रसुवाको लाङटाङमा पदयात्रा गएका १६ जना युवामध्ये चार जना बेपत्ता भएको खबरले पदयात्राको सुरक्षा चुनौतीप्रति फेरि संवेदनशील बनाएको छ । दसैँको टीका लगाएपछि १६ जना युवाले पदयात्राको योजना बनाए । १७ गते शुक्रबार ती युवा रसुवाको लाङटाङ घुम्न निस्के । तिनमा भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित हर्षचोकको एकै परिवारका तीन जना थिए । लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा चार जना बेपत्ता भए । बेपत्ता हुनेमा २६ वर्षीय सनिता श्रेष्ठ, उहाँकी बहिनी २२ वर्षीय संस्कृति र भाइ २० वर्षका किसन श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ छन् । बाँकी १२ जना सकुशल छन् । यो घटनाले पदयात्राको सुरक्षाबारे गहन विमर्श गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । पदयात्रा पर्यटन व्यवसायको महत्वपूर्ण आयाम हो । साहसिक पर्यटनका निम्ति नेपाल विश्वमै चर्चित गन्तव्य मानिन्छ । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटक विशेष गरी युवा वर्ग अहिले पदयात्राका निम्ति आकर्षित हुन थालेका छन् तर पदयात्रा सजिलो कर्म होइन । हिमाली तथा पहाडी पदयात्राको आनन्द लिन धेरै तयारी चाहिन्छ । रसुवा गएका १६ मध्ये छिटो यात्रा गर्ने १२ जनाले चाँडै खोल्सो पार गरे । पहाडी भिरालो जमिनमा खोल्सामा बगेर आएको लेदोसहितको भेलले पछाडि रहेकालाई बगायो । सहरमा हुर्किएका युवाले पहाडी जलप्रवाहको भेउ नपाउँदा पनि यो घटना भएको हुन सक्छ ।
नेपाल पदयात्राका निम्ति आकर्षक गन्तव्य भए पनि यसका चुनौती कम छैनन् । अनगन्ती हिमालय शृङ्खला तथा मनोरम पहाडी बस्ती, भिरपाखा, जङ्गल, चम्किला गाउँ आदि निश्चय नै पदयात्राका आकर्षक गन्तव्य हुन् । नेपालमा विश्वका शीर्ष १० हिमालमध्ये आठ हिमाल छन् । तिनको काखका मनोरम प्रकृतिले साहसिक पर्यटनको आयाम थपेको छ तर पदयात्राको सोच, सपना मात्र पर्याप्त हुँदैन; त्यसका निम्ति शारीरिक, मानसिक, बन्दोबस्तीका सरसामान, तालिम र तयारी आवश्यक पर्छ । ती चुनौतीपूर्ण छन् । पदयात्राका लागि शारीरिक शक्ति चाहिन्छ । लगनशीलता र दृढ सङ्कल्प पनि हुनु पर्छ । मानसिक र शारीरिक रूपमा बलियो भएसँगै पहाडी तथा हिमाली भेगका साँघुरा बाटोमा हिँड्ने अभ्यास चाहिन्छ । खोला, खोल्सा तर्ने सिप र जुक्तिको पनि आवश्यकता पर्छ । सकभर त पहिलो पटक पदयात्रा गर्नेलाई पथप्रदर्शकको आवश्यकता नै पर्छ । मौसमको राम्रो सूचना हुनु पर्छ । बाटोको दुरी, बास बस्ने ठाउँदेखि उचाइ आदिको जानकारी र राम्रो तयारी अनिवार्य छ । सम्म भूभाग, सहरबजारमा हिँडे जस्तो सजिलोसँग पहाड तथा हिमालका असजिला बाटोमा हिँड्न सकिँदैन । अलिकति उकालो हिँड्दा पनि बानी नपरेकालाई स्याँ स्याँ आउँछ । फोक्सो फुलेर आउँछ । थकाइ लाग्छ । त्यसनिम्ति शारीरिक तन्दुरुस्तीसँगै एरोबिक्सको अभ्यास आवश्यक पर्न सक्छ । कम अक्सिजनमा समायोजन गर्न सक्ने गरी शरीरलाई दुरुस्त नबनाई पहाड, पर्वतमा जानु भनेको थप समस्या निम्त्याउनु मात्र हुन्छ ।
नेपालमा पदयात्राप्रति आकर्षण भने व्यापक छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङ गएका थिए । सो वर्ष कुल १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएकामा एक लाख ५४ हजार २६२ जना पदयात्रा र माउन्टेनियरिङका निम्ति आए । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि पदयात्राप्रति आकर्षण छ तर यो क्षेत्रलाई सुरक्षित बनाउनु पर्छ । बाह्य पर्यटकलाई पथप्रदर्शकको सहयोग लिनैपर्ने बनाइएको छ । यो राम्रो पक्ष हो । नेपाली आन्तरिक पर्यटक विशेष गरी तराई तथा सहरी भेगका युवा पनि पदयात्राप्रति मोहित हुँदै छन् । यसले आन्तरिक पर्यटनलाई बढोत्तरी दिन्छ । नेपालको प्राकृतिक सौन्दर्य, वनजङ्गल विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली तथा पहाडी जनजीवन, सभ्यता र संस्कृतिको अवलोकन अति उत्तम पक्ष हो तर पदयात्रालाई सुरक्षित बनाउन आवश्यक छ । पदयात्रामा जानुअघि जाने व्यक्ति पनि सचेत हुनु पर्छ । तयारी अब्बल गर्नु पर्छ । पदयात्रालाई सुरक्षित बनाउन सम्बद्ध निकायले आवश्यक गृहकार्य गर्नु राम्रो हुन्छ । पदयात्रा सुरक्षित बनाउन सकिएन भने त्यसले अनेक चुनौती थप्ने छ । पर्वतीय साहसिक पर्यटनप्रति नै नकारात्मक सञ्चार बढ्न सक्ने छ ।