• २२ वैशाख २०८३, मङ्गलबार

गुरुङ बस्तीमा घाटुको रौनक

blog

मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित घाटुनाच र घाँसेगीत प्रतियोगिता ।

लमजुङ समाचारदाता

लमजुङ, वैशाख २२ गते । गुरुङ संस्कृतिमा आधारित घाटुनाचले गाउँघरको रौनक बढाएको छ । घाटुले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ । गुरुङ गाउँमा वैशाख पूर्णिमामा सुरु भएको घाटुनाच पञ्चमीमा विसर्जन गरिन्छ । मस्र्याङ्दी–३, ढङ्गैका पूर्ण गुरुङले घाटुनाचले गाउँमा रौनक थपेको बताउनुभयो । उहाँका अनुसार घाटु हेर्न मस्र्याङ्दी गाउँपालिकाको सन्जापु, मिप्रा, घनपोखरा, सिलढुङ्गादेखि पाहुना आएका छन् ।

रक गार्डेन खानीगाउँ पर्यटन समितिका अध्यक्ष कामसार्की गुरुङले गुरुङ गाउँमा घाटुनाचको उत्सव चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँमा घाटु चलेको छ । घाटुले पाहुना जमघट हुँदा रमाइलो भएको छ । घाटु हेर्न पाहुना आउने जाने चलिरहेको छ ।” लमजुङका ढङ्गै, घनपोखरा, सिउरुङ, छापा, मिप्रा, पसगाउँ, सिङ्दी, गिलुङ, हिलेटक्सार, ताघ्रिङ, श्रीमन्ज्याङ, घलेगाउँ, करापु, भुजुङ, गिलुङ, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दुधपोखरीलगायत गुरुङ गाउँमा घाटुनाच नाचिएको छ । गाउँ गाउँमा स्थानीय आमा समूह तथा युवा क्लबले घाटुनाचको व्यवस्थापन गरेका छन् ।

गुरुङ भाषा र संस्कृतिका अध्येताका अनुसार घाटुनाच १५ औँ शताब्दीतिर प्रारम्भ भएको मानिन्छ । घाटुनाचमा विशेष गरी रजस्वला नभएका दुई जना कन्यालाई मध्ययुगीन राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नाच्न लगाइन्छ । त्यसपछि उनीहरू जति उमेरका भए पनि इच्छा अनुसार नाच्न सक्छन् । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती तथा युद्धका बारे व्याख्या र अभिनय गरिन्छ । घाटु विशेष गरी सती र बाह्रमासे हुन्छ । यसमा कुसुन्डा नृत्यको विशेष प्रस्तुति रहन्छ ।

घाटुको गीतिकथा प्रेमबाट सुरु हुने र मृत्यु वियोगमा टुङ्गिने भुजुङका घाटुगुरु बुद्धिरास गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “लडाइँमा राजा मारिएपछि रानीले सासूलाई घरव्यवहार, ससुरालाई धनसम्पत्ति र नाबालक छोरा बालकृष्णलाई राजाको सिंहासनमा राखेर सती जाने तयारी गर्छिन् । राजा मरेको र रानी सती जान लागेको थाहा पाएपछि घरका कुकुर, बिरालो, हात्ती, परेवालगायत घरपालुवा जनावर रुन थाल्छन् ।” सती जाँदा यम्फावती अर्थात् घाटुसरी रुँदाको क्षणले सबैलाई एक पटक मर्माहत बनाउने उहाँले बताउनुभयो ।

घाटुनाच तीनदेखि पाँच दिनसम्म नाचिन्छ । जहाँ गीत बोलाउने, देउता हेर्ने, मायापिरती, खेतीपाती, फूलको जात गन्ने, जाल खेल्ने, ढडिया खेल्ने, नुहाउने, सिकार खेल्ने, विवाह गर्ने, लडाइँ गर्ने र सती जानेलगायत १२ वटा डाँडा गन्दै गीत गाइने घाटुगुरु बुद्धिरासले बताउनुभयो । उहाँका अनुसार यसमा हिउँचुली, बरचुली, देउचुली र गङ्गाचुली गरी पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका प्राकृतिक देवीदेउतालाई बोलाइन्छ ।

घाटुनाच मेलामा घाँसेगीत

यसै गरी मकवानपुर समाचारदाताका अनुसार ऐतिहासिक घाटुनाच मेलासँगै घाँसेगीत प्रतियोगिता सम्पन्न भएको छ । घाटुनाच संरक्षण गर्दै आएको कैलाश गाउँपालिका–२ को कार्यालयले पहिलो पटक लोपोन्मुख अवस्थामा पुगेको घाँसेगीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता आयोजना गरी घाँसेगीत संरक्षणको सुरुवात गरेको हो । मुख्यतया गुरुङ समुदायमा प्रचलनमा रहेको घाटुनाच मकवानपुरको वैकुण्ठमा परम्परादेखि तामाङ समुदायमा चल्दै आएको छ । वडाध्यक्ष राजेन्द्र घिसिङले दुई दिन भएको घाटुनाचसँगै घाँसेगीत र तामाङ फापरे ह्वाई प्रतियोगिताले तामाङ समुदायको रीतिरिवाज, परम्परा र कला संस्कृतिको जगेर्ना गर्ने बताउनुभयो ।

१८ समूहको सहभागिता रहेको घाँसेगीत प्रतियोगितामा पशुपति गिरी र चिनु चौहानको समूह पहिलो, मीना रिजाल र मैयाँ खत्री दोस्रो, विदुर गिरी र शङ्कर गिरी तेस्रो तथा कलावती घिमिरे र बेलिमाया दियालीको समूहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कारसहित प्रमाणपत्र पाए । यसै गरी फापरे ह्वाई गीतमा राममाया स्याङ्बोलाई २५ हजार रुपियाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।