मानिसलाई श्वासप्रश्वासका निम्ति अक्सिजन अनिवार्य छ । श्वासप्रश्वास जीवन सञ्चालनको अपरिहार्य सारथि हो । अक्सिजनबिना श्वासप्रश्वास असम्भव छ । खाना र पानीबिना केही समय बाँच्न सके पनि श्वासप्रश्वास प्रक्रिया अवरुद्ध हुँदा जीवनप्राण क्षणभर पनि रहन्न । श्वासप्रश्वासले जीवनलाई प्राण दिए झैँ स्वतन्त्रताले मानव जीवनलाई अस्तित्व दिन्छ । समाजलाई सार्थक रूपमा क्रियाशील बनाउँछ । प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक प्रणालीको अपरिहार्य अक्सिजन भन्दा फरक पर्दैन । स्वतन्त्र प्रेसबिना लोकतान्त्रिक प्रणाली असम्भव छ । पानीबिनाको माछा र प्रेस स्वतन्त्रताबिनाको लोकतान्त्रिक प्रणाली कसरी कल्पना गर्न सकिएला ? राजकीय पारदर्शितामै प्रेस स्वतन्त्रता सम्भव रहन्छ । पारदर्शिताले सुशासन प्रवर्धन गर्छ । जनविश्वास सुदृढ बनाउँछ । नागरिक शासनलाई सशक्त र प्रभावकारी बनाउँछ । त्यसैले प्रेस स्वतन्त्रतालाई संसारभरको लोकतान्त्रिक मुलुकका निम्ति अमूल्य सम्पत्ति भन्न सकिन्छ । आइतबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइयो । नेपाल पत्रकार महासङ्घको अगुवाइमा नेपालमा पनि प्रेस स्वतन्त्रता मनाई स्वतन्त्र प्रेसको समीक्षा गरियो । यो दिवस विश्वभर मनाउन थाल्नुको सार्थक इतिहास सम्झनै पर्छ । प्रत्येक वर्ष मे ३ मा मनाइने प्रेस स्वतन्त्रता दिवसको आरम्भ सन् १९९३ देखि भएको हो । यसमा अफ्रिकी मुलुक नामिबिया सम्मेलन कडीका रूपमा देखा पर्छ । अफ्रिकी पत्रकारको प्रयास र संयुक्त राष्ट्रसङ्घको घोषणासँग यो दिवसको उद्भव जोडिएको छ । सन् १९९१ को मे १ देखि तीन दिन नामिबियाको विन्डहकमा विश्वका पत्रकारको ऐतिहासिक सम्मेलन भएको थियो । यसैलाई यो दिवसको उद्भव मानिन्छ ।
तीन दिनको गहन छलफलसँगै विन्डहक सम्मेलनले ‘स्वतन्त्र र बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गर्दै संसारलाई नयाँ सन्देश दियो । यसमा युनेस्कोको पहल बिर्सन मिल्दैन । फलस्वरूप संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ मे ३ तारिखलाई विन्डहक घोषणापत्रको भावना आत्मसात् गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्ताव पारित गर्नु प्रेस स्वतन्त्रताको पक्षमा विशाल सफलता थियो । विश्वभर प्रेस स्वतन्त्रताको ध्वजा उँचो भयो । नेपालमा पनि पञ्चायती निरङ्कुश व्यवस्थापछि २०५० को दशक नेपालमा सञ्चार क्षेत्रको विकास र विस्तार हुँदै गए पनि स्वतन्त्र प्रेसप्रतिको आक्रमणका परिघटना कहालीलाग्दो रह्यो । नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पत्रकारको योगदान अमूल्य बन्न सक्यो । नेपालको मौजुदा संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ । तथापि अनेक अवरोध चिर्न अझै बाँकी छन् । धेरै श्रमजीवी पत्रकारले काम गरेको न्यूनतम पारिश्रमिकसम्म पाउने अवस्था अझै छैन । धेरै मिडियामा पत्रकार तथा सञ्चारकर्मी न्यूनतम सेवा सुविधाबाट वञ्चित छन् । मिडिया अर्थशास्त्रभित्र अनेक अडचन छिचोल्नै छ । पत्रकारिताको मूल्य, मर्म र आचारसंहिताको परिपालना अझै प्रभावी बन्न सकेको छैन । सूचना प्रविधिको साम्राज्य फैलिए पनि दूषित र भ्रामक सूचनाबाट प्रेस स्वतन्त्रता निस्सासिएको नागरिक याचनामा संवेदनशील हुनै पर्छ ।
स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विश्व प्रेस स्वतन्त्रता दिवसमा दिनुभएको सन्देशमा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । उहाँले स्वतन्त्र प्रेसबिना सुशासन र पारदर्शिता बलियो हुन नसक्ने पनि सुस्पष्ट गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले भन्नुभए झैँ प्रेसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न अति महत्वपूर्ण भूमिका कसैले बिर्सन मिल्दैन । प्रेस स्वतन्त्रता केवल पत्रकारको स्वतन्त्रता मात्र होइन, यो त सम्पूर्ण नागरिकको स्वतन्त्रता प्रवर्धन र सुनिश्चित गर्ने साध्य र साधन दुवै हो । राज्यप्रणालीलाई जवाफदेही बनाउने प्रभावी पद्धति हो । त्यसैले पनि प्रेसलाई राज्यको चौथो अङ्गका रूपमा लिइन्छ । संविधान र कानुन व्यवस्थामा कहीँ उल्लेख नभए पनि लोकतान्त्रिक प्रणालीमा प्रेस राज्यको चौथो अङ्गका रूपमा सम्मानित छ । प्रेसजगत्ले स्वतन्त्रताको अभ्यासलाई निहित स्वार्थ पोषणमा कहिल्यै लगाउनु हुँदैन । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विस्तारले स्वतन्त्रता दुरुपयोग हुन सक्नेप्रति सचेतता आवश्यक छ । मूलधारको पत्रकारितामा समेत प्रेस स्वतन्त्रता दुरुपयोगका कतिपय बाछिटा अनुभूत हुँदै छन् । प्रेस स्वतन्त्रताका नाममा छाडापनको क्लेस पनि मान्य हुँदैन । स्वतन्त्रताले जिम्मेवार र मर्यादित प्रेसलाई मार्ग प्रशस्त गर्नु पर्छ । पत्रकार आचारसंहिताको पूर्ण परिपालनालाई सार्थक तुल्याउनु पर्छ । प्रेस स्वतन्त्रता समृद्ध समाज निर्माणको साधक बन्न सक्नु पर्छ । त्यही नै विश्व प्रेस स्वतन्त्रताको मूल सन्देश मान्न सकिन्छ ।