- स्थिर सरकार गठनसँगै बजारमा भरोसा र उत्साह फर्किने अपेक्षा गरिए पनि त्यसको ठिक विपरीत डर, अनिश्चितता र नीतिगत अस्पष्टताले लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।
- “सेयर बजारमा अहिले आधारभूत कुराभन्दा बढी भावना हाबी छ । लगानीकर्ताले सरकारको नीति पूर्वानुमान गर्न नसक्दा उनीहरू पर्ख र हेरको अवस्थामा छन् ।”
काठमाडौँ, वैशाख २२ गते । अन्ततः घट्दो क्रममा रहेको सेयर बजार २७ सयको विन्दुमा आइपुगेको छ । सङ्कटकै बेलासमेत अवसर खोज्दै उकालो लाग्ने नेपालको सेयर बजार यस पटक भने असामान्य रूपमा सुस्ताएको छ । कारोबार कक्षहरूमा पहिले जस्तो चहलपहल छैन, ठुला लगानीकर्ता मौन छन् र स्क्रिन राताम्मे हुने क्रम जारी प्रायः छ । स्थिर सरकार गठनसँगै बजारमा भरोसा र उत्साह फर्किने अपेक्षा गरिए पनि त्यसको ठिक विपरीत डर, अनिश्चितता र नीतिगत अस्पष्टताले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
सरकार गठनअघि उत्साहित बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक प्रधानमन्त्री वालेन्द्र शाहले चैत १३ गते १६ सदस्यीय मन्त्रीपरिषद्सहित शपथ लिएयता निरन्तर दबाबमा छ । सरकार गठनअघि करिब दुई हजार ९५० विन्दुमा रहेको नेप्से सूचक अहिले दुई हजार ७०४ को विन्दुमा झरेको छ । सोमबार सेयर बजारमापक नेप्से परिसूचक ३४.६३ अङ्कले घटेर दुई हजार ७०४.०८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.३७ अङ्क घटेर ४६१.०५ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा यो साताको पहिलो दिनमै नेप्से १.२६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले घटेको छ ।
चार अर्बमा सीमित कारोबार
सोमबार ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता सेयर ६८ हजार ६३५ पटक खरिदबिक्री हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । पहिलो दिन कारोबारमा आएका सबै उपसमूहको सूचक ओरालो लागेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशतले ओरालो लागेको छ । सूचकमा लगातार गिरावट देखिँदा बजारमा नकारात्मक मनोभाव हाबी भएको छ भने कारोबार रकम पनि अपेक्षाकृत कमजोर बनेको हो ।
घट्दो आत्मविश्वास र नीतिगत अस्पष्टता
सेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष तारा फुल्लेलले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावटको मुख्य कारण लगानीकर्ताको घट्दो आत्मविश्वास र सरकारको नीतिगत अस्पष्टता रहेको बताउनुभयो । बैङ्किङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर जस्ता सकारात्मक आधार हुँदाहुँदै पनि बजारले सुधारको गति लिन सकेको छैन । नयाँ सरकार गठनसँगै स्थायित्वको अपेक्षा गरिएको भए पनि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिन सकेको छैन । बरु, सरकारको कार्यशैलीप्रति बढ्दो अविश्वास र मनोवैज्ञानिक डरका कारण बजार निरन्तर ओरालो लागिरहेको छ । सरकारले सेयर बजार सुधारका लागि स्पष्ट कार्ययोजना (रोडम्याप) ल्याउन नसक्दा लगानीकर्तामा अन्योल बढेको भन्दै उहाँले बजार घटिरहेको अवस्थामा पनि ठोस र तत्काल लागु हुने नीतिगत निर्णय नआउँदा लगानीकर्ताको विश्वास कमजोर बनेको बताउनुभयो । नियामक निकायमा देखिएको अस्थिरता पनि बजारमा नकारात्मक प्रभाव पारिरहेको भन्दै अध्यक्ष फुल्लेलले भन्नुभयो, “नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत अवस्था कमजोर रहेको छ । उता धितोपत्र बोर्डमा नेतृत्व रिक्त रहेको अवस्था छ । बोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दुवै पदमा अनिश्चितता रहनुले लगानीकर्तालाई झन् अलमलमा पारेको छ ।” वर्तमान अवस्थालाई स्वास्थ्य सङ्कटसँग तुलना गर्दै उहाँले भन्नुभयो, “ज्वरो आएका बेला सिटामोल दिनु पर्छ तर यहाँ तत्काल उपचार नै भएन । बजारलाई स्थिर बनाउन सरकारले शीघ्र हस्तक्षेप गर्नुपर्ने थियो तर त्यसो हुन सकेन ।” बैङ्किङ प्रणालीमा तरलता पर्याप्त भए पनि लगानी विस्तार हुन सकेको छैन । विगतमा १४÷१५ प्रतिशतसम्म पुगेको ब्याजदर हाल घटेर करिब सात/आठ प्रतिशतमा झरेको छ तर पनि लगानीकर्ताले जोखिम लिन नचाहनु र नीतिप्रति अविश्वास बढ्नुले बजार प्रभावित भएको छ ।
‘पर्ख र हेर’ को अवस्थामा
स्टक ब्रोकर जिएन भुसालका अनुसार पछिल्ला दिनमा व्यवसायीमाथि बढ्दो धरपकड र अनुसन्धानको दायराले व्यावसायिक क्षेत्रमा मनोवैज्ञानिक दबाब बढेको भन्दै लगानीकर्ता बजार ‘पर्ख र हेर’ को अवस्थामा छन् । विभिन्न क्षेत्रका व्यापारीलाई कुनै न कुनै आरोपमा जोडेर अनुसन्धान गरिँदा समग्र व्यावसायिक वातावरणमा त्रास फैलिएको भन्दै उहाँले भन्नुभयो, “कसैलाई पनि जुनसुकै बेला समात्न सकिने जस्तो अवस्था देखिँदा सबै डराएका छन् । नियम र कानुन स्पष्ट र पूर्वानुमानयोग्य नहुँदा समस्या झन् गहिरिएको छ ।” अघिल्लो सरकारले मान्यता दिएको अभ्यासलाई अहिले अमान्य ठहर गर्ने प्रवृत्तिले अन्योल बढाएको भन्दै उहाँले एउटै काम कहिले वैध त कहिले अवैध बन्दा कसरी काम गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।
अर्थतन्त्र पहिले नै कमजोर अवस्थामा रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कारकले दबाब बढाइरहेको अवस्थामा यस्तो मनोवैज्ञानिक असरले बजार झन् प्रभावित भएको ब्रोकर भुसालको भनाइ छ । लगानीकर्ताका अनुसार व्यवसायीलाई तर्साउनेभन्दा पनि उनीहरूलाई काम गर्न सहज वातावरण दिनु र समस्या भए कानुनी प्रक्रियामार्फत समाधान गर्नु आवश्यक छ । व्यवसायीमाथि भइरहेका अनुसन्धान, पक्राउ र सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिले लगानीकर्तामा त्रास फैलिएको छ । सामान्य आरोपमा समेत छानबिनमा पर्न सकिने अवस्था देखिएको भन्दै धेरै लगानीकर्ता सतर्क बनेका छन् । अहिले धेरै लगानीकर्ताहरू सक्रिय निर्णयभन्दा पनि ‘पर्ख र हेर’ को रणनीतिमा छन् । आगामी बजेट र मौद्रिक नीतिले स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ । विगतमा पनि बजेटअघि बजार स्थिर वा घट्ने प्रवृत्ति देखिएको भए पनि यस पटकको गिरावट असामान्य रूपमा गहिरो देखिएको छ । सेयर विश्लेषक पविन्द्र आचार्य सेयर बजारमा देखिएको निरन्तर गिरावटलाई आर्थिक आधारभन्दा बढी मनोवैज्ञानिक र नीतिगत अनिश्चिततासँग जोडेर व्याख्या गर्नुहुन्छ ।
हालको गिरावट कुनै एकल आर्थिक कारणले नभई लगानीकर्ताको विश्वास कमजोर हुनु र नीतिगत अस्पष्टता बढ्नुको संयुक्त परिणाम भएको भन्दै उहाँले भन्नुभयो, “सेयर बजारमा अहिले आधारभूत कुराभन्दा बढी भावना हाबी छ । लगानीकर्ताले सरकारको नीति पूर्वानुमान गर्न नसक्दा उनीहरू पर्ख र हेरको अवस्थामा छन् ।” बजार सुधारका लागि केवल राजनीतिक स्थिरता पर्याप्त नहुने भन्दै उहाँले नीतिगत स्पष्टता र कार्यान्वयनमा विश्वसनीयता पनि आवश्यक हुने बताउनुभयो । सरकारले लगानीमैत्री वातावरण बनाउने सङ्केत दिन नसके बजारमा विश्वास फर्किन समय लाग्ने उहाँको भनाइ छ ।
सेयर बजारबारे स्थितिपत्रमा के छ ?
अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको बताउँदै सार्वजनिक गर्नुभएको देशको वर्तमान आर्थिक स्थितिपत्रमा पुँजी बजारबारे यो धारणा आएको छ । ‘‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासाीय नेपालीको लगानी भिœयाउन र सरकारी ऋणपत्रलगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानुनी सुधार गर्नुपर्ने स्थितिपत्रमा उल्लेख छ ।