• २३ असोज २०८२, बिहिबार

कात्तिक ४ गते म्हः पूजा तथा ५ गते किजा पूजा मनाउने

blog

मूहिक म्हःपूजा । फाइल तस्बिर

भक्तपुर, असोज २२ गते । भक्तपुरका नेवार समुदायले यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ । 

बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा वीरेन्द्रप्रसाद कायष्त र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निणय गरेको हो । 

तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार, दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कात्तिक ४ गते मङ्गलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा गर्ने र ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका गर्ने निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिले भने कात्तिक ४ गते खाली, ५ गते म्हः पूजा र ६ गते बिहीबार किजा पूजा अर्थात् भाइटीका गर्नेगरी साइत सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिकाले केही वर्षयता पञ्चायन निर्णयक समितिले सार्वजनिक गरेको तिथिमितिअनुसार तिहार नमानेर भक्तपुरको तलेजुका पुजारी र ज्योतिषहरूले गरेको निर्णयानुसार तिहारको पर्वहरू मनाउने निर्णय गरी सोहीअनुसार गर्न आह्वान गर्दै आएको छ । 

सोही अनुरूप यसवर्ष पनि बसेको बैठकबाट भक्तपुर नगरपालिकाले पञ्चायन निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति सार्वजनिक गर्दै सोहीअनुसार तिहार मनाउन आह्वान गरेको छ । यस्तो निर्णयमा भक्तपुरका नेवार समुदायले केहीले नगरपालिकाको निर्णयानुसार तिहार मनाउने र केहीले पञ्चायन निर्णायक समितिको निर्णयानुसार तिहार मनाउँदै आएका छन् । रासस