प्रेम अधिकारी पशुपतिनगर, मंसिर ५ गते । इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति भएपछि मत गणना सुरु भएको हो । यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकेको थिएन । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमति भएको थियो । प्रतिनिधिसभा निर्वचन क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार १ सय ३६ मत खसेको छ । खसेको मत ५३ दशमलव ९९ हुन आउँछ । इलाम १ मा गठबन्धनबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
नारायण तुम्बापो फिदिम, मङ्सिर ५ गते । पाँचथरमा आइतबार सम्पन्न निर्वाचनको सबै मतपेटिका सोमबार बिहान ३ बजेसम्ममै सङ्कलन भएपनि मतगणना भने साँझ ७ बजेबाट मात्र सुरु हुने भएको छ। यहाँको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङ्देन मतदान केन्द्रमा भएको मतपत्रको विषयमा विवाद उत्पन्न भएपछि गणनामा ढिलाइ भएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीको असावधानीका कारण २१ थान मतपत्र प्रदेशसभा तर्फको वितरण हुनुपर्नेमा प्रतिनिधिसभातर्फको पर्न गई सोही मत्रपत्रमा मतदाताले सङ्केत गरेर मतदान गरेको पाइएपछि विवाद भएको थियो । यस सम्बन्धमा निर्वाचन आयोगको राय माग गर्न पत्राचार गर्ने र त्यसपछि प्राप्त हुने आयोगको निर्णय मान्ने सर्वदलीय बैठकको निर्णयपछि अन्य क्षेत्रको मत गणना सुरु गर्ने सहमति भएको छ । मतगणना धाँधलीरहितले सम्पन्न गर्न गराउन फिदिमको मतगणना स्थल परिसरमा उच्च सर्तकताकासाथ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतद्वारा प्रदान गरिएको प्रवेश अनुमति पत्र पाएकालाई मात्र मतगणना स्थलमा जान पाउने व्यवस्था गरिएको छ । मतगणना कक्षमा तार जाली र सिसी क्यामराकोसमेत व्यवस्था गरिएको छ । प्रत्यक्षतर्फको तीन दिन भित्रमा मतगणना सम्पन्न गर्ने योजना रहेको सूचना अधिकारी सिजापतिले बताउनुभयो। त्यसपछि समानुपातिकको पनि तीन दिनमै परिणाम सार्वजनिक गर्नेगरी गणना थालिने उहाँले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय प्रमुख कुमारप्रसाद भट्टराईका अनुसार पाँचथरमा ५४ प्रतिशत मतदान छन् । जिल्लामा कुल एक लाख ३८ हजार ९३२ मतदाता रहेकामा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका छन् । जसमा ३९ हजार ६३७ पुरुष र ३५ हजार २६१ महिला रहेका छन् । यो पटक गत स्थानीय तह निर्वाचनको तुलनामा ११ प्रतिशतले कम मतदान भएको पाइएको छ । निर्वाचनप्रति मतदाताको उत्साह नदेखिनुमा मुख्यगरी राजनीतिक दलप्रति नागरिकको वितृष्णा प्रकट भएको सङ्केत मिल्ने यहाँका नागरिक समाज अगुवाको विश्लेषण छ । एक सङ्घ तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको जम्मा १०२ मतदान स्थल अन्तरगतका १७७ मतदान केन्द्रमा मतदान भएको थियो । निर्धारित मतदान सम्पन्नपछि जिल्लाको विभिन्न ठाउँबाट थालिएको मतपेटिका सङ्कलन गर्न दुर्गमताका कारण सोमबार बिहानको ३ बजेसम्म समय लागेको थियो । निर्वाचन कार्यक्रम भइरहेको अवस्थामा फिदिम नगरपालिका–४, सुखबोध माध्यमिक विद्यालय मतदान केन्द्र क्षेत्रमा दुई पटकसम्म अज्ञात समूहद्वारा सुतली बम विस्फोट गराइएको थियो । निर्वाचन बिथोल्ने प्रयास स्वरूप विस्फोट गराइए पनि मतदान कार्य अवरुद्ध हुन नदिइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । जिल्लाको अन्य ठाउँमा शान्तिपूर्णे निर्वाचन सम्पन्न भएको पाइएको छ ।
मुस्ताङको प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।
केशवचन्द्र महरा दिपायल, मंसिर ५ गते । डोटीमा ५ बजे पछि मात्रै मतगणना हुने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ५ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो।बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको थियो । २७ हजार ४५७ जना पुरुष र ३६ हजार ६०१ महिला मतदाता गरी जम्मा ६४ हजार ५८ मत खसेको थियो । "यसअघि प्रतिनिधि सभाको मात्रै मतगणना सुरु गर्ने तयारी भएको थियो", मुख्य निर्वाचन अधिकृत पाण्डेले भन्नुभयो,"बैठकमा तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गर्ने निर्णय भएका कारण थप तयारी गर्नु भएकाले ५ बजे देखि गणना सुरु गर्ने निर्णय भएको हो ।"
कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज दिउँसो २ बजेबाट मतगणना सुरु भएको हो ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको उदयपुरमा मत गणना सुरु भएको छ । मत गणनाका लागि सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा मतगणना सुरुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो ।
झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । हालसम्म ७०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता लिनुभएको छ ।
इलाम क्षेत्र नं. २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ ।
इलाम क्षेत्र नं. २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ ।
इलाम क्षेत्र नम्बर २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैको र यस क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष–समानुपातिक दुवैको मतगणना थालिएको हो ।
सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) तेब्बर मतले अग्रता लिनुभएको छ ।
अछाम जिल्लाको क्षेत्र नं. २ को मतगणना प्रारम्भ गरिएको छ