबाट आउँदै गरेको खाली १२ चक्के ट्रक (बा.प्र.०३–००१ ख १७५० नं.) को अगाडिको दाहिने साइड पट्टा भाँचिएर सडकमा पल्टिँदा ट्रक चालक २७ वर्षीय धु्रव घले घाइते हुनुभएको छ। उहाँलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ। ट्रक घटनास्थलमै अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।
हेटौँडा–९ सिमेन्ट रोडस्थित भित्री सडक खण्डमा शनिबार वनस्पतिबाट गुम्बाचोकतर्फ आउँदै गरेको ना.६ ख ४८०८ नं. चामल लोड ट्रकले पार्किङमा रहेको खाली ट्रक (ना.६ ख १३०२ नं.) लाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। ट्रक सह–चालक २७ वर्षीय बिजन थोकर ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो। घाइते अन्य व्यक्ति ३८ वर्षीय रामसुन्दर अधिकारी र २७ वर्षीय बिष्णु नगरकोटी हुनुहुन्छ। दुवैको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ।
त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ खरङ्गा सडक खण्डमा बा १५ च ६०३५ नं. स्कार्पियो गाडी गएराति दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तीव्र गतिका कारण गाडी अनियन्त्रित भई सडकबाट करिब १८–२० मिटर तल खोल्सामा खस्दा चालक ४० वर्षीय झलक बर्तौला र ३० वर्षीय बद्रि ढकाल घाइते भएका हुन्। दुवैको उपचार सन्चो अस्पताल, हेटौँडामा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।