कुमारगढीबाट चेपालगाउँ पुग्दा पौने सात बजिसकेको थियो । टमाटरवाला गोर्खाली हेर्दाहेर्दै कमिला प्वालमा छिरे झैँ छाप्राभित्र छिरिसकेका थिए । केही समयमै गोर्खालीका छाप्राभित्र स्टोभ भुर्र आवाज निकालेर बज्न थाल्यो ।
नेपाली आफूलाई गोर्खाली भन्थे । भारतीयले नेपालीलाई सम्मानपूर्वक सम्बोधन गर्दा ‘गोर्खा’ भन्थे, होच्याएर गोर्खे । नेपालीले आपसमा बोलाउँदा आफूलाई ‘गोर्खाली’ भन्थे । नेपालीले मुखमा सम्मानस्वरूप भारतीय पुरुषलाई बाबाजी र महिलालाई बेबीजी भन्थे । पिठपछि गद्दे भन्थे ।
नेपालीले टमाटर खेती गर्ने नाउँ चलेका भारतीय भेगमध्ये कुमारगढी एक थियो । यो क्षेत्रमा रोल्पा, रुकुमतिरका टमाटरवाला बाक्लै थिए ।
कसको डेरा कहाँनेर भनी पत्ता लगाउन भने मुस्किल थियो । यसको मूल कारण थियो, गोर्खालीका छाप्रा सर्नु र बिरालोले पाठा सार्नु उस्तै हुनु ।
एउटा छाप्रामा पनि माया नमारी सोधेँ, “घरको नौ (नाउँ) आइते, कालापारे नौ दि (कुन्नि) के राख्या’छन् ? मेरा फुपूफ्वाजु हुन् । घर रुकुमको चुनबाङ हो, माइत रोल्पाको राङ्कोट ।”
“अच्चली (असाध्यै) अर्जेन्टी परेर कारगिलबाट आएँ । ‘सिमलामा छन्’ भन्ने चिठी आएकाले सिमला गएँ । ‘सोलनमा प छन्’ भन्ने थाहा पाएपछि... । सोलनबाट फेरि यहाँ आउँदाआउँदै म त बिखर्ची भै’गेँ ।”
झल्यास्स भएँ । गाउँघरमा भएको आइते नाउँ कालापारमा सही सलामत होला र ? छैन होला । कालापार जानेबित्तिकै कालापारेले आफ्नो ‘मनको नाउँ’ राख्थे । भारतका कुनाकाप्चा कालापारेका पानीपँधेरा थिए । गाउँमा त नामको पछाडि एकार लागेका नाउँ हुन्थे । जुन नाउँसँग तिनका टिम्की छुटेको हुन्थ्यो । जस्तो– आङमा टालो हाल्न, चुलोमा आगो बाल्न, रुँदा पनि हाँस्दा पनि ‘घर–कालापार र कालापार–घर’ भन्नु र ‘हाट झर्नु’ साँझबिहान उकालीओराली गरे जस्तै थियो ।
छाप्रा नबिराईकन सोध्न थालेँ ।
“उतातिरका ता उः पारिका छाप्रामा छन्,” भन्ने आशयसहित बिँडीको लामो सर्कोसित ‘खास्सा नेपाली’ले ‘खास्सा हिन्दी’मा
भनेका थिए ।
“नेपालीले किन सारो देशीबातलाई पिरेम गरेको !” हिन्दी नेपाली गल्मतेमा आफैँलाई सोधी उनैले भनेतिर लागेँ ।
सायद सोधेकै छाप्रा सङ्ख्या डेढ दर्जन पुगिसकेको थियो । भित्रबाट गुनगुन बाहिर सुनिन्थ्यो ।
“भित्र को छ ?” छाप्राबाहिरैबाट प्रश्न भित्र पठाएँ, “फुपू पेउली र फ्वाजु आइते, टमाटर लाउँछन् । कालापारे नौ था’छैन ।” एकैसासमा एकैपालि छाप्रोभित्र हुत्याएँ, “उतिसारो होचा नाइँ अग्ला नि नाइँ, दुईजामी (जोईपोइ) नै कल्साउँरा कल्साउँरा (गहुँगोरो) छन् ।”
“रुरु (रोहडु) गै’गे ।”
भित्रबाट जवाफ आयो ।
नजिकैको मान्छे पनि ठम्याउन नसकिने साँझ
ढलिसकेको थियो ।
“बास ?”
एकमनले भन्छु भनँे, “जे पर्ला, यतै माग्छु, एक रातको बास, कसो नदेलान् ?”
“भित्रै जाने रे,” खरायो दुलोबाट निस्के झैँ गरी छाप्रोबाट निस्केर एउटी फुच्ची त वाक्य पूरा झरिनसक्दै छाप्रोभित्र पसिन् ।
“पाइने भो,” ठानेर गाभिनो भैँसीले जस्तै सन्तोषको सास फालेँ ।
छाप्रोभित्र छिरेँ– टुकी बलेको थियो ।
चुलोनजिक चकटी दिँदै “यतै बस्नुस्” भनी के हेरेकी थिइन्, बाघसितको जम्काभेटमा झैँ हेराहेर भए– हाम्रा आँखा ।
केही समयपछि हेरेँ– टुकीको उज्यालोमा उनको अनुहारमा खलखली पसिना आएको थियो । ओठ पनि खुलेका खुल्यै थिए ।
धेरैबेरपछि नजर उठाएर आलु काट्न थालेको थालमा लगिन् ।
आगो बलिरहेको चुलोमा एक गाग्रो पानी खन्याए जस्तै सन्नाटा छायो ।
“के साइनोले बोलाउने ?”
जति कोसिस गरे नि बोली नझरेपछि अक्क न बक्क हेरिरहेँ ।
रात प¥यो ।
“अन्त काँ जाने, बास माग्न ?”
उनले पनि असजिलो मानिन्, सायद । “डराए जस्तो न असजिलोे जस्तो,” उनको अनुहार बोलिरहेको थियो ।
“हामी गरिप्गुर्बालई कल्ले हेला ग¥या’छैन र ? पुलिसले त्यसो ग¥यो भन्दैमा अर्कोसित लाग्नु पर्छ र ? अलबलै (बेकसुरै) मुद्दा परेर ता कालापारे ता भा’थेँ ।”
मनमनै गनगन गरेँ ।
भित्रबाहिर गर्दै ती चिचिला आँखाले सोधे, “आमा किन नबोलेको ?”
हेरेँ– सन्त्रासको भुमरीभित्र उनको अनुहार फन्किरहेको थियो ।
‘जार काटे कानुन नलाग्ने’ त जमानाको कुरा थियो ।
ठुलबालाई सम्झिएँ, “पुरानो जोईसित सुखमदुःखमका कुरा लाउँछु । बाटो काटेर के हर्नु (हिँड्नु), एकबारको जुनीमा तितेरी गरेर ?”
०००
“जात्रो (नराम्रो) नमाने है, ननिको मनले आ’होइन । संजोगैले भेट भो । फुपूलाई खोज्दै आने बेला म त अक्करमा परेँ । ...काँ’ जाम्तो, बास ।”
जिब्रोको टुप्पोमा पुगेर पनि झर्न नमानेको बोली फुट्ट झ¥यो ।
झस्किइन् ।
आलुको थालबाट आँखा उठाएर एक्कै झल्को मलाई हेरिन् ।
उनको अनुहारले ‘यै भनी होला’ भनी मनमनै लख काटेँ, “पुरानो पोइको के गतिलो चाल होला ! छप्काउन आया हो कि ?”
धेरैबेरपछि मात्र सुस्तरी सुस्तरी असहजताबाट सहजतातिर मेलो लाग्न थाल्यो ।
“राखेको रै’छ र भेट भो । नजाती कल्पेको भए तम्रो मङ्स (मासु) खानु ।”
उनको मुखबाट यस्तै झरे जस्तो कानमा खोर्लाङ्ङ ग¥यो । सिँगानको सर्को तानेको आवाज मात्र झरिरह्यो । बोली खसेन ।
भलाकुसारीको मेलो आफैँ लाग्न थाल्यो ।
हामी एकअर्काका लागि नयाँ थिएनौँ । मात्रै ‘रिन्यु’ गर्न बाँकी थियो । कुनैबेला पढिसकेका किताब न थियौँ । सायद यसैले होला, यताउति हेर्दै प्रश्न आफँै झ¥यो, “तम्रो पोइ काँ’छन् नि ?”
हट्दै गएको भयभावमा भनिन्, “उसैले जानोस् ।”
आफ्नोतर्फबाट कुराको बिट मारिन् अर्थात् कुरा झिक्ने उनको पालोमा आलु काट्दै गरेको थाल कुनातिर लर्काएर उठिन् ।
निस्किइन्, ‘जान्छु’ नै नभनी ।
०००
घडी हेरेँ– पौने नौ ।
“गुन्डा लिएर मलाई मार्ने त होइन ?” भाँती भाँतीका तर्कना पिङ खेल्न थाले । १०–१५ मिनेट गर्दै आधा घण्टा भयो । आए पो ! म त आत्तिएँ ।
भन्टाङभुन्टुङलाई सोधेपछि सबभन्दा नाजोवाली छोरीले फुरुङ्ङ हुँदै भनिन्, “चिची ल्याउन ।”
केहीबेरमै जिउँदो ब्रोइलर कुखुरा बोकेर आइन् । गाउँघरतिरको परम्परा पछ्याउँदै भाले काट्न आग्रह गरिन् ।
‘पाहुनाले काट्नुपर्ने’ रोल्पा, रुकुमका कति गाउँघरको चलन नै थियो ।
‘...!?’
“जाँ बस्यो उई घर ।”
“किन फुर्मास गर्छौ ?”
“कैली नआने पौना (पाहुना) आ’बेला आलुसँ त कसरी चावल (भात) ख्वाम्ला तो ?”
१० पैसाको दाँत देखाएर खिसिक्क हाँसिन् ।
कुखुरा काटेँ ।
कुखुरा आएपछि भाँगाको डल्ला जस्तै तीन जना केटाकेटीको फ¥याकफुरुक तीव्र भएको थियो ।
“कर्मै खोटो भएसी क्यै लाग्ने रै’नछ ?” स्वाँक्क सिँगान तानिन्, “भट्टी चार्नै ठिक्क, पोइ लबाकेकोको ता अत्तोपत्तो छैन । न म¥या खबर पाएँ न जिउँदो खबर । पोइको पत्ता नपाएको आउने माघमा तीन वर्ष लाग्छ ।”
“घर र माइत त सुइना (सपना) भैगो । जाम् भने यस्ता चेचेमेमेसँ त के खुट्टाले जाने र ?”
कुखुराको आङमा तातोपानीसित एकै सासमा दुःखेसो खन्याइन् ।
मासु काटकुट पारेपछि पकाउन थालिन् ।
पाक्दापाक्दै सोधिन्, “जाँर (जाँड) छा¥या ता छैनौ ?”
“आज नखाम् ।”
“मेरो हातको नचल्ने भो र ?”
यति भनिनसक्दै कुनामा गइन् । एकै छिनमा जाँडले डम्म भएको स्टिलको गिलास मेरोअगाडि राखिदिइन् ।
‘ओहो ! यित्मस्त (यति धेरै) ! थाक्क्या बेला मात्तिजान्छु (मात्छु) ।”
“खाल्चौ (खाइहाल्छौ), ढाँच्चा नपार, उइल ता ...।”
जात्तिबित्ति गरेको ‘कर’लाई नाइँनास्ती गर्न सकिनँ ।
पहिलो गिलास रित्तियो । फेरि थपिदिइन् । फेरि रित्तियो । फेरि कर गरिन् ।
“ऐ गाठ्यौ ! जाँर ख्वाएर जगाउने त होइन ? रङ्गढङ्ग ता गतिलो छैन । भालेको निहँुमा गुन्डा डाक्या’ छ कि ?”
मनमा नजाती शङ्काले लङ्का सवार ग¥यो ।
“पैसा पर्ला भनेर डराउनु पर्दैन के ।”
फेरि कर गरिन् । पेट डम्म भयो । अघिपछि त यति खाँदा मान्छे पनि भसुना देख्थेँ तर आज ? जिउ पनि छामेको थिएन ।
“किन सर्र्माएको ?”
जाँडपछि भात थप्न फेरि कर गरिन् ।
“पुराना जोईपोइ भएर होला !” यति भनेपछि हिमाचले कपालले मुख छोपिन् ।
जुठा भाँडा सिहारिन् । कुचो लगाइन् ।
ब्रोइलर कुखुराको मासु र भात खाएपछि भान्टाङभुन्टुङ जहाँ बसेका थिए, त्यही निदाए । तिनलाई एक कुनामा ओछ्यान लगाएर सुताइन् । अर्को कुनामा छुट्टै ओछ्यान लगाएर चुलोनेर आइन् । कालापारे दिलबहार बिँडी सल्काइन् । स्वाँट्ट दुई सर्को तानिन् । त्यसपछि ठुटो दिँदै भनिन्, “हाम्रो त लहना नै रै’न छ ।”
उनले तानेको कालापारे दिलबहार बिँडीको सर्को तानिरहेँ । नबोली उनलाई सुनिरहेँ ।
अत्यन्तै जरुरी समाचार सोध्न भुले झैँ गरी सोधिन्, “कर्म बनायौ ?”
“ऐल हो र ?”
कर्म बनायौ भन्नु र बिहे ग¥यौ भनेर सोध्नु एउटै थियो ।
“चेचेमेमे कति छन् त ?”
“तिम्रै जति ।”
“हँ !”
आश्चर्यको जिब्रो निकालिन् ।
उनका तीन बच्चा पारि कुनामा सुतेका थिए ।
उनले यसरी मनको कुरा गरेपछि मैले नि नढाँटौँ जस्तो लाग्यो । कनौरे टोपी झिकेर पसिना पुछेँ र भनेँ, “बलै भन्छु ब्यारे ।”
झस्किइन्, ठानेकी होलिन्, “लोग्नेमान्छे हो, के रहन्थ्यो बिनाजोई त ।”
ढाँटेकै सम्झेर होला, अँध्यारिइन् ।
केहीबेर सन्नाटा छायो ।
कहाँ बस्छौ ? के गर्छौ ? एकाएक प्रश्नका बिस्कुन फिँजाइन् ।
“लद्दाखमा फौजीको रासन बोक्छु ।”
‘कासे कासे एकैनासे’ लागेर भन्नु पर्छ जस्तो लाग्यो । भनेँ, “तमी पोइल गएकै साल भ्या गरेँ । उनको माइत घर्तीगाउँ । कोटखाईमा काम गर्न गएको बेला त हो । दुई वर्ष जतिको बच्चा पनि थियो । एक रात छाप्रोमा आए । श्रीमतीलाई उठाएर लगे । मलाई बाँधेर राखे । चिनेकै दैलेखतिरका गोर्खाली थिए । काँ भागे काँ । त्यै छोरा लिएर घर गएँ । गाउँमा झन् जगजगी थियो । माओवादीमा लाग्न पनि सकिनँ, छोरालाई घरमै छाडेर आएँ । दुई महिनापछि छोरो पनि मरेछ ।”
“गरिप्का सत्तुर गरिप् पनि हुँदा रै’छन् ।”
जाँडको गन्धसँग मिसिएर निक्लेको बोली गल्मते भइसकेथ्यो । लोग्नेमान्छे रुनुहुन्न भनेर मात्र थाम्दै थिएँ ।
“अभागी खप्पर, ठक्करैठक्कर,” एउटी बिहे गरेको तीन महिनामै गद्देले लगिदिएको पछिल्लो समाचार पनि सुनाएँ, “गद्देलाई काट्छु भनेर निक्लेको म त उसको स्याउको बुटा काटेर मन हुकाएँ । अर्काको देशमा न्याय कहाँ खोज्नु र ?”
बोल्दाबोल्दै मन हो कि तन हो, जब्बर भयो, “अब यो पाजी गद्देको देशमा मरिकाटे पनि बस्दिनँ । फुपूफ्वाजुलाई पनि लिएर घर जाम्ला भनी कनौरबाट आएँ । तमीसित भेट भयो ।”
कति पूरा वाक्य झरे त कति अपूरा । उनले जाँड बोले जस्तो मानिन् कि म नै बोलेको हो ? नापजाप गर्न मन थिएन ।
“बरु म त उतै आफ्नै माटोमा मर्ने अब । बाँच्ने भनेर भाग्दाभाग्दै म ता रित्तो भइसकेँ ।”
हुन पनि त्यसबेला नेपालमा माओवादी र सरकारको लडाइँ नसकिए पनि गद्देको देशमा बस्न नसक्ने भइसकेको थिएँ । भनेँ, “शान्त भे पनि नभे पनि उतै लरेर मर्ने । भागेर नमर्ने, रूपकला म ता ...। अब तम् पनि हर, याँ बसेर क्यै हुन्न ।”
यति भन्दा उनले मेरो मुखमा पुलुक्क हेरेकी थिइन् । त्यसपछि उनले आफ्नो कहानी कहन सुरु गरेकी थिइन् ।
“घरमा बिपत्ता छ । दोस्रो पालि भएको खारा लडाइँमा माइला र काइला दुई भाइ नै मारिए । घरमा त भुराभुरी (बुढाबुढी) जेईबाबै मात्रै छन् ।”
उनको समाचार सुनेर ट्वाँ परेँ ।
“टमाटर लाउँछु । फेर्ने फर्काउने रक्सीपानीले गर्छु,” रोकिँदै फेरि बोल्दै उनले सुनाइन्, “जाँ लैजाला कर्मले उई ।”
जोवनबाटोमा बिझेका टिमुरकाँडा सकेसम्म लुकाउन खोजिन् । ती काँडा गाउँघरको सन्चोबिसन्चोले छोप्न मेलैसित असफल प्रयास थालिन्, एकोहोरो प्रश्नका एम्बुस थाप्दै, “थुमा भैँसीको दुध कति छ ?”
“लाइलक्षिमी कति छन् ?”
“डेराबाराका ?”
“धनसरा भालुबाङमा मारिइन्, खारामा दिलु,
अर्घाखाँचीमा ...।”
सुनेको समाचार उनलाई सुनाएँ ।
‘कठै’ भनेर ओठ टोकिन् ।
“मेरो माइती देशतिर...”
कपालेको फुर्को टोकेर पुलुक्क मेरो अनुहारमा हेरिन् ।
“सेनाले सोत्तरै पारो नि, फुच्चेहरू कान्छा मामाकहाँ बस्छन् । तम्रो माइतमा त झन् बिजोग छ ।”
“कठैबरै नि !” ‘पुलिस सेना’ सुन्नेबित्तिकै अनुहार अनायास मडारियो ।
सन्नाटा छायो । धेरैबेरपछि सन्नाटा चिरेँ, “कहिले फर्कन्छौ ?”
बर्खामासको आकाश झैँ काली भइन् ।
“के खुट्टाले जाने र ?”
लामो सास फेरिन् । अलिकति पानी पिइन् अनि भनिन्, “काँ’छ र जाने ठाउँ ?” खुट्टाको औँलाले भुइँ कोट्याउन थालिन्, “घरबारी बन्धक छ । निखन्ने पैसा कमाउने पोइको चाला यस्तो छ । न माइती मेरा... माइती देशको तिर्खाले घाँटी सुके नि उडी जाऊँ पङ्खी छैन, गुडी जाऊँ पैसा छैन ।”
धेरैबेरसम्म सिँगानको सर्को तानेको साँक्कसुँक्क मात्र झ¥यो, बोली झरेन ।
कालापार, खेपघाटले नै ढकलगुजारा घर चलेको थियो । २०५० सालको थुनिकोटमेलामा काग्रेस–जनमोर्चा लडे । राजनीति नजान्ने म जस्तो गौप्राणीलाई पनि मुद्दाको बिलो लाग्यो । मुद्दा लागेका कति जङ्गल पसे कति कालापार । बाबासहित तिनै भाइ हामी तितरबितर भयौँ । घरमा आइमाई मात्र थिए ।
बिहे भएको मात्रै दुई महिना लाग्दै थियो । एकपछि अर्को गर्दै मुद्दा खापिए । जङ्गल जान नसकेपछि कालापारे भएँ । ‘लेकिन लाहुेर’ भएको चार वर्षपछि रूपकला अर्कैसँग हिँडिन् ।
अर्को मनले सोचेँ, “हामी गरिप्गुर्बालई जोईसित बस्न काँ’ लेख्या छ र ? कालापारे जति जम्मैका जोई पोइल गया’छन् र ?” मनमनै गनगन गरेर बाहिर निक्लिएँ, “तर रूपकला !”
जाँडको रहलपहल अलिअलि मात्र बाँकी थियो । रात छिप्पिन थालेको थियो ।
भित्र पसेँ । समाल्दासमाल्दै प्रश्न झ¥यो, “के कमी थो र छारिउ मलाई ?”
उत्तर फर्काउनुको साटो कुनातिर फर्किइन् । साँक्कसुँक्क गर्न थालिन् ।
थाहा पाएँ, दसैँमा माइत गएकी रहिछन् । रुकुमकोटबाट पुलिसकोे अपरेसन टोली गाउँ पसेछ । गाउँमा बुढाखाडा र आइमाई मात्र भेटेछ । रूपकलालगायत गाउँका छ जनालाई बलात्कार गरेछ । रूपकलालाई ‘मरी’ भनी फालेछन् । ‘घरले कसरी स्विकार्ला’ भनेर फुपूघर लागिछन् ।
“बन्नुकेले मार्छ भनेपछि भनेर गाउँलेले कुरा लुकाए नि ‘बिटुलिएको’ एक दिन खुल्ने थियो । तम्रो के भर ? बरु ‘टाढै’को ‘झिल्के’सँग भागेँ, दायाँबायाँ नहेरी,” आँसुले आफ्नै कहानी निप्ट्याइन् ।
त्यसपछि ?
भक्कानिइन् ।
छिप्पिन थालेको रात झन् छिप्पिसकेको थियो । आँखा पिरा पिरा हुन थाले । आँसुले अनुहार टाटेपाटे भएको थियो । कपालेले आँसु पनि नपुछी बाहिर निस्किइन् ।
थकथकी लाग्यो, कम से कम भन्नु पथ्र्यो, “अब आउने कुरा सोच– छोराछोरीका । ‘हिजो’ सम्झेर आँसु नखर्च ।”
सकिनँ । मेरो पनि मन भिजिसकेको थियो । जुन मन खेतको गरा झैँ चर्चरी फाटेको थियो ।
“लुटिएकी चेलीलाई लत्याउने के म अधर्मी लोग्नेमान्छे थिएँ र ?” सोझो मनको यही यक्ष प्रश्न थियो ।
“पाखा जाँदा (दिसापिसाब गर्न जानु) ढेला (ढोका) यता छ,” छाप्राभित्र पस्दै मेरा लागि वल्लो कुनातिरको ओछ्यान देखाउँदै आफू बच्चाहरूसित सुत्न पल्लो कुनातिर गइन् ।
ओछ्यानमा पल्टिएँ ।
निदाइन् या नाइँ ? तर आँखामा जिन्दगीको कुनै घुम्तीमा उनीसँगै काटेका देउराली आएर निद्रालाई नेटोपारि छेकिरहे । सम्झना जुलुस आइरहे, पहिलोबार मेलापात गएको, बर्खामा भिज्दै ग्वाला गएको, काफल खाएको, बर्खामा च्याउ टिप्न गएको....! कति तिता त कति मिठा ।
आफैँलाई नि अचम्म लागिरह्यो, “अर्काकी भइसके नि किन यति धेरै माया लाग्यो हँ !”
जाती नजाती तर्कना मनको लेकबेँसी गरिरहे ।
०००
“मामा !”
फुच्चीको आवाजले झस्किएँ । सिरक हटाएँ– आँखाले हेर्न अन्कनायो । छेलाङबेलाङ उज्यालो भइसकेको थियो । सहज हुने कोसिस गर्दै आँखा खोलेँ, उज्यालो पनि बासी भइसकेको थियो ।
टाउको भनन भए जस्तो भयो । उठ्न खोजेँ । सकिनँ ।
फुच्ची गएको केही समयपछि हातमा कटौरा बोकेर आइन् । भनिन्, “जिउ बिउँताऊ । लौ तो अल्कट छ, ख्वाल्ल पार ।”
जिउ बिउँताने लिएर आएकी थिइन् ।
हातले ‘हुन्न हुन्न’ भन्दै मुखबाट झ¥यो, “बिल बेल्काको खोस्लामा पस्ला र । साका रहला । भो भो ।”
झनन पारेको टाउको उठाउँदै भनेँ ।
“क्हाँटी खोस्लामा पस्ने देम्ला गरे । अल्कट जिउ बिउँताने मात्रै छ, लौ चाँन ख्वाल्ल पार ।”
टार्न सकिनँ । टाउको दुखेको र भनन भएको ठिक होला कि भनेर मुखमा ख्वाल्ल खन्याएँ ।
जिउ झम्म भयो । रमरम भयो । हुन पनि जिउ बिउँतियो क्यार ! टाउको दुःखेको र भनन भएको ठिक भए जस्तो भयो ।
पिएको भोलिपल्टको ह्याङ हटाउने भनेको थियो, ‘जिउ बिउँताने ।’
निस्किँदा घाम आधाबाटो झरिसकेको थियो ।
‘मिठाई लगिदेऊ’ भनी दिएको भारु सय रुपियाँ बल्ल बल्ल राखिन् । पर... गइसकेपछि दौडँदै आइन्, कुनै जरुरी चिज भुले जसरी, “कसैले सोधे, जे भे नि ‘निकै छ’ भन्दिए है !”
न ‘हुन्छ’ भनेँ न ‘हुन्न ।’ जवाफै नपर्खेर हिँडिन् । नेटो नकाटुन्जेल हेरिरहेँ ।
थाहा छैन, कतिखेर बाटो लागेँ–फुपूफ्वाजुकहाँ जान ।
सोलन–रोहडु बस चढेँ ।
गाडी गुड्न थाल्यो ।
“पकलासँग घरजम !” गाडीसँगै दुई वटा बाटोमा मन गुड्न थाल्यो, “‘छाडेकी जोई’ समाजले के भन्ला ?”
“को हो र समाज ?” ठाडै अस्वीकार ग¥यो अर्को मनले ।
हन्डरठक्कर खाएकाबिच फेरि नयाँ जीवनको थालनी गर्न एक वचन सोध्नु पर्छ जस्तो लाग्यो । ‘चिठीमा पढेको नयाँ नेपाल’ बनाउन आफ्नै मुलुक फर्कनु पर्छ भन्ने मन जुरुक्क उठ्यो । थाम्नै सकिनँ, चिच्याएँ, “जी ! रुको जी, गाडी रुको ।”