गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालले मुलुकको लोकतन्त्र स्थापना र यसको संस्थागत गर्नमा ठुलो योगदान रहेको बताउनुभएको छ ।
रेडियो नेपालको ७६ औं वार्षिकोत्सव कार्यक्रममा शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । पहिले र अहिलेको रेडियोको दायरा फराकिलो र फरक भएको बताउँदै उहाँले रेडियो नेपालको संरक्षणमा पनि रेडियोमा कार्यरत पत्रकार र कर्मचारीको दायित्व भएको बताउनुभयो ।
रेडियो नेपालको भूमिका लोकतन्त्रको संस्थागत गर्ने काम भएको बताउँदै जिम्मेवार भएर सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । रेडियो नेपालमा आफूले पनि यसअघि विभिन्न रचनाहरु पठाउने गरेको र साहित्यको सिर्जना त्यसपछि गर्न थालेको बताउनुभयो ।

रेडियो नेपालले धेरै स्रष्टाहरु जन्माएको चर्चा गर्नुहुँदै मन्त्री तिमिल्सिनाले देश एउटा उर्जा र नयाँ गतिसहित अघि बढ्को बताउनु हुँदै उहाँले सबै क्षेत्रमा नकारात्मकता हावी भएको भए पनि अब रुपान्तरण गरिने प्रतिवद्धता जनाउनुभयो । देश बनाउन सञ्चार माध्यममो ठुलो भूमिका रहने बताउँदै उहाँले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको चर्चा गर्नुभयो ।
सबै कर्मचारी र पत्रकारले इमान्दारितासाथ काम गरेमा संस्था राम्रो हुने र संस्था राम्रो भएमा देश राम्रो हुने बताउनुभयो । अरुबाट जवाफदेहिता खोज्नुभन्दा पनि आफू पनि जवाफदेही हुनु अनिवार्य रहेको बताउँदै उहाँले भन्नुभयो, “एक इन्च पनि दायाँ बायाँ गर्नेलाई छाड्न नहुने म्यान्डेट जनताले दिएर पठाउनुभएको छ, त्यसमा इमान्दारितापूर्वक काम गर्नेछौं ।”
मन्त्रालयका बन्द कोठामा हामी कुनै सेटिङ गर्दैनौं, सेटिङ गर्नेलाई कारवाहीको दायरामा ल्याउने छौं भन्नुहुँदै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “सबै इमान्दार र जिम्मेवार भएको भए, देश धेरै अघि बढिसक्थ्यो, रेडियो नेपालमा कार्यरत पत्रकार र कर्मचारी सबै इमान्दार भएको भए रेडियो नेपाल पनि धेरै परिवर्तन भइसक्थ्यो ।” गर्व गर्ने लायक काम गर्न उहाँले कर्मचारी तथा पत्रकारलाई निर्देशन दिनुभयो । देशमा आशा र भरोसा सञ्चार गर्नेगरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।
जनताले हरेक दिन नेता र जिम्मेवारी पदमा भएकाहरुको निगरानी गरिरहनुभएको बताउँदै उहाँले सबैले आफ्नो दायित्व पूरा गर्नमा सक्रिय रहन आग्रह गर्नुभयो । देशमा नपुगेको केही छ भने इमान्दारितापूर्वक काम पुगेको छैन । सबैजना इमान्दार र जिम्मेवार भएमा संस्थामात्र होइन, देश पनि सुन्दर बन्ने उहाँले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले परिवर्तित समयमा रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले रेडियो नेपालको अहिले ९४ प्रतिशत नागरिकमा पहुँच पुगेको बताउनुभयो ।
सरकारी सञ्चार माध्यम भएकाले रेडियो नेपालको आफ्नै पहिचान र जिम्मेवारी रहेको बताउँदै उहाँले सत्यतथ्य र विश्वसनीय समाचार पस्केर श्रोताको विश्वास कायमै राख्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमको भूमिका र जिम्मेवारी जनतालाई सुसूचित गर्नु रहेकाले विश्वसनीयता कायम राख्न उहाँले कार्यरत सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसवी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले विभिन्न आरोह अवरोह खेप्दै रेडियो नेपाल अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । पछिल्लो समय सार्वजनिक सेवा प्रसारणमा आइपुगेको बताउँदै उहाँले संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै लगिने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण अन्य मुलुकमा पनि अभ्यासमा रहेको भए पनि यसको सही व्यवस्थापनमा जटिलता र चुनौती रहेको बताउनुभयो । आगामी दिनमा मन्त्री र मन्त्रालयको समन्वय र सल्लाहअनुसार पिएसबीलाई स्थापित गर्दै जाने बताउनुभयो । मुलुकको समृद्धिमा वर्तमान सरकारले लिएको लक्ष्यमा पिएसबी कार्यालयबाट आवश्यक हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । संस्थाको उन्नयनका लागि यहाँ कार्यरत कर्मचारी र पत्रकारको क्षमता बृद्धिमा काम गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।
वार्षिकोत्सव कार्यक्रमको उदघाटनसत्रमा कार्यकारी अध्यक्ष डा. विष्टले मन्त्री तिमिल्सिना र सचिव बस्नेतलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा यादव खरेल, मुकुल भट्टचार्यलाई सम्मानित गरिएको थियो ।
