सुक्खा पहिरो जाँदा सवारीसाधनलाई सास्ती
कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ । दैनिक सुक्खा पहिरो झरिरहँदा यो सडकखण्डमा मालवाहक सवारीसाधनलाई गुड्न असजिलो हुने गरेको हो । सुर्खेतबाट सामान ढुवानी गर्दै आउनुभएका ट्रकचालक जानबहादुर मगरले खच्चामा सडक बिग्रिएका कारण आफूहरूले निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले सुक्खा पहिरो खसेको समय सडक बन्द हुने र पानी परे हिलाम्मे सडकमा यातायातका साधन सञ्चालन गर्न कठिन हुने भएका कारण समस्यै समस्या भोग्नु परिरहेको गुनासो गर्नुभयो ।
हिलाम्मे सडक, यात्रुलाई पीर
पश्चिम सुर्खेतका बासिन्दाले बर्सेनि बाटोघाटोको समस्या भोग्दै आइरहेका छन् । जिल्लाको पश्चिमी भेगमा सडकको सहज पहुँच छैन । केही गाउँठाउँमा जोडिएको सडक पनि कच्ची र जीर्ण छन् । बर्खाको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको पीडा यहाँका बासिन्दाले भोग्दै आइरहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो तर जिल्लाभित्रकै ठाउँ बाटाघाटा नपुग्दा निकै दुर्गम भएका छन् ।
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत
कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् ।
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।
स्याकुमा सजिएका रोपार (फोटो फिचर)
यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।
कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्ने प्रतिबद्धता
कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्न सरोकारवालाहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।
हुम्लाका गाउँपालिकाको बजेट दुई अर्ब ३९ करोडभन्दा बढी
हिमाली जिल्ला हुम्लाका छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३९ करोडभन्दा बढी बजेट रहेको छ । सबै गाउँपालिकाले गाउँ सभाबाट असार १० देखि १६ गतेसम्म सो बजेट पारित गरेको हो ।
अस्पताल स्तरोन्नति योजना अन्योलमा
प्रदेश सरकारले पञ्चपुरी नगरपालिका–२ मा रहेको स्वास्थ्य केन्द्रलाई शय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारे पनि बजेटको अभावका कारण उक्त योजना अन्योलमा परेको छ । सो स्थानमा सङ्घीय सरकारको लगानीमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शय्या हुँदै ५० शय्यामा स्तरोन्नति गर्ने योजना अलपत्र परेको हो । आगामी आर्थिक वर्षको बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको हो । आगामी आव २०८१/८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।
छारे सडकखण्ड नियमित सञ्चालनको माग
कर्णाली कोरिडोरको छारे सडकखण्ड दैनिक १२ घण्टा सुचारु गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजमार्ग अवरोध हटाउने निर्णय गरेको हो । सो सडकको निर्माण कार्य पूरा भएका कारण दैनिक १२ घण्टा सडक सञ्चालनमा ल्याउन माग गर्ने निर्णय गरेको हो ।
पहिरोले सडक अवरुद्ध, यात्रुलाई सास्ती
अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले जाजरकोट गाउँबस्तीमा जोडिएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । नलगाड नगरपालिका–५, कालीमाटी, खन्टाकुरा हुँदै बारेकोट गाउँपालिका तथा विभिन्न गाउँबस्ती जाने सडक पहिरोले अवरुद्ध गरेपछि यात्रुलगायत सवारीसाधन अलपत्र परेका छन् ।
डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो, ३४ यात्रु सकुशल
डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो ।
रुकुमपश्चिममा ३९ फरार प्रतिवादी पक्राउ, ७९ रोपनीमा लगाइएको अफिम नष्ट
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ।
घरेलु हिंसाका घटना बढ्दो
घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले सार्वजनिक गरेको मानवअधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा सुर्खेत जिल्लामा पछिल्लो ६ महिनामा ८३ वटा घरेलु हिंसासम्बन्धी घटना भएका छन् ।
बिल भरपाइ बिनै ७३ लाखभन्दा बढी भुक्तानी
जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा ७३ लाखभन्दा बढी रुपियाँ आवश्यक कागजात बिनै भुक्तानी दिएको पाइएको छ ।
शिक्षा सुधार कार्ययोजना
शिक्षा क्षेत्रको सुधारका लागि कार्ययोजना निर्माण गरेर लागु गरिने भएको छ । २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिणाम निराशाजनक आएपछि शिक्षा क्षेत्रमा काम गर्ने निकायबिच आयोजित अन्तर्क्रियामा कार्ययोजना निर्माण गरेर लागु गरिने जनाइएको हो । यस जिल्लाबाट यस पटक ४६.१९ प्रतिशत परीक्षार्थी मात्र एसइईमा उत्तीर्ण हुनुमा विद्यार्थीसँगै विद्यालय, अभिभावक, शिक्षा क्षेत्रमा काम गर्ने निकायको कमजोरी रहेको औँल्याइएको छ ।
दाउरा बेचेर पढाइ खर्चको जोहो
सदरमुकाम सिमकोट गाउँपालिका–७, कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक दाउरा बेचेर पढाइ र घरखर्चको व्यवस्था गर्नुपर्ने बाध्यता छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीले दैनिक जङ्गलबाट दाउरा ल्याएर सदरमुकाम सिमकोटमा बिक्री गरी पढाइ र घरखर्च बेहोर्ने गरेका छन् । कक्षा ८ मा अध्ययनरत छात्र पुस्कल विक आर्थिक अवस्थाका कारण दैनिक दाउरा बेचेर खर्च जुटाउने गरेको बताउनुहुन्छ । जङ्गलबाट दाउरा ल्याई बजारमा बिक्री गरी त्यसबाट आएको पैसाले आफ्नो पढाइ र घरखर्च जुटाउनु परेको उहाँ बताउनुहुन्छ ।
युवालाई फर्निचर निर्माण तालिम
बेरोजगार युवालाई फर्निचर निर्माण गर्ने तालिम प्रदान गरिएको छ । सिप सिकाएर युवालाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो । तालिमका सहभागी हिक्मत बोहराले फर्निचर निर्माणसम्बन्धी सिप विकास तालिम प्राप्त गरेको बताउनुभयो । दक्ष सहजकर्तामार्फत तालिम लिएका कारण उहाँले आफू छ प्रकारका सामग्री निर्माण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले आफूले तालिम लिएकै फार्निचर उद्योगमा कामसमेत पाएको बताउनुभयो । अर्का सहभागी सोन बोहराले तालिम निकै उपयोगी र रोजगारी पाउन सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । सदरमुकाम सिमकोटमा मात्र चार वटा फर्निचर उद्योग रहेका छन् ।
गर्चा गाउँ
सुर्खेत र दैलेखको सिमाना दैलेखको गुराँस गाउँपालिका ८ मा रहेको सुन्दर हरियाली गर्चा गाउँ । यो तरकारीको 'पकेट' क्षेत्रको रूपमा लिइन्छ ।
वर्षायाममा आफ्नो सौन्दर्य बढाउँदै रारा ताल (फोटो फिचर)
कर्णाली प्रदेशको मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ देशकै सबैभन्दा ठुलो रारा ताल । वर्षायाम लागेसँगै राराको सौन्दर्य बढ्दै गएको छ । रारा ताल वरिपरि हरियाली बढ्दै गएको छ भने पहेँला र सेता फूल फुलेर ताललाई थप मनमोहक बनाएको छ ।
तीन दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग
पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । गत शनिबार बेलुका मुसीकोट नगरपालिका–८ किटेनीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि सोमबार दिउँसोबाट यातायातका साधनहरू चलेका छन्।
पहिरोले पुरिँदा बालकको मृत्यु
भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।
शिक्षक सरुवाको असर एसइईमा
रास्कोट नगरपालिकाले गरेको मनपरी शिक्षक सरुवाको असर एसइई परीक्षमा परेको छ । नगरप्रमुख धर्मराज शाहीले मनोमानी ढङ्गले शिक्षकको काज सरुवा गर्दा २०८० सालको एसइई परीक्षाको नतिजा कमजोर भएको आरोप स्थानीय नगरवासीको छ । आफ्नो पार्टीलाई समर्थन गर्ने शिक्षकलाई विद्यालय प्रशासनको जिम्मेवारी दिने गरिएको, नियमविपरीत शिक्षक सरुवालगायत विभिन्न कारणले एसइई नतिजामा प्रत्यक्ष असर परेको बताइन्छ ।ल सो नगरपालिकाका चार वटा माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयको नतिजा कमजोर देखिएको छ । नगरप्रमुख शाहीकै गाउँमा रहेको कालासिल्ला माध्यमिक विद्यालयबाट ३५ जना विद्यार्थीले परीक्षा दिएकामा तीन जना मात्रै पास भएका छन् ।
सिकाइ उपलब्धि कमजोर
कर्णाली प्रदेशमा कक्षा ५, ८ र १० मा सिकाइ उपलब्धि कमजोर रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र भक्तपुरले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा विद्यार्थीका लागि कक्षागत तथा पारिवारिक सिकाइ उपलब्धि कमजोर रहेको देखाइएको हो । कक्षा १० को गणित, विज्ञान, नेपाली र अङ्ग्रेजी विषयमा ४० प्रतिशतभन्दा कम सिकाइ उपलब्धि भएको छ । गणितमा ३१, विज्ञानमा १८, नेपालीमा ३९ र अङ्ग्रेजीमा ३० प्रतिशत सिकाइ उपलब्धि हासिल भएको केन्द्रका अध्ययनकर्ता धनबहादुर ओलीले बताउनुभयो । सबै विषयमा ४० प्रतिशतभन्दा कम विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका पाइएको जानकारी उहाँले दिनुभयो । सिकाइ उपलब्धि हासिल भए पनि सामुदायिकभन्दा संस्थागत विद्यालयमा बढी प्रगति देखिएको छ ।
सिँचाइ नहुँदा रोपाइँमा ढिलाइ
कर्णालीका अधिकांश जिल्लामा यस पटक फाट्टफुट्ट मात्रै रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि यसपालि न्यून क्षेत्रमा धान रोपिएको छ । पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रामप्रसाद ढकालले बताउनुभयो । केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पर्याप्त हुन नसकेको ढकालको भनाइ छ । गत वर्ष यो समयमा आधा रोपाइँ गरिसकेको भए पनि यो वर्ष रोपाइँ सुरु हुन सकेको छैन । समयमै मल नपाउने समस्या भोग्दै आएका किसानले यस पटक धान पनि प्रतिकूल मौसमका कारण समयमै रोप्न पाएनन् । वीरेन्द्रनगर–३ का कृषक सबिन थापाले विगतका वर्षमा यतिबेला रोपाइँ सके पनि यो वर्ष सुरु नभएको बताउनुभयो ।