चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।
बर्सौंदेखि अवरुद्ध हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) को निर्माण सुचारु भएको छ । स्थानीयको मुआब्जा विवादका कारण लामो समय निर्माण अवरुद्ध सो प्रसारण लाइन निर्माण सम्पन्न गराउन पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहल गर्नुभएको थियो ।
अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो ।
सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु-याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।
निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ ।
तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो ।
नाम परिवर्तन गर्नुपर्ने अडानबाट समितिका सदस्य पछाडि हटेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८२’ सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । समितिका सदस्यले विधेयकको नाममा रहेको ‘अभौतिक’ लाई हटाएर ‘अमूर्त’ राख्न अडान राख्दै आएका थिए । गत माघ २५ गते बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गर्ने कार्यसूची राखे पनि नाममै सहमति नहुँदा विधेयकको प्रतिवेदन पारित हुन सकेन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक्राउ गरिएको हो ।
कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न औपचारिक संवाद तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले मङ्गलबार संविधान संशोधनबारे कानुनका ज्ञातासँग परामर्श गरेको हो ।
सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापनका लागि विस्तृत अध्ययन र विवरण सङ्कलन गरिरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरी त्यहाँ बसोबास गरिरहेका भूमिहीन नागरिकलाई बसोबासको प्रबन्ध गर्न लगत सङ्कलन कार्य अघि बढाएको हो ।
अर्थतन्त्रमा वृद्धि कायम रहे पनि नेपालीको प्रतिव्यक्ति आय भने घट्ने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् प्रतिव्यक्ति आय तीन डलरले घटेर एक हजार ५१३ डलर कायम हुने अनुमान गरेको हो । नेपाली रुपियाँमा प्रतिव्यक्ति आय करिब ४५० ले घट्ने छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा गत वर्ष यस्तो आय एक हजार ५१६ अमेरिकी डलर हुने संशोधित अनुमान छ ।
अबदेखि कुनै पनि निकायले माथिल्लो तहमा कर्मचारीको दरबन्दी धेरै र तल्लो तहमा दरबन्दी कम हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न नपाइने भएको छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तहका कतिपय कार्यालयले माथिल्लो तहमा धेरै दरबन्दी र तल्लो तहमा कम दरबन्दी रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दै आएका थिए । ती कार्यालयले आवश्यकता र औचित्यबिना नै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारी दरबन्दी थप गर्दै राज्यलाई आर्थिक व्ययभार थप्न थालेपछि सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तयार गरी अनावश्यक दरबन्दी सिर्जनामा लगाम लगाएको हो । उक्त मापदण्ड कार्यान्वयनका लागि मन्त्रालयले सात वटै प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।