• १ चैत २०८१, शुक्रबार

हुम्लाको नारा लेकमा फसेका सात जना उद्धार

blog

हुम्लाका नारा क्षेत्र । फाइल तस्बिर

राजन रावत
हुम्ला, चैत १ गते ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेको छ । सदरमुकाम सिमकोटबाट चीनको ताक्लाकोट जाने क्रममा नारा लेकमा जमेको हिउँमा फसेको बेला सुरक्षाकर्मीले जानकारी पाए लगत्तै उद्धार गरेको हो ।

प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले नारा लेकको हिउँमा फसेका सात जना हुम्लावासीलाई हिल्सामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेको बताउनुभयो । उहाँका अनुसार यसरी सुरक्षाकर्मीहरूले उद्धार गरिएका व्यक्तिहरूमा सिमकोट गाउँपालिका–४ को बुराउसे गाउँका  ६६ वर्षीय चन्द्र लामा, ३६ वर्षीया बबिता लामा, २६ वर्षीया अस्मीता लामा, ४० वर्षीय क्याम्मा लामा, २३ वर्षीय ईसा तामाङ, सिमकोट गाउँपालिका–३ का  ३८ वर्षीया छिरिङ पाल्जुम लामा र सिमकोट गाउँपालिका–७ का २७ वर्षीय रामबहादुर शाही रहनु भएको छ ।

हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उहाँहरूको उद्धार गरेको हो । हिल्सा १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट उद्धार गरेर हिल्सा पुर्‍याइएको थियो । उद्धार गरिएका सातै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।