• ३ चैत २०८२, मङ्गलबार

नेपालको समृद्धि साझा लक्ष्य

blog

प्रधानमन्त्री सुशीला कार्की गैरआवासीय नेपाली सङ्घले सोमबार काठमाडौंमा आयोजना गरेकोे १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन समापन समारोहमा सहभागी हुनुहुँदै । तस्बिर: कविन अधिकारी

काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ । 

गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । एनआरएनएको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउने उहाँको भनाइ छ ।

नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा तपाईंहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने छ ।”

वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजी सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने छ भन्नेमा विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । एनआरएनएहरू वास्तवमा नेपालको सद्भावना दूत भएको भन्दै उहाँले भन्नुभयो, “विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृति विश्वसामु परिचित गराइरहनुभएको पनि छ । यसका लागि म तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।”

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकता व्यवस्था गरेको भन्दै यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबिचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने सेतु भएको उहाँले प्रस्ट पार्नुभयो । यसले एनआरएनएहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सिप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

गैरआवासीय नेपालीको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने भन्दै यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी भएको उहाँले बताउनुभयो । यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबिच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउने प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

हालै सम्पन्न आमनिर्वाचनले नयाँ जनादेश दिएको र जनतामा नयाँ आशा जागृत भएको भन्दै उहाँले यो आशालाई उपलब्धिमा रूपान्तरण गर्नु हाम्रो साझा दायित्व भएको बताउनुभयो । अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “म यहाँहरूसमक्ष पुनः अनुरोध गर्छु कि नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ । त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।”

सङ्गठन थप बलियो बनाउने

एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रवासमा रहेका नेपालीलाई सङ्घमा आबद्ध गराउँदै सङ्गठनलाई थप बलियो बनाउने उहाँले बताउनुभयो । एनआरएनएहरूका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उहाँले बताउनुभयो ।

यसैबिच गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानुनी सुधार गर्न सङ्घले आग्रह गरेको छ । नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्न सम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ ।

हाम्रो एकता, समृद्धिको आधार भन्ने मूल नारासाथ शनिबारदेखि चलेको सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै विश्वभर छरिएका नेपाली समुदायले एकताको भावनासहित नेपालको समृद्धि, विकास तथा विश्वव्यापी नेपाली समुदायको हितका लागि सम्मेलनले विभिन्न प्रतिबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपालीको सहभागिता वृद्धि गर्न चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, लगानी तथा लगानी राफसाफका लागि बैङ्क खाता खोल्न तथा लगानी फिर्ता लैजान गैरआवासीय नेपालीको लगानी व्यवस्थापन गर्न छुट्टै निकाय खडा गर्ने र यी सबै कार्य सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, मालपोत ऐन तथा नियमावली संशोधन गर्न नेपाल सरकारसँग सम्मेलनमार्फत अनुरोध गरिएको छ । साथै नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डबाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत अविलम्ब कायम गर्न माग गरिएको छ ।

मध्यपूर्वको पछिल्लो अवस्थाप्रति अत्यन्त चिन्तित र गम्भीर रहेको जनाउँदै सम्मेलनले मध्यपूर्वका विभिन्न भागमा रहेका नेपाली सङ्कटमा परेको अवस्थामा राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउन एनआरएनएले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायसँग सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनसम्बन्धी कानुनी र नीतिगत सुधारका लागि ऐन यथाशीघ्र संशोधनका लागि सम्बन्धित निकायसँग यो सम्मेलनले माग गरेको छ । विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार र सहयोगको पहल गर्न प्रतिबद्ध रहेको सम्मेलनमा जारी घोषणापत्रमा उल्लेख छ । विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा सहकार्य गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पु¥याउने प्रतिबद्धता सम्मेलनले गरेको छ ।

जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपाली लगानी प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्ने जारी घोषणापत्रमा उल्लेख छ । एनआरएनएको १२ औँ विश्व सम्मेलन तथा एकताको महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वले अब बन्ने नयाँ सरकारसँग निरन्तर सहयोगको अपेक्षा गर्दै सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सम्मेलनका चार हजार २८६ प्रतिनिधिमध्ये काठमाडौँमा चार सयभन्दा बढी प्रतिनिधि प्रत्यक्ष रूपमा उपस्थित भएका थिए भने बाँकी प्रतिनिधि अनलाइन माध्यमबाट सहभागी भएका थिए ।

अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन हुनुभएको छ । सङ्घमा लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र विभाजनपछि शर्माको नेतृत्वमा सहमति भएको हो । सम्मेलनमार्फत सर्वसम्मत हुनुभएका अध्यक्ष शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ । अध्यक्षका उम्मेदवार रोविन शेरचन र रवीन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष हुनुभएको हो ।