• ७ वैशाख २०८३, सोमबार

गैरकानुनी नीति खारेज र छानबिन माग गर्दै लेखा समितिमा लगानीकर्ता सङ्घको निवेदन

blog

काठमाडौँ, वैशाख ७ गते ।नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्थाहरूलाई गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल सेयरबजार लगानीकर्ता सङ्घले सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ ।

सङ्घले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

सङ्घका अध्यक्ष हरिबहादुर के।सीद्वारा हस्ताक्षरित निवेदनमा करिव ७६ लाख ५५ हजारभन्दा बढी सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणका लागि आवाज उठाइएको उल्लेख छ ।

निवेदनमा नेपालको पुँजी बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) हाल देशकै सबैभन्दा विवादित निकाय बनेको दाबी गर्दै लगानीकर्ताको हित संरक्षण गर्ने ऐनको उद्देश्य व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिएको छ ।

निवेदनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०८३ वैशाख ७ गतेदेखि लागू गर्ने निर्णयहरूलाई विवादित भन्दै खारेज गर्न माग गरिएको छ ।ती निर्णयअनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि दायरा दुई प्रतिशतबाट बढाएर पाँच  प्रतिशत पुर्‍याइएको, एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको तथा नेप्से सूचक छ प्रतिशत घटबढ हुँदा कारोबार बन्द हुने व्यवस्था बढाएर ८ प्रतिशत कायम गरिएको छ ।

 सङ्घले ती निर्णयहरू प्रतिनिधि सभा नियमावली, २०७९, विधायन ऐन, २०८१, सुशासन ऐन, २०६४ लगायतका कानूनी प्रावधानहरूको उल्लङ्घन गर्दै पर्याप्त अध्ययन विना लागू गरिएको आरोप लगाएको छ ।

 साथै सङ्घले यस्तो व्यवस्था सङ्घीय संसद् र सरकारको अधिकार अतिक्रमण गर्दै स्वार्थ समूहलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गरेको छ ।

निवेदनमा सेबोन, नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्र बैङ्क, बीमा प्राधिकरण तथा अन्य नियामक निकायहरूले व्यवस्थापिका र कार्यपालिकाको अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै ती निकायहरूले कानुनअनुसार मात्र काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

संघकाअनुसार नयाँ व्यवस्थाले एकल कम्पनीको शेयर मूल्यमा एकै दिन ३० प्रतिशतसम्म र समग्र सूचकमा १६ प्रतिशतसम्म उतारचढाव हुने जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्छ ।

 यसले धितोपत्र दलाल (ब्रोकर) हरूलाई मात्र फाइदा पुग्ने आशका समेत व्यक्त गरिएको छ ।त्यस्तै, विदेशमा रहेका लगानीकर्ताले २४ सै घण्टा खरिद–विक्री आदेश दिनसक्ने सुविधा सकारात्मक भएपनि आवश्यक कानूनी प्रक्रिया पूरा नगरी लागू गरिए कानूनी रूपमा शुन्य हुने सङ्घको जिकिर छ ।

सङ्घले करिव ५० खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण भएको पूँजी बजारमा नीतिगत अस्थिरता निम्त्याएर जनताको लगानी जोखिममा पारिएको भन्दै सार्वजनिक लेखा समितिले तत्काल हस्तक्षेप गरी प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । 

साथै, पूँजी बजारको विकास, विस्तार, सुधार र आधुनिकीकरणका लागि संघसँग रहेको दुई दशकभन्दा बढीको अनुभव सरकारलाई निःशुल्क उपलब्ध गराउन आफूहरू प्रतिवद्ध रहेको पनि निवेदनमा उल्लेख गरिएको छ ।