काठमाडौँ, असोज २२ गते। भारतको श्रीसन फार्मा कम्पनीले उत्पादन गरेको कोल्ड्रिफ कफ सिरप नेपालमा दर्ता नभएको औषधी व्यवस्था विभागले प्रस्ट पारेको छ।
भारतका विभिन्न राज्यमा खोकीको औषधी कोल्ड्रिफ कफ सिरप प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचार आएपछि विभागले यस्तो प्रस्ट पारेको हो।
विभागले सूचना निकाल्दै नेपालमा झोल औषधी उत्पादन तथा अयात गर्ने सबै उद्योगलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसराँल, ग्लिसरिन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनमा इथाइलिन र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्रित गर्न आग्रह गरेको छ।
विभागले औषधी उत्पादकका लागि कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न। उल्लेखित कच्चा पदार्थ तथा सो मिश्रित झोल बनावटको औषधीको निर्धारित विधि बमोजिम इथाइलिन र डाइइथिलिन ग्लाइकोलको परीक्षण गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ।
नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधीको प्रत्येक ब्याचको इथाइलिन र डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्रित गरे पश्चात मात्र आयात तथा वितरण गर्न औषधी आयातकर्ताका लागि विभागको निर्देशन छ।
विभागले चिकित्सकलाई विभागमा दर्ता भएका औषधीहरू मात्र सिफारिस गर्न र फार्मेसीलाई विभागमा दर्ता भएका औषधीहरू मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ।
दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधी सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न विभागको सुझाव छ।
बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधी चिकित्सकको सल्लाह बमोजिम विभागमा दर्ता भएका औषधीहरू मात्र प्रयोग गर्न सर्वसाधरणलाई विभागले आग्रह गरेको छ।