• २३ असोज २०८२, बिहिबार

बालिकाको हत्या आरोपमा एक पक्राउ

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), असोज २२ गते । असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गेरुवा गाउँपालिका वडा ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तिरुवाले बालिका देउवालाई लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार  आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलालीसम्म सुन बेच्न पुगेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । हत्या आरोपी तिरुवालाई आज बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपी अनुसन्धान सुरु गरिएको छ । 

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्ट गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरीक्षक मदनबहादुर गुरुङले बताउनुभयो ।