• १६ असार २०८१, आइतबार

भेरी र बारेकोटमा एमाले, छेडागाडमा काँग्रेस बिजयी

blog

वासुदेव शर्मा 

जाजरकोट, जेठ ४ गते । जाजरकोटको भेरी नगरपालिकमा दोस्रो कार्यकालका लागि पुनः नेकपा (एमाले) का चन्द्रप्रकाश घर्ती निर्वाचित हुनुभएको छ । छेडागाड नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रत्नबहादुर खडका विजयी हुनुभएको छ ।

त्यस्तै, बारेकोट अध्यक्षमा एमालेबाट बीरबहादुर गिरि निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार गगनबहादुर खडकालाई फराकिलो मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । अन्तिम मतगणनाको परिणामअनुसार एमालेका चन्द्रप्रकाश घर्तीले पाँच हजार २१० मत ल्याएर बिजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका गगनबहादुर खडकाले चार हजार १८८ मत प्राप्त गर्नुभएको छ । घर्तीले खडकालाई १ हजार २२ मतको अन्तरले पराजित गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काग्रेसलाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको थियो । 

नगरप्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । यसपाली उपप्रमुखमा सत्ता गठबन्धनबाट काग्रेसकी  सीता गौतम ६ हजार ४६८ मतका साथ बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी साबित्रि चन्दले पाँच हजार ६०३ मत प्राप्त गर्नुभयो ।  

यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट काग्रेसका रत्नबहादुर खडका बिजयी हुनुभएको छ । उहाँले एमालेका लालबहादुर महतारालाई पराजित गर्दै नगरप्रमुखमा बिजयी हुनुभएको हो । खडकाले आठ हजार ६०५ मत प्राप्त गरी जिय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका महताराले चार हजार ९१८ मत प्राप्त गर्नुभयो । 

महताराले २०७४ को स्थानिय तह निर्वाचनमा खडकालाई पराजित गर्दै नगर प्रमुखमा विजय हुनु भएको थियो । उपप्रमुखमा सत्ता गठबन्धनकै चन्द्रबहादुर थापा निर्वाचित हुनुभयो । थापा सात हजार ४६१ मत ल्याएर विजय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी अन्जु थापाले पाँच हजार ४३६ मत प्राप्त गर्नुभयो । 

१३ वडा रहेको छेडागाडमा काग्रेसले ४, माओबादी केन्द्रले ४, एमालेले ४, समाजवादीले १ वडामा बिजयी बनेको छ । बारेकोटमा एमालेका बीरबहादुर गिरी बिजयी हुनुभएको छ । काग्रेसका निर्बतमान अध्यक्ष महेन्द्रबहादुर शाहलाई एक सय ९ मतले पराजित गर्दै गिरी बिजयी हुनुभएको हो ।

गिरीले तीन हजार ९५४ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी काग्रेसका शाहले तीन हजार ८४५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरी बिजयी हुनुभयो । गठबन्धनका उपाध्यक्षका उमेदवार गिरीले तीन हजार ६६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी गीता सिहले तीन हजार ४०१ मत प्राप्त गर्नुभयो । भेरीमा एक उपप्रमुखसहित काग्रेस ७, माओबादी केन्द्र ४, एमालेले २ वटा वडा अध्यक्ष जितेको छ ।