• ७ वैशाख २०८३, सोमबार

पोषण सूचक पहिचान गर्न घरधुरी सर्वेक्षण सुरु

blog

पोषणमैत्री वडा घोषणाको लागि कालिमाटी-४ मा घरधुरी सर्वेक्षण अन्तरक्रिया हुँदै । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, वैशाख ७ गते । कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणलाई केन्द्रमा राख्दै कालिमाटी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन अभियानलाई तीव्रता दिएको छ ।

कर्णाली प्रदेशमै पहिलो पटक वडा नं.५ लाई पोषणमैत्री घोषणा गरिसकेको गाउँपालिकाले अब वडा नं. ४ लाई लक्षित गर्दै विस्तृत घरधुरी सर्वेक्षण सुरु गरेको हो ।

गाउँपालिकाका अनुसार सर्वेक्षण मार्फत वडाको वास्तविक पोषण अवस्था पहिचान गरी आवश्यक सुधारका कार्यक्रम अघि बढाइने छ ।

यसका लागि शिक्षक, बुद्धिजीवीसहित ३५ जना जनशक्ति परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वेक्षणबाट बालबालिका र महिलाको पोषण अवस्था, हजार दिने आमाको हेरचाह, सुत्केरी सेवा, सरसफाइ र पोषणयुक्त आहारको पहुँचजस्ता सूचकको यथार्थ विवरण आउने छ ।

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० अनुसार वडा घोषणा गर्न ३५ वटा सूचक पूरा गर्नुपर्ने र कम्तीमा ९० प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ ।

यही लक्ष्यलाई ध्यानमा राख्दै वडा नं.४ मा घरघरमा करेसाबारी निर्माण, विद्यालयमा पोषणमैत्री बगैँचा स्थापना र बालबालिकालाई पोषणयुक्त खाजाको व्यवस्था गर्ने कार्य तीव्र पारिएको छ ।

तर, पोषणसँगै सामाजिक सूचकहरू पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ । बालविवाह न्यूनीकरण र घरेलु हिंसा शून्य बनाउने लक्ष्यमा अझै सुधार आवश्यक रहेको स्थानीय बताउँछन् ।

खानेपानी र सरसफाइ सुधारका लागि हेल्बटास नेपालसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको जनाएको छ ।

यसले पोषणमैत्री वातावरण निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार सबै वडालाई क्रमशः पोषणमैत्री घोषणा गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।यसका लागि स्वास्थ्य, शिक्षा, कृषि र खानेपानी क्षेत्रबिच समन्वय गर्दै बहुक्षेत्रीय प्रयास अघि बढाइएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले पोषणमैत्री अभियान पूर्वाधार विकासभन्दा पनि जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने दीर्घकालीन पहल भएको बताउनुभयो ।“हामीले विकासलाई सडक र भवनमा मात्र सीमित गरेका छैनौँ, अब स्वास्थ्य, शिक्षा र उत्पादनसँग जोडिएको जीवनस्तर सुधारमा ध्यान दिएका छौँ,” उहाँले भन्नुभयो ।

हाल सुरु गरिएको सर्वेक्षणले वडाको यथार्थ अवस्था उजागर गर्दै घोषणाका लागि बाँकी तयारी छिटो टुङ्ग्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।यो अभियानले स्थानीयस्तरमा पोषणप्रति सचेतना बढाउने, कुपोषण घटाउने र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखेको गाउँपालिकाको भनाइ छ ।