• २२ असोज २०८२, बुधबार

बाजाको तालमा नाचिने ‘सरायँ’ जोगाउन चुनौती

blog

गुल्मी पश्चिमका खेलिने ऐतिहासिक सरायँ नाच । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज २२ गते । गलाभरी जमराको पहेँलो माला भिरेर सरायँ नाच्दा–नाच्दै धुर्कोट गाउँपालिका –५ वस्तुका केरमान गन्दर्भ र रामबहादुर गन्दर्भका कपाल फुलेर सेतै भइसके । उमेरले ७० नेटो काटे पनि सरायँ नाचमा उहाँहरुको जोश युवाकोभन्दा कम छैन । 

उहाँहरु दुई भाइको धुर्कोट कोतमा गर्विलो उपस्थिति हुनेगरेको छ । स्थानीयलाई गन्दर्भ दुई भाइबिना धुर्कोट कोतको सरायँ न्यास्रो लाग्छ । मुसिकोट नगरपालिका–४ वडागाउँ बारुकामा हुने सरायँको ७३ बर्षीय निर्खसिंह ठकुरी पुरानो मध्येको साक्षी हुनुहुन्छ । उहाँ बच्चाबाटै सरायँ खेल्नुहुन्थ्यो । 

पहिले–पहिले सरायँ खेल्ने र हेर्नेले चौर खचाखच हुन्थ्यो । द्वन्द्वकालअघि रातिमा सरायँ हुने भएकाले जुनको झुल्कोसँगै सरायँ हेर्ने र खेल्नेले बारुकाको खेल मैदान भरिभराउ हुन्थ्यो । सुरक्षाको कारण द्वन्द्वकालपछि दिउसोमा सरायँ गर्न थालिएको ठकुरीले बताउनुभयो । 

माालिका गाउँपालिका –६ का ६३ बर्षीय डिलबहादुर परियार १८ बर्षको उमेरबाट सरायँ खेल्नुहुन्थ्यो । सरायँमा डिलबहादुरले फुकेकोे नर्सिङ्गा र कर्नालले फुलबारी थर्किन्थ्यो । टहटह पूर्णिमाको जूनेली रातमा सरायँ खेल्ने र हेर्नेहरुले फुलबारीमा खुट्टा राख्ने ठाउँ हुन्थेन् । 

डिलबहादुरको जोश उस्तै छ । उहाँका अनुसार सरायँ खेल्दा प्रत्येक दुई मिनेटमा नर्सिङ्गा र कर्नाल फुक्नुपर्छ । कम्तीमा आधा घण्टामा पालो दिने मान्छे हुनुपर्छ । उहाँले भन्नुभयो, ‘आँखै अगाडि इस्मा, छाप, घमिर र अर्जैका सरायँ खस्किदै गए । अहिले चौरमा सरायँ खेल्दा चौरमा फेरो समेत पुग्दैन ।”

कुम–कुम जोडेर, बसेर र उठेर दमाह ठोक्न ७० बर्षीय मीनबहादुर परियारलाई बुढेशकालमा सजिलो छैन । उमङ्गले गरुङ्गो दमाह पनि हलुङ्गो हुने मीनबहादुर बताउनुहुन्छ । सनाई गीतमा दमाहको ताल नमिले सरायँ खल्लो हुन्छ । हतियार र बाजाको तालमा ‘आयो दसैं गयो, देवी भेट भयो’ । ‘बाँचे आइसल भेट राखे माया पेट’ भन्ने गीतमा खेलिने सरायँ नाच आफैमा मनमोहक छ । अचेल सरायँ नाचमा पाको पुस्ता दुर्लभ बनेका छन् । 

युवा पुस्तामा टिकेर खेल्ने र मर्म बुझेका निकै कम छन् । त्यो मात्रै नभएर बाजा बजाउनेहरुको पुस्तामा पनि उरन्ठ्यौलोपन भित्रिएको छ । मीनबहादुरले भन्नुभयो, “बाजा बिगारे बा–हजुरबाले कारबाही गर्थे । अहिले देखावटी र नक्कली धेरै भए सम्झाए पनि मान्दैनन् ।”

अर्जे पश्चिम गुल्मीको सबैभन्दा व्यवस्थित सरायँ हुने ठाउँ हो । पहिले दसैंको पूर्णिमाको दिन रातमा हुने सरायँ हुने भए पनि पछि पूर्णिमामा हुँदैआएको छ । ऐतिहासिक सरायँ जोगाउन स्थानीयले सबै प्रयास कायम राखेको मालिका गाउँपालिका –६ का पूर्व वडाध्यक्ष शोभाखर गिरीले बताउनुभयो । 

दसैंको भोलिपल्टबाट इस्मा मैदानमा सरायँ हुन्छ । इस्माली र छपाली एकै ठाउँ भेटेपछि मैदानको बिचभागको मौलो छोप्न आइपुग्छन् । यो परम्परालाई पहिले बहादुरी र बिजयउत्सवको रुपमा विकास गरियो । त्यो बेला इस्माली र छपालीमध्ये कसले पहिले मौलो छुने भन्ने दौड हुन्थ्यो । त्यो मानसिकताका कारण झगडा बढेपछि अहिले आत्मीय सम्मानको रुपमा भेट हुने र सरायँ खेल्ने गरिएको छ । 


दसैंमा घर आएकाहरु इस्मा मैदान पुगेर सरायँ नहेरी गन्तव्यमा फर्किदैन्थे । इस्मामा सरायँकै बिचमा नाँच्ने र बजाउनेहरुलाई इस्मा ओलक खुवाइन्छ । मनकामना पूजा समितिका अध्यक्ष खगराज बस्नेतका अनुसार ओलक निकै पुरानो प्रचलन हो । दही, केरा र अम्बालाई ओलक भनिन्छ । 

बस्नेतका अनुसार केही बर्षसम्म इस्मा दोहली, रजस्थल, दर्लामचौर र छापका स्थानीयले ल्याएको दहीले मैदानमा इन्द्रबीर बस्नेतको घर भरिन्थ्यो । कोतको नाममा दही, केरा र अम्बा ल्याउँदा धार्मिक आनन्दता प्राप्त हुन्थ्यो । अहिले गाउँ र मान्छेका मन रुखो बनेका छन् । 

सहयोग र आस्था मर्दै गएकाले छापले मात्रै ओलक ल्याउने र आफूहरुले दही किनेर सरायँ खेल्नेहरुलाई खुवाउँदै आएको मनकामना पूजा समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।