प्रेमराज सिम्खडा
कालीकोट, वैशाख ७ गते । कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापनासँगै औपचारिक रूपमा उद्घाटन भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इप्रका स्थापनासँगै उद्घाटन गरिएको हो ।
गत वर्ष २०८२ भदौ ५ गते अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेसँगै रास्कोटमा इलाका प्रशासनले सेवा सुरु गरेको हो । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यतामा आयोजित कार्यक्रमका बिच इलाका प्रशासन कार्यालय रास्कोटको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धेरै दुःखका बिचमा रास्कोटमा इलाका प्रशासन कार्यालय उद्घाटन भएको बताउनुभयो । सबै प्रक्रिया सुरु देखि अहिले सम्म धेरै दुःख गर्नु परेको भन्दै अब यहाँका नागरिकले हरेक सेवा लिन सदरमुकाम मान्म धाउन नपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले रास्कोटको इलाका प्रशासन कार्यालयले साविकका १७ गाउँविकास समितिका नागरिकलाई सेवा लिन सहज भएको भन्दै यसैमा सरकारको सफल्ता देख्नुपर्ने बताउनुभयो ।
कठिन भौगोलिक अवस्थिति रहेको कालीकोटमा नागरिकता लगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न रास्कोट क्षेत्रका नागरिकलाई कठिनाइ थियो । जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चितसँगै आज औपचारिक रूपमा उद्घाटन भएको रास्कोट घर भएका एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष दयाराम सिम्खडाले बताउनुभयो ।
तत्कालीन केपी शर्मा ओली सरकारले देशका अन्य जिल्लासँगै कालीकोटको रास्कोटका लागि इलाका प्रशासन कार्यालय स्वीकृत गरेकाले अहिले सेवा सुचारु भएको सिम्खडाले बताउनुभयो । कर्णाली पारिका नागरिकको वर्षौं देखिको माग पूरा भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘अब नागरिकता बनाउनकै लागि कम्तीमा तीन दिनको समय र तीन हजार रुपियाँ बचत हुने छ । उहाँले रास्कोट इलाका प्रशासनका लागि सबै दलले चुनावी मुद्दा बनाएको स्मरण गर्दै नरहरिनाथ स्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको सुनाउनुभयो ।
रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको सिम्खडाले बताउनुभयो । नागरिकता बनाउनकै लागि सदरमुकाम पारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिनुभयो । सङ्घीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भएको नेता सिम्खडाको भनाइ छ ।
रास्कोटमा इलाका हुदा नरहरिनाथका बासिन्दाका लागि भने असजिलो र उल्टो बाटो पर्ने नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले बताउनुभयो । ‘‘प्रदेश निर्वाचन ‘ख’ अन्तर्गतका अन्य पालिकाका लागि रास्कोट पायक पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘नरहरिनाथका बासिन्दालाई उल्टो र झन खर्चिलो हुने भएकाले हाम्रो लागि सदरमुकाम मान्म नै ठिक छ विष्टले भन्नुभयो ।