अविनाश चौधरी
धनगढी, मङ्सिर ५ गते । कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार हुने भएको छ। मुख्य निर्वाचन अधिकृत अस्वस्थ भएपछि एक दिन ढिलो गरी कैलाली-५ मा मतगणना हुने भएको हो। मङ्गलबार बिहान ८ बजे मतगणनाको कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ।
मतगणना गर्दा उम्मेदवार वा दलको तर्फबाट प्रतिनिधि राख्न चाहेमा मतगणना गर्ने स्थानमा आफ्नो प्रतिनिधि अनिवार्य रूपमा पठाउन हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध गरेको छ। मत गणना सुरु हुनुभन्दा एक घण्टा पहिले नै प्रतिनिधि मतगणना स्थलमा उपस्थित हुनु पर्ने जनाइएको छ।
यो क्षेत्रको मतगणना गर्नका लागि बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बेहोस हुनु भएको थियो। अब मतगणनाको कार्य मंगलबार बिहानबाट सुरु गर्ने सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
यसैगरी, कैलाली-४ मा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायरले सुरुवाती अग्रता लिनु भएको छ। यो समाचार तयार पार्दासम्म बलायरले ७०३ मत प्राप्त गर्नु भएको छ। उहाँलाई नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टले ६०५ मतका साथ पछ्याइ रहनुभएको छ।