• २२ असोज २०८२, बुधबार

सल्यानको कुमाखमा भव्य मेला, हजारौंको मेलामा भिड

blog

सल्यानको धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थल कुमाखमा कोजाग्रत पूर्णिमाको दिन लागेको मेला । तस्बिरः प्रतीक शर्मा इच्छुक

प्रतीक इच्छुक शर्मा

सल्यान, असोज २२ गते । कोजाग्रत पूर्णिमाको अवसरमा सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल कुमाख पहाड (लेक) मा भव्य मेला लागेको छ । 

दसैंपछिको परम्परागत रूपमा लाग्ने यो मेला जिल्लाकै ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो मानिन्छ । श्रद्धालुहरू कुमाखको टुप्पोमा अवस्थित सिद्ध मन्दिरमा विशेष पूजा–आराधना र दर्शनका लागि पुगेका छन् ।

धार्मिक आस्था र परम्परा

कुमाख पहाडको चुचुरोमा रहेको सिद्ध मन्दिरमा प्रत्येक वर्ष चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन विशेष पूजा र आराधना गरिन्छ । मन्दिरका पुजारी शेरबहादुर डाँगीका अनुसार, पहिलो पटक मन्दिर पुग्नेले सात पटक परिक्रमा गरेर वर माग्ने र मनोकामना पूरा भएपछि भेडाको बलि चढाउने परम्परा रहिआएको छ ।


कुमाखकै भित्री भागमा रहेको सिद्ध गुफा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । करिब १५० मिटर लम्बाइको उक्त गुफाभित्र ढुंगाका अनौठा आकृतिहरू र चित्रहरू रहेका छन् । प्रत्येक वर्ष शिवरात्रीमा यहाँ भव्य मेला र पूजा आयोजना गरिन्छ । कुमाखमा करिब एक लाख ५० हजार श्रद्धालु हरेक वर्ष मेला र दर्शनका लागि पुग्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्य 

समुन्द्री सतहदेखि करिब २ हजार ५३७ मिटर उचाइमा अवस्थित कुमाखको टुप्पोबाट रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत १५ जिल्लाका भू–भाग र हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ ।

स्थानीय डिल्लीराज जैसीका अनुसार, “कुमाख प्राकृतिक ‘भ्यू टावर’ जस्तै बनेको छ, जहाँबाट हिमालदेखि तराईसम्मको दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ ।” यहाँका वनजंगलमा दुर्लभ जडिबुटी, चराचुरुङ्गी, राते मृग, घोरल र चितुवा लगायतका वन्यजन्तु पाइन्छन् । सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले कुमाख क्षेत्र वन्यजन्तुको सुरक्षित बासस्थान भएकाले संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

संस्कृति र लोकपरम्परा

सिद्ध मन्दिरभन्दा करिब १ किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा कोजाग्रत पूर्णिमाको दिन जात्रा (मेला) लाग्ने गर्छ । मेलामा आसपासका गाउँका लोक कलाकारहरूले बनगाडी, टप्पा, सोरठी, पैसेरी, दोहोरी, सेरेङ्गेजस्ता नाच–गान प्रस्तुत गर्छन् । 

लोकसंस्कृति संरक्षण र प्रदर्शनले एकआपसमा आत्मीयता कायम हुने विश्वास गरिएको छ । पछिल्लो समयमा हराउँदै गएका संस्कृति पनि मेलामा हेर्न र देख्न पाइन्छ ।

साहित्यकार डा. पूर्ण भण्डारी ‘पंकज’ ले “कुमाखको मेलाले स्थानीय लोकसंस्कृति र परम्पराको संरक्षणमा ठुलो भूमिका खेलेको” बताउनुभयो । उहाँका अनुसार, “दसैं र कुमाख मेलामा परदेश गएका घर फर्कने, साथी–संगीहरूको भेटघाट हुने अवसर यो मेला हो ।”

वरिष्ठ लोकगायक खर्क वुढाले कुमाख लेक र यहाँको आस्था र विश्वास संघ धेरै  लोकभाकाका गीत गाइने गरेको बताउनुभयो । उहाँका अनुसार यहाँ कुमाख पहाडसँग जोडिएका गीतहरू पनि प्रसिद्ध छन् । 

“कुमाखको हाइ हाइ जाडो बर्की ताना तानी, 

काँको हामी काँको तिमी भैगो चिनाजानी !!”

“माथि प¥यो कुमाख लेक तल स्यानी ज्यूला, 

फूल जस्तो साइको जोबन अब मै’त लिउँला !!”

कुमाखमा पूजा–आराधना गर्न र मेला भर्नका लागि रुकुम, जाजरकोट, रोल्पा र दाङ लगायत जिल्लाबाट पनि भक्तजन आउने गर्छन् ।

मेला र स्थानीय उत्पादन

परम्परागत रूपमा लाग्दैआएका मेलाले स्थानीय बस्तु बिक्री गरी आम्दानी गर्ने माध्यम बनेका छन् । स्थानीय रूपमा उत्पादित केरा, बदाम, सखरखण्ड, जिलेवी लगायतका बस्तुहरू बिक्रीका लागि राखिन्छन् ।

त्यस्तै, काठे पिङ, मौलिक नाचगान र हस्तकलाका बस्तुहरूले मेला झनै आकर्षक बनेको छ । सिद्धकुमाख–१ का वडा अध्यक्ष रमेश चलाउनेका अनुसार, कच्ची सडक निर्माण भएर यातायात सञ्चालनमा आएपछि मेला हेर्न आउने श्रद्धालु र पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको छ । उहाँले भन्नुभयो, “पहिलेभन्दा पूजा–आराधना र मेला भर्न आउनेको संख्या दशौँ हजारले बढेको छ।”


पर्यटन सम्भावना

कुमाख गाउँपालिका–७ का अध्यक्ष डम्बर शाहीले कुमाखलाई आन्तरिक र बाह्य पर्यटनको आकर्षणका रूपमा विकास गर्न सकिने बताउनुभयो । हाल कुमाखसम्म पुग्ने ढोरचौर–गुरुदासे–स्यानीपिपली र थारमारे–चौरपानी–ओखरबोट–गुरुदासे सडक निर्माण भइसकेका छन् ।

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ अनुदान र स्थानीयहरूको श्रमदानसहित करिब १८ लाख रुपियाँ लागतमा पदमार्ग निर्माण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ्ग खड्काका अनुसार, कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेटबाट पदमार्ग, सिँढी र मन्दिरका ढोका निर्माण गरिएको छ । उहाँका अनुसार पदमार्ग निर्माणपछि भक्तजन र पर्यटकहरूको यात्रा सहज र सुरक्षित बनेको छ । चट्टान फोडेर पदमार्ग बनाइएको हुँदा अब पहिलेजस्तो जोखिम छैन ।

आस्था, सौन्दर्य संगम

कुमाख लेकमा अझै धेरै संरचना बनाउनु पर्ने आवश्यकता रहेको स्थानीयवासी नविन चलाउने बताउनुहुन्छ । उहाँका अनुसार रेलिङ, फिल्ड निर्माण, मन्दिर पुनःनिर्माणजस्ता कार्य गर्न सके भक्तजनलाई सजिलो हुनेछ । उहाँले थप्नुभयो, “पूर्वाधार निर्माणसँगै प्रचार–प्रसार गर्न सकिएमा आन्तरिक मात्र होइन, बाह्य पर्यटकको संख्या समेत गुणात्मक रूपमा बढ्नेछ ।”

कुमाख धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको अद्भुत संगम हो । मन्दिरका पुजारी शेरबहादुर डाँगीका अनुसार यहाँ पूजा वा बलि चढाएमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास यथावत् छ ।

स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय गरी पूर्वाधार विकास, संरक्षण र प्रचार–प्रसारमा जोड दिन सकिएमा कुमाख कर्णाली प्रदेशकै प्रमुख पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको स्थानीयवासीहरूको विश्वास छ ।