• २१ चैत २०८२, शनिबार

आगोका फूलहरू (कविता)

blog

मलाई खेल्नु छ/रमाउनु छ 

आगोका फूलहरूसँगसँगै 

आगोकै सुगन्ध बोकेर 

जलिरहेका प्रज्वलित लप्काहरू

लगाउनु छ गलाभरि माला

मलाई विस्फोट हुनु छ बनेर ज्वालामुखी

सुकाउनु छ समुद्र

सयौँ घाम उदाएका छन् मेरो छातीभित्र

भकभकी उम्लिरहेछ नसा नसामा रगत

लाभाहरू बगिरहेछन् राताम्मे लेदो बनेर 

पगाल्नु छ कञ्चनजङ्घाको बरफ

र ढाल्नु छ अग्लो हुनुको अभिमान

रङ्गहीन बनाउनु छ रङ्गीन धरती

एक निमेषमा निम्ट्याउनु छ मान्छेका अहङ्कार

र उदाउने छैन जुन र उदाउने छैन तारा

मात्रै चम्किने छ बिजुली 

विशाल मेघ गर्जनसँगै बर्सिने छ 

आगोकै ज्वाला तिम्रो ब्रह्माण्डमा 

मलाई खेल्नु छ आगोका फूलहरूसँग

आगोकै प्रकाश बोकेर पुग्नु छ गन्तव्यसम्म !!