काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीन वटा संसदीय उपसमिति पुनर्गठन गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सङ्घीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सङ्घीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन हुनुभएको छ भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजङ्ग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहनुभएको छ ।
सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे रहेको बताउनुभयो । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरूपा शर्मा रहनुभएको छ ।
उहाँले भन्नुभयो, “आजको बैठकबाट हामीले तीन वटा उपसमितिको पुनर्गठन गर्यौँ । सङ्घीयता सबलीकरण उपसमितिको संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारी, सदस्यहरू माननीय उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा, सदस्यहरू नारायणदत्त मिश्र, ललितजङ्ग शाही र दुर्गाकुमारी गुरुङ रहनुभएको छ । र सामाजिक न्याय उपसमितिको संयोजक माननीय रोशनी मेचे, सदस्यहरू धर्मेन्द्र पासवान र मनरूपा शर्मा हुनुहुन्छ । हामीले अहिले तीन वटा संसदीय उपसमिति पुनर्गठन गरेका छौँ । हामीले सङ्घीयता सबलीकरण र राष्ट्रिय सरोकारसँग भएका विभिन्न कार्यक्षेत्रको बारेमा अध्ययन गर्नुपर्ने छ । यी सबै कार्यक्षेत्रमा हाम्रो उपसमितिले काम गर्नुपर्ने छ ।”
सभापति राईले पुनर्गठित संसदीय उपसमितिहरूले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्ने छन् ।