काठमाडौँ, वैशाख २२ गते । वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको नियात्रासङ्ग्रह ‘जहाँ छचल्किए भावना’ लोकार्पण गरिएको छ । सोमबार आयोजित समारोहमा साहित्यिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूद्वारा संयुक्त रूपमा उक्त कृति लोकार्पण गरिएको हो । समारोहमा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा तथा नियात्राकारका सम्बन्धमा प्रकाश पार्नुभयो ।
यस्तै प्राडा भरतकुमार भट्टराईले उक्त नियात्रासङ्ग्रहको विशद समीक्षा गर्नुभयो । नियात्राकार आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ । उहाँका यसअघि प्रथम नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन, सहलेखन), सांस्कृतिक सेरोफेरो (निबन्धसङ्ग्रह), मनको ओखती (गीतसङ्ग्रह), १०१ प्रथम नेपाली महिला (पूरक खण्ड), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला, सांस्कृतिक सौरभ (सहसम्पादन), बिर्सनै नहुने कृष्णप्रसाद, प्रथम नेपाली महिला (परिमार्जित तथा परिवद्र्धित) प्रकाशित भइसकेका छन् ।