• २१ चैत २०८२, शनिबार

अस्तित्वको मौन व्याकरण

blog

आजको युगमा समयसँग मानिसको सम्बन्ध विचित्र विरोधाभासबाट गुज्रिरहेको छ । हामी व्यस्त छौँ तर सन्तुष्ट छैनौँ । तीव्र गतिमा कुदिरहेका छौँ तर गन्तव्यको पत्तै छैन । समयलाई हामी प्रायः उत्पादकताका आधारमा मापन गरिरहेछौँ, जब कि जीवन–मूल्य यसैमा मात्र सीमित हुनै सक्दैन । जति जति हामी समय बचाउने विधि र प्रविधि अपनाउँदै छौँ उति उति समयको कमी महसुस गरिरहेछौँ । तमाम भौतिक उपलब्धि हासिल गर्दागर्दै पनि दिनहुँ अनेक अन्योल र दुबिधा खेप्न अभिषप्त छौँ ।   

यही बेचैन आधुनिकताको पृष्ठभूमिमा समयका अनेकन् उहापोह खोतल्दै सार्वजनिक भएको छ, लेखक तथा सम्पादक श्रीश भण्डारीको गहन पुस्तक ‘समय–सूत्र’ । यसअघि नै उत्प्रेरणात्मक किताब ‘अठोट’, किशोर उपन्यासहरू ‘अकथित’, ‘पृथ्वीमा अतिमानव’ लगायत आठ पुस्तक प्रकाशित गरिसकेका भण्डारीले यस कृतिमा समयलाई समग्रमा बुझ्ने/बुझाउने प्रयास गर्नुभएको छ ।  

पहिलो दृष्टिमा धेरैलाई यो पुस्तक उत्प्रेरणात्मक लेखन जस्तो लाग्न सक्छ । विषयवस्तुको गहिराइमा डुब्दै जाँदा यसको रूप बिस्तारै बदलिन थाल्छ । यसमा समयको पहिचान भौतिक निरन्तरताका रूपमा सीमित छैन बरु अनुभव, मनोविज्ञान र जीवन दर्शन हुँदै चेतनाको अन्तिम केन्द्रका रूपमा देखा पर्छ । 

समयलाई हामी प्रायः बाह्य संरचना ठान्छौँ– घडीको चाल, दैनिक तालिका, वार्षिक क्यालेन्डर वा यस्तै केही तर समयको अनुभव हाम्रो चेतनामा निर्मित हुन्छ । जब चेतना अव्यवस्थित हुन्छ, समय पनि विखण्डित देखिन्छ । जब चेतना स्पष्ट हुन्छ, समय अर्थपूर्ण लयमा बदलिन्छ ।

पुस्तकमा समयका भौतिक, अनुभूत, जैविक र मनोवैज्ञानिक आयामहरूको व्याख्या छ । समयसँग सम्बन्धित विविध तथ्य र पाटाहरूलाई स्पष्ट र प्रवाहपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । समयलाई भौतिक नियमका सन्दर्भमा मात्र नभई मानव अनुभव, इतिहास, दर्शन र संस्कृतिसँग एकाकार गरिएको छ । 

झट्ट सुन्दा सजिलो लागे पनि समयलाई बुझ्न÷बुझाउन निकै कठिन छ । समय ब्रह्माण्डसँगै सुरु भयो कि त्यसअघि पनि थियो ? बह्माण्डको अन्त्य भयो भने त्यसपछि समय रहला ? ‘समय–सूत्र’ ले यी अहम् प्रश्नका उत्तर पहिल्याउने जमर्को गर्छ । यसमा समयको मूल्य, सार्थकता र सदुपयोगलाई मिहिन ढङ्गले समेटिएको छ । 

शीर्षकले सङ्केत गरे झैँ पुस्तकको संरचनामा सूत्रात्मकता छ । १६ अध्यायको यस पुस्तकका प्रत्येक अध्यायलाई विस्तार गर्नुअघि लेखकले एक वा दुई वाक्यमा सूत्रबद्ध गर्नुभएको छ । प्रतिपाद्य विषय छोटा कथन, उदाहरण र अनुभवमार्फत प्रस्तुत छन् । यसले पाठकलाई भावना र विचारहरूको निरपेक्ष प्रापक मात्र होइन, सक्रिय चिन्तकसमेत बनाउँछ । पढिसकेपछि यसका कथनहरूलाई आफ्नै जीवनसँग तुलना गर्न करै लाग्छ । 

पुस्तकको भाषा सरल र अन्तर्वस्तु गहिरो छ । लेखकका दृष्टिमा समयसँगको हाम्रो सम्बन्ध बाह्य अनुशासनबाट होइन, आन्तरिक प्रेरणा र स्पष्टताबाट निर्माण हुन्छ । चेतना अव्यवस्थित छ भने समयको जुनसुकै तालिका अर्थहीन हुन्छ । चेतना सजग छ भने सीमित समय पनि असाधारण सम्भावनाहरूमा रूपान्तरित हुन सक्छ ।

पुस्तकमा समयलाई बुझाउन प्रयुक्त वैदिक कालदेखि आधुनिक युगसम्मका दृष्टान्त रोचक छन् । भौतिक उपलब्धिलाई मात्रै समयको उपयोग ठह¥याउने तर आत्मिक अनुभव र मौनतालाई कमजोरी ठान्ने सोचप्रति लेखकको भद्र विमति छ । समय सूत्रले आधुनिक जीवनको हतारोलाई अस्वीकार गर्दैन; बरु त्यसलाई अर्थपूर्ण बनाउन आग्रह गर्छ ।

समयसँग सम्बन्धित प्रेरक प्रसङ्गहरूले पुस्तकको मौलिकता बढाएको छ । पुस्तक पढ्दा यसका विषयवस्तुको अध्ययन र खोजका लागि लेखकमा कुन हदको अध्ययन, परिश्रम, चिन्तन, विश्लेषण क्षमता र धैर्य आवश्यक प¥यो होला भनेर अनुमान लगाउन सकिन्छ । छोटा तर अर्थपूर्ण सङ्कथनहरूले पुस्तकलाई खास र विशेष बनाएका छन् ।   

लेखकले सिधै नभने पनि उहाँका विचारहरूले एउटा प्रस्ट सङ्केत दिइरहेको छ– समकालीन समाज, खास गरी परम्परागत उल्झन र आधुनिक हतारोबिच सन्तुलन मिलाउन नसकिरहेको किशोर तथा युवापुस्ताले समयलाई बृहत्तर रूपमा बुझ्नु अपरिहार्य छ । हामी समयलाई केवल बित्न दिन्छौँ, कि अर्थपूर्ण पनि बनाउँछौँ ? प्रत्येकले यो उत्तर पहिल्याउनु आवश्यक छ । यस अर्थमा यो पुस्तक आमपाठकका अतिरिक्त माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नपढी नहुने पाठ्यवस्तु हो भन्न सकिन्छ । 

पुस्तकमा समय मापनका लागि मानिसले इतिहासदेखि आजसम्म गरेका प्रयास र प्रयोगको चर्चा छ । यस कृतिको मुख्य उद्देश्य समयसम्बन्धी खोज तथा अनुसन्धानमा आधुनिक विज्ञान र वैदिक ज्ञानलाई सँगसँगै लैजानु र पाठकलाई समयसम्बन्धी नयाँ दृष्टिकोण प्रदान गर्नु रहेको छ । पुस्तकको अर्को महत्वपूर्ण अवधारणा 

आत्म–अनुशासन हो । र, यो भनेको अरू केही नभई सही समयमा सही कर्मको परिपालन हो । ‘समय–सूत्र’ को निष्कर्ष पनि सम्भवतः यही नै हो । 

हामी सबैको जीवन सीमित छ तर सम्भावना असीमित । समयले हामीलाई सीमित मात्र बनाउँदैन, त्यही सीमितताले जीवनलाई अर्थ दिन्छ । समय अनन्त हुन्थ्यो भने सायद जीवनको मूल्य पनि हराउँथ्यो ! ‘समय–सूत्र’ यही सीमितता र सम्भावनाबिचको सम्बन्धलाई सरल तर गहिरो भाषामा सम्झाउने प्रयास हो । यसले पाठकलाई एउटा मौन प्रश्न सोध्छ– तपाईं आफ्नो समयसँग कस्तो सम्बन्धमा बाँचिरहनुभएको छ ? 

‘समय–सूत्र’ पुस्तकको सार हो– समय बितिजाने पलहरूको मापन मात्र होइन  ! यो यस्तो अदृश्य शक्ति हो, जसले अस्तित्वका सम्पूर्ण घटकलाई हरपल प्रभावित तुल्याइरहेको हुन्छ ! यो यस्तो मौन व्याकरण हो, जसले जीवनका सबै वाक्यलाई अर्थ दिन्छ !!!

पुस्तकमा समावेश डेढ सयभन्दा बढी फुटनोटले विषयको थप गहिराइमा पुग्न मद्दत गरेको छ । कतिपय क्लिष्ट शब्दका कारण सरल र सुकोमल पठन खोज्नेका लागि कृति जटिल लाग्न पनि सक्छ । यो तथ्यलाई लेखक स्वयम्ले भूमिकामा स्विकार्नुभएको छ । पुस्तकमा भौतिकशास्त्रमा विद्यावारिधि गरेका प्राध्यापक उदयराज खनाल र वेदमा विद्यावारिधि गरेका प्राध्यापक आमोदवर्धन कौडिन्नयायनको भूमिका छ । कलाकार रागिनी उपाध्यायको आवरण चित्र छ । इटर्नल पब्लिकेसन प्रालिले प्रकाशन गरेको यो पुस्तक २६४ पृष्ठको छ ।