• २२ वैशाख २०८३, मङ्गलबार

हुम्लामा ५१९ जनालाई संस्कार खाद्यान्न सहयोग

blog

जन्म तथा मृत्यु संस्कारका लागि खाद्यान्न सहयोग वितरण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २२ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखा र अन्य दुई वटा डिपोमार्फत जिल्लाभर जन्म तथा मृत्यु संस्कारका लागि ५१९ जनालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । साविक कर्णालीका स्थानीयलाई सरकारले जन्म र मृत्यु संस्कारका लागि खाद्यान्न सहयोग गर्ने व्यवस्था गरेअनुसार लिमिटेडको हुम्ला शाखाले उक्त सहयोग वितरण गरेको हो ।

एक वर्षमा ५१९ वटा जन्म तथा मृत्युका घटनाका लागि १६ लाख ६७ हजार १८० रुपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरले बताउनुभयो । त्यसमध्ये १३ लाख ५९ हजार १८० रुपियाँको खाद्यान्न र तीन लाख आठ हजार रुपियाँ सम्बन्धित घरधुरीलाई ढुवानी खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

ढुवानी रकम दूरीका आधारमा जिल्ला खाद्य व्यवस्था समितिले निर्धारण गरेको छ । नजिकका लाभग्राहीले खाद्यान्न लिन आउँदा पाँच सय रुपियाँ र टाढाका लाभग्राहीले एक हजार रुपियाँ ढुवानी खर्च पाउने व्यवस्था रहेको छ ।

सहयोग गरिएको खाद्यान्नमध्ये ४७१ जनाले जन्म संस्कारका लागि र ४८ जनाले मृत्यु संस्कारका लागि प्राप्त गरेको प्रमुख थापामगरले बताउनुभयो । जन्म र मृत्यु दुवै घटनाका लागि प्रति घटना ३० केजी जिरा मसिनो चामल उपलब्ध गराइने गरिएको छ ।

लिमिटेड शाखाले यी दुवै संस्कारका लागि प्रदान गरिने खाद्यान्न सकेसम्म छिटो वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । तर, डिपोहरूमा समयमै खाद्यान्न ढुवानी हुन नसक्दा वर्षमा एक पटक सबै घटनाको खाद्यान्न एकैपटक वितरण गर्ने गरिएको छ ।