राममणि दाहाल
मकवानपुर, वैशाख ७ गते । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाइएका बागमती प्रदेश सरकारका भवनहरूको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन थालिएको छ ।
प्रदेश सरकारका क्षतिग्रस्त भौतिक संरचनाको बृहत मर्मत तथा पुननिर्माण सम्पन्न भवनको उद्घाटनसँगै सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभयो ।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा मर्मत, सम्भार र पुनर्निर्माण सम्पन्न भएसँगै ती भवनहरू मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यालयले ठेक्का आह्वान गरी प्रदेशका पाँच वटा मन्त्रालय रहेको हेटौँडा उपमहानगरपालिका १ स्थित भवनसहित प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुख सचिवको निवास गरी पाँच वटा भवनको मर्मत तथा पुनर्निर्माण गरेको कार्यक्रममा जानकारी गराइएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले जनताप्रति पारदर्शी र जवाफदेही भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले मन्त्रालयलगायतका प्रदेशका कार्यालयमा आगजनी र तोडफोडपछि असहज रूपमा कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेकोमा अब भवन मर्मत र पुनर्निर्माणपछि पूर्ववत् सहज रूपमा कार्यसम्पादन गर्ने बाटो खुलेको बताउनुभयो ।
पुननिर्माण र क्षतिको व्यवस्थापनपछि मन्त्रालयहरू पुरानै अवस्थामा काम गर्ने गरी भवन सार्ने क्रम सुरु भएको छ, उहाँले भन्नुभयो सातै प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा पहिले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण गर्न समक्ष भएको छ ।
उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा भौतिक संरचनामा ठुलो क्षतिसँगै लामो समयदेखि कामचलाउ अवस्थामा रह्यौ अब मर्मत र पुनर्निर्माण सकिएसँगै सरकारलाई कार्य सम्पादनमा सहजता हुने र कार्यसम्पादनमा प्रभावकारिता बढ्ने छ ।”
जेनजी आन्दोलनका क्रममा अकल्पनीय क्षति भएको भन्दै उहाँले प्रदेशको स्थायी संरचना बनाउनेतर्फ प्रदेश सरकार लागेको र यथाशीघ्र काम सुरु हुने बताउनुभयो ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले क्षतिग्रस्त भवनको मर्मत र पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई विशेष प्राथमिकतामा राखेका भन्दै आगजनीका कारण भवनका संरचना कमजोर बनेकाले विज्ञ र स्ट्रक्चरल इन्जिनियरहरूको टोलीबाट अध्ययन गराई मर्मत र पुनर्निर्माण गरिएको बताउनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्ठाले जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशले एक अर्ब रुपियाँभन्दा बढीको क्षति भएको भन्दै विषम अवस्थामा पनि सार्वजनिक खरिद ऐन अनुसार नै बोलपत्र आह्वान गरेर काम गरिएको बताउनुभयो ।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख भूपेन्द्र यादवले सोम क्षतिग्रस्त संरचनाको मर्मत एवं पुनर्निर्माणमा तीन करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिएको जानकारी दिनुभयो ।
पाँच वटा मन्त्रालय रहेको भवन भने मर्मत तथा पुनर्निर्माणका लागि एक करोड २८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम गरिएको थियो ।