• २२ वैशाख २०८३, मङ्गलबार

ग्यासको अभावसँगै दाउराको खोजी

blog

जङ्गलबाट दाउरा ल्याएर फर्कंदै स्थानीय महिला । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, वैशाख २२ गते । बजारमा ग्यासको अभाव भएपछि महिलाको कार्यबोझ बढेको छ । ग्यास अभाव हुँदा महिला खाना पकाउने दाउराको जोहो गर्न वनजङ्गल जानुपर्ने भएकाले कार्यबोझ बढेको हो । 

मध्यपूर्वको युद्धले नेपालमा ग्यास आपूर्तिमा समस्या भएसँगै यसको प्रभाव गाउँसम्म पर्न थालेको छ । कालीकोट बजारक्षेत्र मात्र होइन, गाउँमा समेत ग्यासको प्रयोग हुँदै आएको छ । बजारमा ग्यास नपाउँदा त्यसको प्रत्यक्ष असर महिलामा परेको छ । पुरुष घरबाहिर हुने र केही भएका पनि रोजगारीमा गएकाले सबै घरको कार्यबोझ महिलाको काँधमा आउने भएकाले ग्यास अभाव हुँदा वनजङ्गलको थप बोझ महिलाले खेप्नु परेको छ । 

खाँडाचक्र नगरपालिका–४ की २८ वर्षीय रेशमा विश्वकर्माले ग्यास अभाव हुन थालेपछि कार्यबोझ बढेको बताउनुभयो । साथै सिलिन्डरमा भएको  मूल्यवृद्धिले पनि समस्या ल्याएको हो । दाउरा खोज्न जङ्गल धाउन छाडेको नौ वर्षपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको रेशमाले बताउनुभयो । 

 सोही स्थानकी सुमित्रा विश्वकर्माले बिहान घरबाट तीन घण्टा टाढा जङ्गल पुगेर दाउरा खोजेर ल्याउनु परेको बताउनुभयो । नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “अहिले ग्यासको मूल्य बढ्यो भनेर दाउरा खोज्न जङ्गल जानु परेको छ,” सुमित्राले भन्नुभयो ।

पाल्त महादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रविलाल पाण्डेले चैतमा दाउरा खोज्न जङ्गल जाने उपभोक्ताको सङ्ख्या पहिलेभन्दा दोब्बर भएको बताउनुभयो । उहाँका अनुसार ग्यास अभाव भएपछि वनतिर दाउरा खोज्न जानेको सङ्ख्या बढेको हो । वनतिर बढी जान थालेपछि काँचा रुख ढालिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ । दाउरा पनि नपाइने रास्कोट नगरपालिकामा ग्यासको अभावले सर्वसाधारण मारमा परेको स्थानीयले बताएका छन् ।