• १६ असार २०८१, आइतबार

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, असार १३ गते । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा ४, रायढुङ्गास्थित तम्घास सिमलटारी सडक खण्डमा छल्दीबाट तम्घासतर्फ आउँदै गरेको ट्याक्टर आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मालिका गाउँपालिका वडा २ दर्लिङ्गका टिकाराम विकका अन्दाजी ६ वर्षीय छोरा शिब विकको मृत्युभएको प्रहरीले जनाएको छ । घाइते विकको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलका अनुसार ट्याक्टर दुर्घटनामा परी चालक धुर्कोट गाउँपालिका वडा ५ बस्तुका २६ वर्षीय दिपक गोतामे घाइते हुनुभएको छ । उहाँको टाउको र अनुहारमा चोट लागेको छ । 

उक्त ट्याक्टरमा काम गर्ने बागलुङ बडिगाड गाउँपालिका घर भई हाल रेसुङ्गा नगरपालिका वडा ९ उपल्लो तम्घास बस्ने करिब १९ वर्षीय राजकुमार विक पनि घाइते हुनुभएको छ । 

घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पश्चात थप उपचारका लागि पाल्पा प्राभसमा रिफर गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ करिब ७ः४० बजेको समयमा लु ४ त २४६५ नम्बरको ट्याक्टर सडकबाट करिब ७० मिटर तल खसेको थियो ।