छत्रेश्वरीमा एमालेका ओजबहादुर विजयी
सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।
भेरी र बारेकोटमा एमाले, छेडागाडमा काँग्रेस बिजयी
वासुदेव शर्मा जाजरकोट, जेठ ४ गते । जाजरकोटको भेरी नगरपालिकमा दोस्रो कार्यकालका लागि पुनः नेकपा (एमाले) का चन्द्रप्रकाश घर्ती निर्वाचित हुनुभएको छ । छेडागाड नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रत्नबहादुर खडका विजयी हुनुभएको छ ।त्यस्तै, बारेकोट अध्यक्षमा एमालेबाट बीरबहादुर गिरि निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार गगनबहादुर खडकालाई फराकिलो मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । अन्तिम मतगणनाको परिणामअनुसार एमालेका चन्द्रप्रकाश घर्तीले पाँच हजार २१० मत ल्याएर बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका गगनबहादुर खडकाले चार हजार १८८ मत प्राप्त गर्नुभएको छ । घर्तीले खडकालाई १ हजार २२ मतको अन्तरले पराजित गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काग्रेसलाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको थियो । नगरप्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । यसपाली उपप्रमुखमा सत्ता गठबन्धनबाट काग्रेसकी सीता गौतम ६ हजार ४६८ मतका साथ बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी साबित्रि चन्दले पाँच हजार ६०३ मत प्राप्त गर्नुभयो । यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट काग्रेसका रत्नबहादुर खडका बिजयी हुनुभएको छ । उहाँले एमालेका लालबहादुर महतारालाई पराजित गर्दै नगरप्रमुखमा बिजयी हुनुभएको हो । खडकाले आठ हजार ६०५ मत प्राप्त गरी जिय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका महताराले चार हजार ९१८ मत प्राप्त गर्नुभयो । महताराले २०७४ को स्थानिय तह निर्वाचनमा खडकालाई पराजित गर्दै नगर प्रमुखमा विजय हुनु भएको थियो । उपप्रमुखमा सत्ता गठबन्धनकै चन्द्रबहादुर थापा निर्वाचित हुनुभयो । थापा सात हजार ४६१ मत ल्याएर विजय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी अन्जु थापाले पाँच हजार ४३६ मत प्राप्त गर्नुभयो । १३ वडा रहेको छेडागाडमा काग्रेसले ४, माओबादी केन्द्रले ४, एमालेले ४, समाजवादीले १ वडामा बिजयी बनेको छ । बारेकोटमा एमालेका बीरबहादुर गिरी बिजयी हुनुभएको छ । काग्रेसका निर्बतमान अध्यक्ष महेन्द्रबहादुर शाहलाई एक सय ९ मतले पराजित गर्दै गिरी बिजयी हुनुभएको हो ।गिरीले तीन हजार ९५४ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी काग्रेसका शाहले तीन हजार ८४५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरी बिजयी हुनुभयो । गठबन्धनका उपाध्यक्षका उमेदवार गिरीले तीन हजार ६६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी गीता सिहले तीन हजार ४०१ मत प्राप्त गर्नुभयो । भेरीमा एक उपप्रमुखसहित काग्रेस ७, माओबादी केन्द्र ४, एमालेले २ वटा वडा अध्यक्ष जितेको छ ।
अस्पतालको ल्याव सेवा सुचारु
गत वैशाख २६ गतेबाट बन्द रहेको ल्याव सेवा पुनः सुुचारु भएको छ । स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी फिर्ता हुुँदा सेवा सुचारु भएको हो ।
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
हरिकृष्ण ऐडीमुगु, जेठ ४ गते । मुगुको खत्याड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का अजबहादुर शाही बिजयी हुनुभएको छ । उपध्यक्षमा नेपाली काँग्रेसकी सरिता रोकाया निर्वाचित हुनुभएको छ । खत्याड निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. बाबुराम ढुङ्ग्यानाका अनुसार अध्यक्ष पदमा उम्मेदवार शाहीले ३ हजार ५ सय २१ मत ल्याएर ५ बर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्दी नेकपा (एमाले) का लालबहादुर मल्ल ले २ हजार ६ सय २१ मत ल्याएर पराजित हुनुभयो । यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा काँग्रेसकी सरिता रोकायाले ४ हजार ५ सय ४८ मत ल्याएर बिजयी हुनुभएको छ । प्रतिद्वन्दी एमालेकी कविता गिरिले २ हजार ४ सय ९९ मत प्राप्तगरी पराजित हुनुभयो । ११ वडा रहेको खत्याड गाउँपालिकामा एमालेले ३ वटा, कांग्रेसले ३ वटा र यसैगरी माओवादीले ५ वटा वडामा जित हात पारेको छ । ०७४ को स्थानीय तह निर्बाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो ।
आठबिस नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी हुनुभएको छ ।
चौरजहारीमा माओवादीका पुष्प र ईश्वरी विजयी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरी शर्मा वि.एम.ले जित हाँसिल गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।
आठबिसकोटमा माओवादीका रवि र धनकुमारी विजयी
जिल्लाको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जनाएको छ । प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।
चन्दननाथ नगरमा स्वतन्त्र उम्मेदवार कठायत र उपमेयरमा काँग्रेसका खड्का विजयी
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका हुन् । उहाँले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् ।
अदानचुुलीमा गठबन्धनबाट सिंह र रोकाया विजयी
अदानचुली गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित हुनुुभएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट विजयी हुनुु भएको हो ।