• ४ मंसिर २०८२, बिहिबार

ब्याजदर न्यूनतम विन्दुमा झर्दा पनि बढेन कर्जा

blog

काठमाडौँ, मङ्सिर ४ गते । वाणिज्य बैङ्कले प्रदान गर्ने कर्जाको ब्याजदर न्यूनतम विन्दुमा आउँदा पनि बैङ्कको कर्जा प्रवाह बढ्न सकेको छैन । बैङ्कहरूले प्रदान गर्ने कर्जाको ब्याजदर घटिरहेको छ तर ब्याजदर घटे अनुरूप कर्जाको उपभोग भने नभएको हो ।

दोहोरो अङ्कमा रहेको वाणिज्य बैङ्कको औसत आधारदर (बेस रेट) सात प्रतिशतमा आइपुग्दा पनि कर्जाको माग आउन सकेको छैन । कुनैबेला ‘कर्जाको ब्याज बढी भयो, गरिखान सकिएन’, 

‘कर्जाको ब्याजदर घटाइदिए राहत हुन्थ्यो’ भन्दै बैङ्कविरुद्ध प्रदर्शन गर्ने उद्योगी व्यवसायीमा अहिले ब्याजदर एकल अङ्कमा आउँदा पनि कर्जा लिने अग्रसरता देखिएको छैन । अहिले तिनै उद्योगी व्यापारी भने अहिलेको अवस्थामा कर्जा लिएर उद्योग चलाउने मनोबल नै नरहेको बताउँछन् । डेढ दशकअगाडिको तुलनामा वाणिज्य बैङ्कको औसत आधारदर आधाले घटेको छ । नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय अहिले कर्जाको तुलनामा निक्षेप उच्च दरले बढिरहेको भन्दै यसलाई व्यवस्थापन गर्नका लागि उपयुक्त अवसर नभएको बताउनुभयो ।

बजारमा पर्याप्त तरलता रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “अहिले यसै पनि आर्थिक रूपमा सुस्तताको कारण लगानीको माहौल बन्न सकेको थिएन । त्यसमा जेनजी आन्दोलनको प्रभावले उद्योगी व्यवसायीको मनोबल पर्ख र हेरको अवस्थामा रहेको छ ।”

बजारमा अहिले रहेको तरलतालाई सदुपयोग गर्नका लागि सम्पूर्ण उद्योगी व्यवसायीको मनोबल उच्च हुनैपर्ने सिइओ पाण्डेयको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले व्यापार व्यवसाय गर्नेहरूमा कर्जा लिएर उन्नति हुन्छ भन्ने विश्वासमा कमी हुँदै गएको बताउनुहुन्छ ।

बैङ्कको चर्को ब्याजले एक पटक तर्सिसकेका उद्योगी व्यवसायी अहिले ब्याजदर कम हुँदा पनि कर्जा लिन आँट गर्न नसकेको उहाँको भनाइ छ । लगानीकै अभावमा कतिपय उद्योग बन्द भएको भन्दै उहाँले पछिल्लो समयमा देखिएको आर्थिक मन्दी, आन्दोलनलगायतका कारण पनि उद्योगी व्यवसायीमाथि उठ्न नसकेको बताउनुभयो ।

बैङ्किङ विज्ञ अनलराज भट्टराई बैङ्कबाट कर्जा जाने अवस्था छैन भनेर आफूले धेरै पहिलेदेखि भन्दै आएको बताउँदै कर्जा जानका लागि ब्याजदर घटेर मात्र नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बैङ्कको क्षमता पनि हुनु प¥यो । बैङ्कको क्यापिटल नै पुगेन, खराब कर्जा पनि बढेको अवस्था छ ।”

पुरानै कर्जा व्यवस्थापन गर्नुपर्ने अवस्थामा बैङ्क रहेको भन्दै उहाँले अहिले बैङ्कले कर्जा दिनेभन्दा पनि पुरानो कर्जा व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

औसत ब्याजदर ७.५ प्रतिशत

पछिल्लो समय निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटिरहेको छ । निक्षेपको ब्याजदर कम हुँदा पनि त्यसको प्रभाव कर्जाको ब्याजदरमा पर्छ । एक वर्षको अवधिमा बैङ्कको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको छ ।

गत आवको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैङ्कको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो ।

असोजसम्म वाणिज्य बैङ्कको कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत छ । गत आवको असोजमा वाणिज्य बैङ्कको कर्जाको औसत ब्याजदर ९.३३ प्रतिशत थियो ।

बैङ्कमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैङ्कले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

बैङ्कले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैङ्क ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन, स्थायी निक्षेप सुविधालगायत उपकरणमार्फत बैङ्कको पैसा खिच्छ ।

हाल राष्ट्र बैङ्कले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर छ प्रतिशत र स्थायी निक्षेप सुविधा सङ्कलन दर २.७५ प्रतिशत छ ।

निक्षेपको ब्याजदर ५.०४ प्रतिशत

कात्तिकको तुलनामा मङ्सिरमा बैङ्कको निक्षेपको औसत ब्याजदर पनि निरन्तर घटेर ५.०४ मा आएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिकको तुलनामा मङ्सिर महिनामा ०.१६ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा बैङ्कले औसतमा ५.२० प्रतिशत विन्दुका दरले ब्याज दिएका थिए । मङ्सिरमा भने सो घटेर ५.०४ प्रतिशत विन्दुमा झरेको हो । त्यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशत विन्दुले घटाएका छन् ।