गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलनका क्रममा मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते जेनजी समूहका १९ जनाको मृत्यु भएको थियो । भोलिपल्ट भएको ध्वंसका क्रममा समेत गरी तीन जना प्रहरीसहित ७४ जनाको ज्यान गएको छ ।
आन्दोलनका क्रममा प्रमुख प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत सयौँ सरकारी तथा निजी संरचनामा आजगनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको पूर्ण विवरण अझै तयार हुन सकेको छैन ।
मुलुक नै स्तब्ध हुने गरी भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा तीन सदस्यीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगले आन्दोलनका क्रममा सरकारी दमनसँगै अराजक र आपराधिक समूहले सुरक्षार्थ तैनाथ हतियारविहीन प्रहरीमाथि गरेको क्रूर हत्या, आगजनी, तोडफोड र लुटपाटबारे छानबिन सुरु गरिसकेको छ । यसै क्रममा आन्दोलनमा ज्यान गुमाएकाका परिवार र आफन्त मङ्गलबार तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री सो घटनामा दोषी रहेको दाबी गर्दै जिल्ला प्रहरीपरिसर काठमाडौँमा जाहेरी दर्ता गर्न पुगेका थिए ।
जिल्ला प्रहरीपरिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मृतकका परिवारका तर्फबाट जाहेरी आएको र सरकारले पनि उक्त घटनाबारे जाँचबुझ गर्न आयोग नै गठन गरिसकेकाले उक्त जाहेरी आयोगमै पठाइएको बताउनुभयो ।
प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो, “उजुरी जाँचबुझ आयोग सम्बन्धित नै रहेको पाइएकाले उतै पठाएका हौँ ।” जेनजी समूहका केही अगुवाले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट अभियान नै सञ्चालन गरी प्रहरीमाथिसमेत दबाब बढाएपछि प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी सुरक्षा संवेदनशीलताबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । जाहेरीसहित प्रहरीपरिसर पुगेका केही जेनजी युवालाई प्रहरीले अधिकारप्राप्त आयोगले काम गरिरहेको अवस्थामा प्रहरीले जाहेरी दर्ताका लागि सरकारकै निर्णय आवश्यक पर्ने जिकिरसहित फर्काएको थियो ।
त्यसलगत्तै प्रहरी प्रमुख खापुङसहितका उच्च प्रहरी अधिकारीले पुनः प्रदर्शन हुने अवस्था भए घुसपैठ भई थप अप्रिय घटना हुन सक्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जेनजी आन्दोलनका क्रममा प्रहरीका हतियार र पोसाक लुटिएको र ती हतियार राज्यविरुद्ध नै प्रयोग भए अवस्था नियन्त्रणबाहिर जान सक्नेतर्फ उनीहरूले सचेत गराएका थिए । लुटिएका हतियार सुरक्षाका लागि चुनौती बनेको, प्रहरी अधिकारीमाथि भएको आक्रमण र लुटपाटमा संलग्नलाई कारबाही नगर्न गृह मन्त्रालयले यसअघि जारी गरेको सूचनाले प्रहरीलाई थप अन्योलमा पारेको छ ।
बालेन र सुदन गुरुङविरुद्ध पनि उजुरी
यसैबिच नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीपरिसर काठमाडौँमा जाहेरी दिएको छ ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालको नेतृत्वमा पुगेका विद्यार्थी नेताहरूले महानगर प्रमुख बालेन र सुदनविरुद्ध आन्दोलन हिंसात्मक बनाउन उक्साएको, राष्ट्रिय सम्पदा र अन्य भौतिक संरचना तोडफोड र आगजनी गरी ध्वस्त बनाउन उक्साएको र मातृभूमिप्रति विदेशी जासुसी गरेको ठहरसहित किटानी जाहेरी दिएका छन् ।
जाहेरीबारे जानकारी दिँदै बडालले भन्नुभयो, “आन्दोलनका क्रममा राज्यमाथि प्रश्न उठ्दा आन्दोलनलाई उत्तेजित बनाउने, आगजनी, तोडफोड र सुरक्षाकर्मी हत्यामा संलग्न व्यक्तिहरू कुनै पनि हालतमा उम्किने अवस्था हुनुहुँदैन भन्ने हामीले प्रमाणसहितको जाहेरीमा उल्लेख गरेका छौँ ।”
बडालले प्रहरीले जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने तर्क गरेको र सरकारी वकिलसँग परामर्श गरी २४ घण्टाभित्र जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको पनि बताउनुभयो ।
परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जाहेरी थप स्पष्ट हुनुपर्ने देखिएकाले दर्ता हुन बाँकी रहेको बताउनुभयो । परिसर स्रोतका अनुसार सो निवेदनको फोटोकपी लिएर २४ घण्टापछि जवाफ दिइने भएको छ ।