आइतबार राति नै मतपेटिका सदरमुकाम चरिकोट ल्याइए पनि मतगणना भने अझै सुरु हुन सकेको छैन। दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका कारण मतगणना सुरु हुन नसकेको हो।
कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार हुने भएको छ। मुख्य निर्वाचन अधिकृत अस्वस्थ भएपछि एक दिन ढिलो गरी कैलाली-५ मा मतगणना हुने भएको हो। मङ्गलबार बिहान ८ बजे मतगणनाको कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ।
सोमबार बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी निकै तनावग्रस्त बनेको छ । त्रिवेणी नगरपालिका–७ मा मतदान स्थलमा विद्यार्थी नेता चेतन एडीको हत्या गरेको आरोप सहित अनेरास्ववियु सदरमुकाम मार्तडीमा आन्दोलित छ ।
नेपाली काग्रेंसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १८५ मत र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका जगदीश कुसियैतले १३१ मल ल्याउनुभएको छ ।
दाङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा (एमाले) का नेत्री शान्ता चौधरीलाई पछि पार्दै अग्रता लिनुभएको हो ।
स्याङ्जा क्षेत्र नं. २ का चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा एमालेले आरोप लगाएको छ । चापाकोट नगरपालिका वडा नम्वर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ ।
स्याङ्जाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले प्रारम्भिक अग्रता लिनु भएको छ । एक हजार ५८९ मत गणना हुँदा थापाले ७२६ मत हात पार्दा नेकपा एमालेका नारायण मरासिनीले ५६६ मत हात पार्नु भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
इलाम निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पछि पर्नुभएको छ। नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिनु भएको छ।
उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी छ । गणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा १७ मतले अगाडि हुनुहुन्छ ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर २ मा सुरु भएको छ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा रहेको मतगणना स्थलमा मतगणनाको कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्बर २ र ४ को को मतगणनामा स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन्। झापा ४ मा २१३० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले ८३७ मत ल्याएर अग्रता बनाउनुभएको छ।
चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले सुरुआती अग्रता लिनुभएको छ ।
तनहुँ–१ को प्रतिनिधि सभा सदस्यको सुरुवाती मतगणनामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायम गर्नुभएको छ ।
झापाको क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको करिब ५ घण्टापछि मात्र प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।